जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुरु भएको छ। वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
यात्रुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँ गरी सातवटा सडकमा नियमित यातायात सेवा सुरु गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए।
“निर्माण कार्य सम्पन्न भएका सबै सडकमा गाडी सञ्चालन गरिएको छ।” उनले भने, “निर्माणाधीन अवस्थामा रहेका अन्य सडकमा पनि सम्भव भएसम्म सञ्चालन गर्ने तयारीमा छौँ।”
सचिव हिङ्माङका अनुसार दिक्तेल–जयरामघाट, दिक्तेल–चखेवा, दिक्तेल–रसुवाघाट, दिक्तेल–पाथेका, दिक्तेल–रावाखोला, दिक्तेल–साप्सु र हलेसी–दुवेकोलको लागि गाडीसमेत छुट्याइएको छ। नियमित गाडी सञ्चालन गरिएसँगै भाडादर र बस छुट्ने समयतालिका समेत सार्वजनिक गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ।
गत वर्ष सञ्चालनमा रहेको दिक्तेल–जालपा सडक भने स्तरोन्नतिको काम भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको सचिव हिङ्माङले जानकारी दिए। हुर्लुङ–ऐँसेलुखर्क सडकखण्डमा पर्ने उक्त सडक समेत केही दिनमा नै सञ्चालनमा आउने जनाइएको छ।
कच्ची अवस्थामा रहेको जिल्लाका सबै सडकमा हिउँदको समयमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको छ। करिब छ महिना मात्र सञ्चालन हुने सडकमा यातायात सेवा सुरु भएपछि गाउँगाउँका यात्रु हर्षित भएका छन्।
जिल्लामा निर्माण गरिएका सबै सडक सञ्चालनमा आएपनि तराई तथा राजधानीसँगको सिधा यातायात भने जोडिएको छैन। मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटस्थित दूधकोसी र दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसीमा बेलिब्रिज नबनेसम्म जिल्लाभित्र मात्र यातायात सञ्चालन हुनेछ। रासस