अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख आर्थिक सहयोग गरिएको छ।
प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा आज यहाँ आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती सैनिक सङ्घ र पुन समाज काठमाडौँ जिल्ला कार्यसमितिले एक÷एक लाख आर्थिक सहयोग गरेका हुन्।
सङ्घले प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा अङ्ग्रेजी समयअनुसार आज ११ महिना ११ गते ११ बजे ११ मिनेट ११ सेकेन्डमा उक्त कार्यक्रम गरेको थियो। सो कार्यक्रममा सङ्घले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको हो।
कार्यक्रममा सङ्घका अध्यक्ष जनक रानाले राष्ट्रका लागि केही गर्ने अभियानका साथ लाग्नुभएकाले पुनलाई आर्थिक सहयोग गरिएको बताए। उनले भने–“हामीजस्ता संस्थाको सानो रकमले आविस्कार केन्द्र खोल्न सहयोग पुग्छ भने हामीले सहयोग किन नगर्ने ?”
अनुसन्धानकर्ता पुनले देशको आर्थिक विकासका लागि सानातिना सहयोगको खाँचो रहेको बताए।
सङ्घले यसअघि भूकम्पपीडित जनतालाई राहत उपलब्ध गराउनेदेखि पुनःनिर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु २० हजार आर्थिक सहयोग गरेको छ। रासस