भट्टराई गुरुको कटहर फल्दा नै आकर्षणको केन्द्र भएर फल्दियो। त्यो कटहर चोरी हुनुमा उसको स्त्रीरत्न आवरणले ठूलो भूमिका खेलेको छ। किनभने हामी आक्कल झुक्कल आँप चोर र अम्बक चोर भए पनि नियमित कटहर चोर थिएनौं। तर, कटहर जुन भौतिक डिजाइनमा फल्यो त्यसले हाम्रो कुरकुरे उमेरले हेर्न चाहेको/ परिकल्पना गरेको दृश्य कटहरको रूपमा भट्टराई गुरुको बगैंचामा तुर्लुङ्ग झुन्डियो। अनि एक कान/दुई कान हुँदै मेरा दौंतरीमाझ भट्टराई गुरुको स्त्री कटहर फेमस भयो। अनि कुखुरे केटाहरूलाई के चाहियो! बिहान गयो त्यही कटहर हेरेर हास्यो। दिउँसो गयो त्यही हेर्यो र हास्यो। कहिले माटाका डल्लाले हानो। कहिले छेस्कोले कोट्यायो। आजकल टिनेजर भन्छन् क्यारे ऊ बेला कुखुरे वैंश लागेको भन्थे। हामीलाई त्यही कुखुरे लागेको थियो।
कटहर बढ्दै जाँदा अरु मूर्त भएर आयो। त्यो अरु सघन रुपले स्त्रीजस्तो देखियो। माथिल्लो भूगोल उठेको, कम्मरजस्तो बनेर बीचमा केही सुकेको अनि तल त हुबहु स्त्रीजन्य शरीर धारण गरेजस्तो! त्यति भएपछि हामीलाई छिल्लिनलाई पर्याप्त थियो। कहीँ कतै केही छुटेको भए हामीले त्यसलाई आफ्नो गफ र परिकल्पनाले पूर्ति गरिदिएका थियौं।
साउनको महिना झमझम झरी परेको थियो। त्यो साँझ हामीले कटहर चोर्ने योजना बनायौं। अर्थात् हाम्री सामूहिक दुलही भित्र्याएरै छोड्ने निर्णय गर्यौं।
तराईमा जेठमै मकै भाँचिन्छ र ग्वालीको मचानमा थुपारिन्छ। मैझारो सकिएपछि मकै नंग्याउने काम सुरू हुन्छ। मैजारो हुन अझै केही हलको मेलो थियो। समय र परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै राम्रोसँग ‘रेकी’ गरिसकेपछि हामीले कटहर चोरेर हाम्रै मकैको कुन्यूमा लुकाउने योजना बनायौं। अनि योजना अनुसार तीन भाइ मिलेर त्यो साँझ सफलतापूर्वक आफ्नी सामूहिक दुलही ल्याएर मचानमा लुकायौं।
भोलिपल्टै गाउँमा खैलाबैला भइहाल्यो। भट्टराई गुरुको कटहर चोरिएको सूचना ओसिलो साउनमा पनि आगोजस्तो फैलियो। नजानिदो पाराले आफ्नो नाम झोस/पोल भयो कि भएन भनेर प्रतिक्रिया बुझ्न पर्यो भनेर जाँदा त गुरु कटहरको रुख मुन्तिर बसेर चोर सराप्दै रहेछन्। सधैं गिताका कुरा गरेर संसारमा तेरो/ मेरो केही छैन भन्ने गुरु आज फायर थिए। रिसको झ्वाँकमा पूजा गर्न बिर्सेछन् क्यारे, सधैंको चन्दनमय ललाट रित्तै थियो। रित्तो मात्रै होइन, नशा फुलेर र चिटचिट पसिना निकालेर बुढाले रौद्र रुप धारण गरिसकेका थिए।
