प्राध्यापक डाक्टरलाई बिदामा राखेर पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबिबिएस तेस्रो र चौथो वर्षको पढाइ रोकेको छ।
तलब समायोजन, सट्टाविदा र करारमा रहेका सबैलाई स्थायी गर्न माग गरिरहेका प्राध्यापक डाक्टरलाई छुट्टी दिएपछि मणिपालमा भदौयता एमबिबिएस तेस्रो र चौथो वर्षको पढाइ रोकिएको हो।
लामो समय बित्दा पनि डाक्टर काममा नफर्केपछि तेस्रो र चौथो वर्षमा अध्ययनरत दुई सय ८० जना विद्यार्थीको पढाइ चौपट्ट भएको हो। महंगो शुल्क तिरेर पढिरहेका विद्यार्थी आफ्नो भविष्य नै जोखिममा पर्न थालेपछि बिहीबारदेखि धर्नामा बसेका छन्।
‘भदौ ७ गतेयता हाम्रो पढाइ रोकिएको छ, सरहरू पढाउन आउनुभएको छैन,’ एमबिबिएस चौथो वर्षका एक विद्यार्थीले सेतोपाटीसँग भने, ‘पढाइ रोकिएको महिनौं भइसक्दा पनि प्राध्यापकलाई बोलाउने काम भएको छैन।’
एमबिबिएस तेस्रो र चौथो वर्ष दुबैको अन्तिम परीक्षा आउन केही समय बाँकी छ। चौथो वर्षका विद्यार्थीले यो परीक्षापछि एक वर्ष प्रशिक्षार्थी डाक्टर बनेर काम गर्नुपर्ने हुन्छ। ‘तीन महिना पढाइ रोकिएपछि हामीले के आधारमा जाँच दिने, हाम्रो भविष्यमाथि खेलवाड भइरहेको छ,’ ती विद्यार्थीले भने।
पटक–पटक तलब समायोजन, सट्टा बिदा र स्थायीको माग राखी त्यहाँ कार्यरत प्राध्यापक डाक्टरले भदौ ५ गते अन्तिम पटक कलेज प्रशासनलाई ध्यानाकर्षण गराएका थिए। तर, कलेजले उनीहरूको माग सम्बोधन गर्नुको साटो उनीहरूलाई बिदामा राखेको थियो।
उक्त मागमा ५५ जना प्राध्यापक डाक्टरले सही गरेका थिए। अहिले ती सबै प्राध्यापनमा छैनन्।
‘हामीले माग राख्यौं, उहाँहरूले छुट्टी दिएर पठाउनुभयो,’ प्राध्यापक डाक्टर दीपकप्रसाद कोइरालाले सेतोपाटीसँग भने, ‘अहिलेसम्म वार्ताका लागि बोलाउनुभएको छैन,यसको मार विद्यार्थीलाई परिरहेको छ।’
कोइरालाले इन्टर्नको मुखमा विद्यार्थीको पढाइ चौपट्ट हुनु दुःखद भएको र यसमा कलेज प्रशासन जिम्मेवार भएको बताए। ‘हामी मर्कामा प¥यौं भनेर आन्दोलन थाल्यौं, कलेजले विद्यार्थीको पढाइबारे सोचेन,’ उनले भने।
लामो समयसम्म प्राध्यापकहरू कलेज नफर्केपछि विद्यार्थीले प्रशासनमा पटक–पटक ध्यानाकर्षण पनि गराएका थिए। तर, कलेजले पढाइको भन्दा पनि आफ्नै समस्या देखाउने गरेको छ।
‘सिट संख्या घटेको, अस्पताल घाटामा रहेको कसरी तलब बढाउने हामीलाई पनि समस्या छ भन्नेखालको कुरा कलेज प्रशासनले गर्छ,’ ती विद्यार्थीले भने, ‘पढाइ बिग्रियो भन्ने कुरासँग खासै सरोकारै राख्दैन।’
कलेजबाट पार नलागेपछि विद्यार्थी पोखराका प्रमुख जिल्ला अधिकारी र पश्चिमाञ्चल क्षेत्रीय प्रशासककहाँ पुगेका थिए। ‘उहाँहरू दुबैले हामीले शान्ति सुरक्षाको पाटो भएमात्र हेर्न मिल्छ भन्नुभयो,’ ती विद्यार्थीले भने, ‘यतिका पैसा तिरेर पढ्न आयौं, हामीले केही सिक्न पाएका छैनौं, आज हामीले संवेदनशील अवस्थामा छौं, मेडिकल शिक्षाजस्तो ठाउँमा कलेजको आन्तरिक कलहको बीचमा पिल्सिनु परेको छ।’
मणिपाल मेडिकल कलेजले भने पढाइ रोकिँदा विद्यार्थीमाथि भएको अन्यायबारे खुलेर बोल्न मानेको छैन। ह्युमन रिसोर्स डिपार्टमेन्ट प्रमुख भानु भारध्वजले प्राध्यापकको तलब बढाउने तथा बाँकी माग सम्बोधन गर्ने विषयमा कुरा भइरहेको बताए। तर कहिलेदेखि पढाइ सुरू हुन्छ भन्ने बताउन सकेनन्।
डाक्टर कोइरालाका अनुसार मणिपालले तलबमा मनपरी गरिरहेको छ। एकै किसिमका कर्मचारीलाई इच्छाअनुसार फरक–फरक किसिमको तलब दिने गरेको छ। ‘हामीले तलब समायोजनको कुरा राख्दा बिदा दिनु पर्ने जरुरी थिएन, कलेज विद्यार्थीको पढाइमा कति संवेदनशील छ भन्ने प्रश्न पनि हो यो,’ कोइरालाले भने।
साढे सात सय शैयाको मणिपाल मेडिकल कलेज मणिपाल एजुकेशन ग्रुप भारतले सञ्चालन गरेको हो। यसपालि यो मेडिकल कलेजले एमबिबिएसमा ११५ सिट पाएको छ। पश्चिम क्षेत्रकै ठूलो मेडिकल कलेज मानिने यसले पहिले एमबिबिएसमा १५० सिटसम्म पाएको थियो।
चिकित्सा क्षेत्रमा व्याप्त विकृति रोक्न त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले सत्याग्रह थालेपछि देशभरिका मेडिकल कलेजको सिट संख्या घट्न थालेको हो। मणिपालले पनि विद्यार्थीसँग सिट संख्या घट्दा घाटा भएको बताउने गरेको छ।