मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन्।
व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाए।
सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उनले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए।
उनले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गरे। सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् । रासस