लौ बित्यो अब। केही गरी बुढाले थाहा पाए भने यो गाउँमा नबसे भयो भन्ने कुरो मनमा झ्वास्स शीत पर्यो। तर, जाने कहाँ? गोतामे माइलोसँगै भागेर पंजाब जान्छु भनेर अगाडिको रणनीति तय गर्दै म घटनाको विकास क्रम कसरी होला भनेर बुझ्न घटनास्थलमै बसिरहें।
‘तेस्किमा झ्याक्ने हो! अर्काका तुलफुलमा हात हाल्ने! अर्काको बगैंचाभित्र पस्ने? सियो चोर्नेले चैइन्जो फाली चोर्छ। फाली चोर्नेले चैइन्जो घर फोर्छ। आज मेरो चोर्छ, चईन्जो भोलि तेरो चोर्छ। आज कटहर उडायो, भोलि अर्काकी स्वास्नी उडाउँछ। कुन चाहिँ बुढी बाख्रोको छोरोले हो मेरो कटहर चोरेको, पञ्च भलाद राखेर निसाफ हुनुपर्छ।’
रिसको झ्वाँकमा बाहुनले वेद पढ्दैन भन्थे हो रै’छ। बनारसबाट आचार्य भएर आएका भट्टराई बुढा गीताका शास्त्रीय वचन भुलेर जति उफ्रिन्छन् उति मेरो मुटुको चाल बढेर जान्छ। नौनारी गल्छन्। सातो फुत्केलाजस्तो हुन्छ। बेला न कुबेला सुसुले च्यापेर ल्याउँछ। तर, फेरि झोस/पोल भएको छैन भनेर आफैंलाई सान्त्वना दिएपछि भने केही सम्हालिएजस्तो पनि हुन्छु। घटनाको विकास क्रम हेर्दा आफू अझैसम्म सुरक्षित रहेको मेरो निष्कर्षले मलाई केही राहत अवश्य दिन्थ्यो। तर, कटहर प्रकरण यसै सेलाउनेवाला थिएन। आफ्नो अनिश्चित भविष्य सुनिश्चित गर्न र यो काण्डबाट सुरक्षित बाहिर निस्कन मैले अन्तिममा पाथीभराकी देवी भाकें।
परमेश्वर पाथीभरा माता! मलाई कटहर काण्डबाट जोगाइदेऊ। म तिमीलाई ठूलो भएपछि कालो बोको चढाउँछु!
साउनको चटारोबीच बुढाको प्रवचन कसले सुनिरहने? विस्तारै भेला भएका रमिते मेलामा फर्किन थाले। म पनि घटनाको जायजा लिएर थोरै सकारात्मक र धेरै दुविधाग्रस्त भएर लोसोलोसो चालमा हिँड्नै लागेको थिएँ। बुढाले भ्याट्ट बोलाए।
‘ए सन्ते!’
मेरो अघि जान नसकेको भाले सातो गयो।
‘हजुर, हजुरबुबा!’
‘तैंले मेसो पाको छस्, कटहर कसले छिनायो भनेर?’
‘छैन हजुरबुबा।’
‘छैन भन्छस्? तेरो बासै मेरा बगैंचा भएको मलाई थाहा छैन भन्ठान्छस् गठ्ठे!’
‘मैले त ढुकुरको बच्चा मात्रै निकाल्या हो हजुरबुबा!’
