नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च नेपाल, जावलाखेल ललितपुरले रोल्पाका तीन गाविस थबाङ, बुढागाउँ र लिबाङमा गरेको अनुसन्धान पूरा भएको अनुसन्धान अधिकृत गोपीकेश आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा र जीविकोपार्जन सहायतामा सेवा प्रदायकले कसरी सेवा प्रवाह गरिरहेका छन् र त्यो सेवा जनमानसमा कत्तिको प्रभावकारी बन्न सकेको छ भन्ने बारेमा चरणबद्धरुपमा खोज गरिएको थियो। यसरी रिसर्च गर्ने क्रममा पहिलो चरणमा बुढागाउँमा दुई सय ११, थबाङमा एक सय ८५ र लिबाङमा तीन सय २१ जनालाई प्रश्न सोधिएको थियो भने दोस्रो चरणमा बुढागाउँमा एक सय ८३, लिबाङमा दुई सय ७९ र थबाङमा एक सय ६७ जना व्यक्तिलाई २०१२ मा सोधिएका उनै प्रश्नावलीहरु २०१५ मा पनि दोहो¥याइएको अर्का अनुसन्धान अधिकृत अनल तण्डुकारले जानकारी दिए।
उनका अनुसार यसरी प्राप्त उत्तरबाट सेवामा भएका परिवर्तनलाई मापन गर्दा स्थानीय सरकार र केन्द्रीय सरकारप्रति आम जनताको धारणा के छ भन्ने बारेमा गरिएको अनुसन्धानमा २०१२ को तुलनामा २०१५ मा केन्द्र सरकारभन्दा स्थानीय सरकारप्रति जनता बढी सकारात्मक र उत्तरदायी भएको पाइएको तण्डुकारले बताए।
अनुसन्धान प्रतिवेदन अङ्ग्रेजीमा भए तापनि यसलाई नेपालीमा अनुवाद गरेर सरोकारवालाका बीच विभिन्न पुस्तक सार्वजनिक गरिएको थियो। द्वन्द्व प्रभावित अवस्थामा रोल्पा, बर्दिया र इलाममा सार्वजनिक सेवाको प्रवाह कतिको प्रभावकारी बनेको छ भन्ने बारेमा अनुसन्धान गरिएको बताइएको छ। रासस