माओवादीका बहिर्गमित लडाकूले नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालयमा धर्ना दिएका छन्। बहिर्गमित लडाकूले मंगलबार मुखमा कालो पट्टी लगाएर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरबाहिर धर्ना बसेका हुन्।
सुरक्षाकर्मीले पार्टी कार्यालय परिसर प्रवेशमा रोक लगाएपछि बहिर्गमित लडाकु परिसर बाहिर धर्ना बसेका हुन्। लेलिन विष्टले नेतृत्व गरेको बहिर्गमित जनमुक्ति सेना नेपालले सेना समायोजनका क्रममा अयोग्य भनेर समायोजन हुनबाट रोकिएपछि अलपत्र परेको भन्दै धर्ना दिएको हो। विष्टले पार्टी नेतृत्व र सरकारको ध्यानाकर्षणका लागि अन्तिम समयसम्म शान्तिपूण रुपमा दबाबका कार्यक्रम जारी राख्ने बताए।
सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तिबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिनुपर्ने, अभिव्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने, नियन्त्रणमा रहेका बहिर्गमित लडाकू रिहा तथा अमिक शेरचन आयोग र पोष्ट बहादुर आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग उनीहरुले गरेका छन्।
१० वर्षे सशस्त्र युद्धका क्रममा आफूहरुले पार्टीलाई पूर्णकालीन कार्यकर्ताको रुपमा काम गरेपनि सेना समायोजनमा नपरेपछि सरकार र पार्टीले वेवास्ता गरेको गुनासो उनीहरुले गर्दै आएका छन्। सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणिकरणका क्रममा उमेर नपुगेको भन्दै चार हजार नौ जना माओवादी लडाकूलाई अयोग्य ठहर गरिएको थियो।