‘अधर्मी कहीँका! भुँडी भरुन्जेल भात खान पा’थिनस् र ती बचेरा झिकिस्? तेरो सात जन्म नर्कवास हुन्छ पापी! आइन्दा मेरा बारीको सिन्को मात्रै चलाएको थाहा पाएँ भने तेरा सुकेका नलीखुट्टा ठनक्कै पार्दिन्छु।’
बुढा मलाई सात जन्म नर्कमा हालेर हिँडे। कसैलाई न कसैलाई बुढाले रिस पोख्नु थियो। मलाई पोखे। हुन त गलत ठाउँमा पोखेनन्। तर, बिना जानकारी पोखे। मलाई यो कटहर काण्ड पार लागिदिए बुढाले सात जन्मको नर्कमा दिएको काराबास पनि मान्य थियो। हे पाथीभरा माता! म नाबालकको रक्षा गर।
***
मैजारोको चटारोबीच कटहर काण्ड केही मत्थर हुँदै गयो। तर, दिनमा एकपटक गुरु बगैंचा पुगेर चोर सराप्न र पञ्च/ भलादमी राखेर निसाफ गर्ने कुरो गर्न छोड्दै थिए। जसले गर्दा आफ्नो मनको हुटहुटी फिटिक्कै कम्ती हुन पाएको थिएन। पञ्च भलादमीले मचानमा छापा मरेर कटहर बरामद गरे भने! मलाई चौतारीमा लगेर महाअभियोग लगाए भने! खालि मनमा यस्तैयस्तै अनिष्ट झझल्को आइरहन्थ्यो। अनि त्यो अनिष्टको आशाले उम्लिएको बेचैनीको सन्तापबीच दिन तनावमय भएर कटाउनु परेको थियो। यता मेरा दुई सहकर्मीरूलाई मलाई हेरी तैबिसिक आराम छ। उनीहरूको मचानमा सिङ्गै कटहर लुकेर बसेको छैन।
केटा हो! राति सुटुक्क कटहर कडिया खोलामा फ्याकुँ न भनेर सल्लाह गर्छु हुँदैन मान्छेले देख्छन् भन्छन्। खाडल खनेर गाडौं भन्छु भेउ पाउँछन् भन्छन्। त्यसो भए त्यो कटहरलाई के गरौं त? सिगैं कटहर निलौं? जादुको छडी खोजेर ल्याएर अलप पारौं? त्यो बेला जनयुद्ध नामको उपद्रोमा जिउँदो मान्छे आँखा झिमिक गर्दा बेपत्ता हुन्थ्यो। साला यो घाँडो कटहर किन त्यसरी नै बेपत्ता हुँदैन!
मनको बेचैनी र सन्तापले म निकै दुब्लाएँ। औंला भाँचेर गनेर ल्याउँदा आज तीन दिन भएछ। भोलि मैजारोको दिन। खसी काट्ने पनि दिन। तर, मेरा निम्ति संसार अँध्यारो छ। ज्यानमा उमंग छैन। जिब्रोमा संवाद छैन। त्यसैले सधैंझैं न मजाले हिलो खेल्न सकेँ न मासु नै मीठो भयो। मन र मस्तिष्कभरि अजंगको कटहर बसेर एेठन भएको छ। यत्रोको हुन्छ मासुमा स्वाद! यत्रो हुन्छ मैजारोमा रमाइलो!
समयलाई कस्ता–कस्ताले रोक्न सकेका छैनन् जाबो कटहरले के रोक्न सक्थ्यो र! हेर्दाहेर्दै अन्तिम गाँज रोपेर मैजारो भयो। खसी पनि चाटचुट सकियो। अब फुर्सदिला दिनहरूमा स–परिवार मचानमा लाल चिया पिउँदै मकै नङ्याउने दिन आए।
आए होलान् चैनका दिन अरुहरूलाई तर आफ्नो मनमा डडेलो सल्केर औडाह भएको छ। घरीघरी यसो लुकाएकी दुलही हेर्न जान्छु। अहिलेका मितिसम्म ठिकै छ। सिचुएसन अन्डर कन्ट्रोल भनेजस्तो! तर, भोलि? भोलि अनिश्चित छ। भयावह छ। नभन्दै भोलि कोही नउठी यसो दुलही छामेको, मगमग बास्ना छोडेर पाक्न थाली छ मोरी। लु अर्को आपत! यो बास्ना फैलिएर हजुरबाउका नाकमा परो भने! अझ भट्टराई गुरुको नाकमा परो भने! गाउँका पञ्च भलादमीका नाकमा परो भने! मेरो पालो हत्तपत्त त्यसमाथि दुई डोको खोसेलासहितको मकै हालेर छोपें। तर, कति दिन छोप्न सकिन्छ यो टाइम बम? कुनै पनि बेला बिस्फोट हुनसक्छ यो कटहर!
