प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा बिहीबार अपराह्न भएको छलफल सकिएको छ। संविधान संशोधन विषयमा दाहालले बोलाएको छलफलमा गएका ओली ४५ मिनेटपछि बाहिरिएका थिए।
सिंहदरबारबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संविधान संशोधनबारे दाहालबाट प्रष्ट कुरा नआएको प्रतिक्रिया दिए। ‘संविधान संशोधन किन र के का लागि भन्ने विषयमा उहाँबाट प्रष्ट कुरा आएन,’ ओलीले भने।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संविधान संशोधनबारे एमाले अध्यक्षसँगको छलफल सकारात्मक रहेको बताए। ‘संविधान संशोधन गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले कुरा राख्नुभयो, उहाँले सकारात्मक छु भनेर भन्नुभएको छ,’ आचार्यले भने।
संविधान संशोधन विषयमा तीन पार्टीका प्रमुख नेतासँग छलफलमा जुटेका प्रधानमन्त्री दाहालले कात्तिक अन्तिमसम्ममा संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्नुपर्ने भनी ओलीलाई जानकारी गराएका थिए।
यसअघि बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराबीच छलफल भएको थियो। सत्तारुढ दलबीच भएको छलफलअनुसार संविधान संशाेधनका विषयमा प्रधानमन्त्री र कांग्रेसले छुट्टाछुट्टै एमालेसँग छलफल गर्ने समझदारी भएको थियो। शुक्रबार कांग्रेसले एमालेसँग छलफल गर्दैछ।