एमालेका सांसद पुरूषोत्तम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन्। शुक्रबार संसदको विशेष समयमा बोल्दै पौडेलले भने,‘लोकतन्त्रमा कानुन, विधिको शासन हुने गर्छ। तर जब कसैले संविधान, कानुन र विधिको उलंघन गर्ने काम कुनै पनि राज्यका अंगमा रहेका पदाधिकारीले गरेमा संविधानको प्रावधान अनुसार कारबाहीको व्यवस्था गरिएको छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले कानुन र विधिको उलंघन गरेर पनि पदमा बसीरहेमा त्यसले लोकतन्त्रमा उपहास गरेको हो। यो उपहास संसदले टुलुटुलु बसेर हेर्न नमिल्ने उनले बताए।
‘हेर्दा सानो कुरा लाग्न सक्छ कि उनले अदालतको म्याद थमाउन दिएनन्। तर अदालतको सम्मान गर्नु सबै नेपालमात्र होइन राज्यका निकायमा बस्ने व्यक्ति जसले अख्तियार दूरुपयोग गर्नेविरुद्ध कारबाही गर्ने व्यक्तिले नै विधिको शासन उलंघन गरी पदमा बस्ने अधिकार हुँदैन,’ उनले भने।
त्यही भएर आफ्नो दल एमालेले यो प्रस्ताव पारित गर्ने निर्णय गरेको भन्दै यसमा नेपाली कांग्रेसले पनि कुनै अलमल नगरी पारित गर्नुपर्ने बताए।