आपतकालीन अवस्थालाई कसरी मिलेर व्यवस्थापन गर्न सकिन्छ भनेर केटाहरूसँग इमरजेन्सी मिटिङ गर्नु पर्यो भनेर गएको त केटाहरू साँझ नै गोतामे माइलोसँग पंजाब भागेछन्। अब म फसें। म एक्लै फसें र नमज्जाले फसें भन्ने लाग्यो। भन्न रिंगटा चल्यो र आँखा अगाडि कालो भयो। ढलुँलाजस्तो भएर आयो। बल्लतल्ल आफूलाई सम्हालेर फेरि मचानमै फर्काएर ल्याएँ। फर्किन त फर्किएँ तर मैले गर्न सक्ने केही छैन। उसको जवानी मगमगाएर मचान सुवासमय भएको छ। हे राम! यो कस्तो आपत नि प्रभु!
भोलिपल्ट लालचिया खाइसकेपछि हजुरबुबा बुढाले उर्दी जारी गरे।
‘कान्छी भात पकाउनु। अरु मचानमा मकै नङ्याउन हिँड।’
सपरिवार उर्दी शिरोपर गरेर मचान उक्लिएँ। अरु हास्दै र रमाउँदै उक्लिए। म अनिष्टको भयले थरथर काम्दै उक्लिएँ। मचानमा उक्लिएर बस्दा नबस्दै सबैका नाक–नाकमा भट्टराई गुरुकी कटहर मगमगसँग सुवासित भइहाल्यो।
‘हैन कटहर पाकेछ कि क्या हो? हरर बास्ना आयो त!’
सबभन्दा पहिला अनुभवी र बूढो नाकले भेउ पाइहाल्यो।
‘पाक्यो हजुर बा,’ मैले बुढाका नाकमा धुलो खुर्सानी हाल्ने खोजेँ।
‘मचानका छेउको रुखको कटर चराले खाएतिर पाकेको छ।’
मचान छेउमै हाम्रो पनि कटहरको रुख थियो। संजोगवश दुई वटा कटहरमा एउटा चराले खाएर पाक्न लागेको थियो। बुढाको ध्यान त्यतै मोड्न खोज्दै मैले आजलाई आफूमाथिको संकट टार्न खोजेँ।
‘गुलेलीले दिएर पुक्लुक्क पार्न सकिनस्! तेरा उमेरमा त म ...!’
बुढा आफ्नो जवानीको राग अलाप्न थाले। समय र सुन्दिने मान्छे हुनुपर्छ ठाउँ/कुठाउँ केही नभनी बुढा फ्ल्यास ब्याकमा गइहाल्छन्। कसैले तह लाउन नसकेको घोडा तह लाएको। सिक्किममा ठेकेदार कुटेर भागेको। वन मान्छेबाट उम्केर भागेको। मन्त्रेर भूतलाई तह लगाएको। तराई झरेर बाघ मारेको। बिहानभरि बुडाउले पहिलै ३६५ पटक सुनिसकेको फ्यान्टासी गफ सुनाएर बल्ल–बल्ल एघार बज्न लाग्दा छुट्टी दिए। धन्न आफ्नो गफको आफैं स्वाद लिँदै सुनेकाले बुढाले नाक अगाडिको कटहरको भेउ पाएनन्। जसोतसो आजको संकट क्षणिक काललाई मोचन त भयो। तर, अब भोलि? सधैं यो भोलि प्रश्न बनेर रुखमा कटहर झुन्डिएको जस्तो दिमागमा झुन्डिइरहन्छ।
साला! नेपाल टेलिभिजनबाट प्रसारण हुने हिन्दी धारावाहिक महाभारतजस्तो भयो कटहर कहानी! कहिले सकिने हैन। सधैं क्रमशः मा गएर टुंगिन्छ। अब भोलि के होला भन्ने पिर सधैं रहन्छ।
