बैतडीको थालाकाँडा गाविसको मौरी बगरमा शुक्रबारदेखि सञ्चालनमा रहेको एकीकृत घुम्ती शिविरबाट पहिलो दिन ६०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
शिविरको पहिलो दिन जिल्ला प्रशासन कार्यालयले १०० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने जिल्ला निर्वाचन कार्यालयले एकसय जनाको फोटोसहितको मतदाता नामावलीमा दर्ता गरेको छ।
यस्तै जिल्ला कृषि विकास कार्यालयले दुईसय १७ जना किसानलाई हिउँदे तरकारीको बीउ वितरण गरेको छ। यस्तै जिल्ला स्वास्थ्य कार्यालयले परिवार नियोजनको सेवा २६ जनालाई प्रदान गरेको छ भने २० जना गर्भवती महिलाको अल्ट्रासाउन्ड पनि गरिएको छ।
यसैगरी महिला तथा बालबालिका कार्यालयले चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ भने जिल्ला आर्युर्वेद अस्पतालले एकसय ५४ जनालाई सेवा प्रदान गरेको छ।
यसैगरी महिला तथा बालबालिका कार्यालयले महिला हिंसा विरुद्ध महिला समिति गठन गरेको छ। थालाकाँडा मौरीबगरमा सञ्चालन भइरहेको एकीकृत घुम्ती शिविरमा पुगेर त्यो क्षेत्रका नागरिकले सेवा लिइरहेका छन्।
शिविर शनिबार पनि जारी रहने छ । यही कात्तिक २९ र ३० गते गाजरीमा शिविर सञ्चालन हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी सेवालाई नागरिककै घरदैलोमा पु¥याउनका लागि शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए।
जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सरकारी कार्यालयले प्रदान गर्ने सेवा उनीहरुकै गाउँ गएर दिने र सरकारी सेवाको बजारीकरण गर्ने उद्देश्यसहित शिविरको आयोजना गरिएको हो।
शिविरमा जिल्ला प्रशासन कार्यालयसहित जिल्ला निर्वाचन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, सुख्खा फलफूल विकास केन्द्र, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, नेपाली सेनाको शत्रुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालय र जिल्ला हुलाक कार्यालयले सेवा दिइरहेका छन्। रासस