जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा गाँजरीमा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविर मङ्गलबार सम्पन्न भएको छ ।
शिविरमा जिल्लामा रहेका विभिन्न सरकारी निकायले स्थानीय नागरिकलाई सेवा प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, सुक्खा फलफूल विकास केन्द्रले सेवा प्रदान गरेका छन् ।
यस्तै, जिल्ला आयुर्वेद अस्पताल, जिल्ला हुलाक कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले पनि शिविरमा सेवा दिएका छन् । आफ्नै गाउँठाउँमा सरकारी सेवा प्राप्त भएपछि स्थानीय बासिन्दा पनि हर्षित भएका छन् । यसअघि यही कात्तिक २६ र २७ गते थालाकाँडाको मौरेबगरमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको थियो । दुवै ठाउँमा सम्पन्न भएका शिविरबाट ७३३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् भने ५४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका छन् ।
यसैगरी, शिविरमा ५४ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् भने १० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय गर्भवती महिलाको अल्ट्रासाउन्ड, एचआइभीको परीक्षण, खकार जाँचलगायतका सेवा ३२८ जनालाई प्रदान गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय र सुक्खा फलफूल विकास केन्द्रले ९४४ जनालाई तरकारीको बीउबिजन वितरण गरेको छ । जिल्ला पशुसेवा कार्यालयले ३७८ जना पशुपालक किसानका तीन हजारभन्दा बढी पशुका लागि औषधि वितरण गरेको छ भने जिल्ला आयुर्वेद अस्पतालले ९७४ जनालाई सेवा प्रदान गरेको छ ।
यसैगरी, नेपाली सेनाको शत्रुमर्दन गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३०५ जनाले सेवा लिएका छन् भने नेपाल प्रहरीले विभिन्न विद्यालयमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमअन्तर्गत सचेतना फैलाएको छ । रासस