जे नहुनु थियो त्यो भोलिपल्ट भयो। अर्थात् टाइम बम बिस्फोट भयो। भयो के भनेर भन्देखिनलाई, आफू रातभर तनावले सुत्न सकेको थिइनँ। बिहानखेर भुसुक्क निदाएको रहेंछु। हजुरबाउ बुढा बिहानै मकै नङ्ग्याउन मचान चढेका रहेछन्। बुढा चढ्दा भट्टराई गुरुकी कटहर मग्मगाएर मचानै वास्नामय भएको रहेछ। वास्नाले डोर्याउँदै लगेपछि बुढाले कटहर फेला पारेछन्। अलि अघिमात्रै पुजेका गुरुको कटहर चोरिएको थियो। काण्ड ताजै थियो। त्यो कटहर आज आफ्नै मचानमा फेला फर्दा बुढाले फायर खोलिहाले।
‘ए सन्ते! तँ ह्याँ तल मुन्टिछस् कि म माथि आउँ?’
यो वाणी चट्याङ परेजस्तो गरी मेरा कानमा बज्रियो। हत्तपत्त उठेँ। उठेर पंजाब भाग्ने, महाभियोग सामना गर्ने अथवा कुनै उपायले आफूलाई निर्दोष साबित गर्ने विकल्प तीन वटा मात्रै थिए। मैले तेस्रो विकल्प रोजेँ।
‘थुक्क हरामी! पापका मूर्ति! गोडा ढोक्नु पर्ने/दस दान दिनुपर्ने गुरुका बगैंचाबाट तुलफुल चोरी गरिस्?’
‘मैले होइन हजुरबुवा!’
‘तैंले नभएर कुन तेरा बाउले हो त?’
‘तेर्थे र तिलकेले हो।’
मैले सम्पूर्ण दोष भागेका दुई भाइका थाप्लामा हाल्दिएँ। आफू टक्टकिएँ। आखिर केटाहरू पंजाब पुगिसके। मलाई एक्लै फसाएर भागेका तोरी लाउरेहरूलाई आफू पन्सेर जाकें। अरु उपाय पनि त थिएन। हजुरबुवा बुढा, हो कि क्या हो! भन्ने मुद्रामा देखिए।
साला आफ्ना सन्तान गलत हुनै सक्दैन भन्ने मान्यता अभिभावकमा जो हुन्छ। ल है सन्ते! तेरो रणनीतिले काम गर्लाजस्तो छ। हजुरबुवा बुढाले त पत्याए। आफ्नो चलाखी र बुद्धि देखेर म एकछिन आफैं दंगदास भएँ। बुढा हजुरबुबाले पत्याए क्यारे! फेरि यसो बुढाको अनुहार हेरेँ। हो निकै मत्थरजस्ता छन्।
‘जा गएर भट्टराई हजुरबुबालाई बोलाएर आइज।’
यो हजुरबुवाले पत्याउनुको सबैभन्दा ठूलो प्रमाण थियो। अब किन नजाउँ? नजानुको कारण नै छैन। हजुरबुबाजस्तै भट्टराई गुरुका आँखामा छारो हाल्न पाए भने त काण्ड रफादफा हुन्छ। एक प्रकारले कटहर काण्ड आफूले चाहे जसरी किनारा लाग्ने संकेतले म ढुक्क भएँ। अर्को ढुक्क मलाई केटाहरूको थाप्लोमा कटहर बजार्न पाउने सुविधाले दियो। जसै मलाई आफ्ना रणनीतिमा विश्वास पलाउँदै गयो, उसै आत्मविश्वास पलाएर सबै डर हरायो। म कुद्दै भट्टराई गुरुका घर पुगें।
‘हजुरबुबा कटहर भेटियो।’
मैले एकसासमा बुढालाई सूचना दिएँ।
‘हँ, कटहर भेटियो! कहाँ भेटियो?’
