प्रतिबन्धित ५ सय र हजारका नोट सटहीबारे आधिकारिक निर्णय सार्वजनिक नहुँदा जनस्तरमै चिन्ता गहिरिएको छ । नोट प्रतिबन्धित भएको तेस्रो दिनसम्म यहाँ भएका नोट सटही हुने वा काम नलाग्ने के हुने भन्ने अन्योल छ । राजधानीमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी प्रतिबन्धित नोट रहेको अनुमान छ। यो खबर आजको अन्नपूर्णबाट लिएका हौ।
‘मसँगै २५ लाखको प्रतिबन्धित नोट छ', न्युरोडका एक व्यवसायीले भने, ‘नोट साटिएन भने मेरो आर्थिक अवस्था डामाडोल हुन्छ ।' व्यापारीले भारतीयसँग गर्ने कारोबारको भुक्तानीका लागि भारु नोट राख्छन् । भारत जाँदा सहजै नपाइएला भन्दै भारु राख्ने चलन काठमाडौंमा छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार व्यवसायीसँग ८/१० लाख भारु हुनु सामान्य हो । ‘दैनिक काम चलाउन पनि भारु राख्नुपर्ने बाध्यता छ', उनले भने । भारतका सबै ठाउँमा एटीएम चल्दैन ।
आफूलाई चाहिएको बेला सजिलै भारु सटही गर्न पाइन्न । त्यसैले भारु टन्न हुँदा ढुक्क र नहुँदा तनाव हुने गरेको उनले बताए । भारतले नेपाली नागरिकलाई २५ हजार भारुसम्म बोक्न छूट दिएको छ । यसैले भारतले आफूले छूट दिएबराबरको रकममात्र सटही गर्छ कि नेपालमा भएजति सबै गर्छ भन्ने अन्योल छ ।
‘आफूले बोक्न छूट दिएबराबरको नोट मात्रै साट्ने व्यवस्था मिलाउँछ वा अन्य निर्णय गर्छ भन्ने अन्योल छ', अर्थसचिव शान्तराज सुवेदीले भने । भारतको गाइडलाइनका आधारमा नोट साटिनेमा राष्ट्र बैंक विश्वस्त भए पनि निर्णय नदिएसम्म केही भन्न सक्ने अवस्थामा ऊ पनि छैन । ‘भरसक नेपालमा भएजति सबै प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउने, नभए उनीहरूले नेपालीलाई बोक्न छूट दिएको सटही गराउने प्रयासमा हामी हुनेछौं', बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकले काठमाडौंस्थित दूतावासलाई बुधबारै पत्राचार गरी उसले छूट दिएबराबरको सटही सुविधा नेपालीलाई दिन अनुरोध गरिसकेको छ । भारतका विभिन्न स्थानमा नगदै चल्ने भएकाले भारत गइरहनुपर्नेस“ग धेरै भारु छ ।
भारतमा खाता भएका व्यवसायी तथा अन्य कामकाजीलाई अप्ठ्यारो नपारे पनि खाता नहुने चिन्तामा छन् । भारतीय सीमानजिकका ठाउँमा भारु निकै चलनचल्तीमा भएकाले उनीहरू बढी चिन्तामा छन् । सरकारले प्रतिबन्धित नोटको अवस्थाका बारेमा तत्काल नागरिकलाई सुसूचित गरी सटही गर्न सुरु गर्नुपर्ने मुरारकाले बताए ।
उनले प्रतिबन्धित नोट हुने लाखौं नागरिक चिन्तामा रहेकाले सरकारले तत्काल अवस्था प्रस्ट पार्नुपर्नेमा जोड दिएका छन् । कतिपय व्यवसायीले आफूसँग भएका उक्त दरका भारतीय नोट साट्न विभिन्न माध्यम खोजिरहेका छन् भने कतिपय व्यवसायी आफन्तलाई आफूसँग भएको रकम जिम्मा लगाउन बाध्य छन् ।
भारतले प्रतिव्यक्ति ४ हजारका दरले नोट साट्ने व्यवस्था मिलाइसकेको छ भने त्यसभन्दा बढी भएकाले स्रोत खुलाएर बैंकमा जति पनि डिपोजिट गर्न पाउने व्यवस्था गरेको छ । वैधानिक तरिकाबाट आर्जित धन खोस्टो होला भनेर कुनै चिन्ता गर्नुपर्ने अवस्था छैन । नेपालमा पनि भारतकै जस्तो व्यवस्था सुरु गर्न महासंघले माग गरेको छ ।