‘तल्ला घरका दाजुभाइले कटहर हाम्रो मचानमा लुकाएछन् र हल्ला भएपछि पंजाब भागेछन्। हजुरबुबाले भेट्टाउनु भयो। एकछिन हाम्रामा आउनु रे।’
‘ल म आएँ। तँ जा।’
मैले प्रथम पुरुषमा हजुरबुबा नियुक्त गरेँ। उहाँ हराएको कटहर भेट्टाउने महानायक! आफू चाहिँ सम्पूर्ण कटहर काण्डको नाइके हुँदाहुँदै पनि चार कदम पछाडि सरेँ। मानौं त्यो कटहरसँग मेरो सिन्को बराबर सम्बन्ध छैन। सबैलाई आफ्ना छोराछोरी/नातिनातिना असलै लाग्छन्। एउटै सफाइमा मेरा हजुरबुबाले मलाई पत्याए। अनि खलनायक बनाएर मैले खडा गरेँ पंजाब भागेका दुई निमित्त नायकहरूलाई। केटाहरु मैदान छोडेर भागिसकेका थिए। आफ्नो पक्षमा बहस पैरवी गर्न सक्ने सुबिधा उनीहरूलाई थिएन। यति मेलोमेसो मिलाइसकेर म पानीमाथिको ओभानो भएर ट्याक्कसँग बसेँ। अब मेरो अन्तिम उदेश्य जसरी हुन्छ कटहर काण्डमा केटाहरूलाई फसाएर आफूलाई सकुशल उद्दार गर्नु थियो।
एकछिनमा बुढा आइपुगे।
‘हँ उप्रेती दाजु! चाइन्जो केटाहरू आजकल किन देख्दिनँ भन्या त उपद्रो गरेर भागेछन् र पो।’
‘कलियुग गुरु बा घोर कलियुग! मान्नु पर्ने, पुज्नु पर्ने उल्टै आफूले दिनुपर्ने ब्राह्मणका बारी फोर्ने हरामहरू यो गाउँमा नफर्किएकै बेश।’
भट्टराई गुरु मैले अपेक्षा गरेजस्तो आफ्नो स्वभावजन्य आचरण देखाएर आज उफ्रेनन्। न निसाफका कुरा गरे। न पञ्च भलादमी राख्ने कुरा गरे। हराएको सुनको औंठी भेट्टाएजस्तो बुढाले सबै बिगत भुले। प्राप्तिमा ठूलो/ठूलो गल्ती मान्छेले क्षमा गर्ने रहेछ। बुढाले कटहर देखेपछि सबैका दसखत माफ गरिहाले।
तीन जना मिलेर कष्टका साथ मचानमा लुकाएको कटहर मलाई हजुरबाले डोकामा हाल्देर नाम्लो लगाइदिए। भट्टराई गुरु अघिअघि म पछिपछि भएर गुरुको नासो गुरुकै घरमा छोडेर आएँ। भोलिपल्ट गुरुका घरमा कटहर फोरेछन्। एक आहरी कटहर हाम्रा पनि ल्याइदिए। अन्तअन्त पनि दिए। तर, तल्लो घरलाई दिएनन्। यसबाट मेरो रणनीतिले सम्पूर्ण रुपमा काम गरेको प्रमाणित भयो।
जिन्दगीमा महाभियोग लाग्नु ठूलो कुरो होइन रहेछ। त्यसलाई कसरी सामना गरिन्छ भन्ने कुरो ठूलो रहेछ। आजकल नेपाली राजनीतिमा महाभियोगको चर्चा खुब चलेको छ। हेर्दैजाउँ यो महाभियोग कटहर काण्डमा लागेको महाभियोगभन्दा कुन मानेमा भिन्न हुन्छ।