एटिएमबाट पैसा चोरीमा पक्राउ परेका पूर्वी युरोपेली नागरिकबारे जानकारी दिँदै डिअाइजी सिलवाल।
पूर्वी युरोपेली मुलुकबाट नेपाल आउने नागरिकमाथि अब अध्यागमन विभागमै निगरानी गरिने भएको छ। खासगरी टर्किस, बुल्गेरियन र रोमानियन नागरिक अध्यागमनमा प्रहरीको कडाइमा पर्नेछन्।
ती देशका नागरिकको समूह नेपाल आई बैंकहरूका एटिएम बुथबाट संगठित तरिकाले पैसा चोरीमा संलग्न रहेको भेटिएपछि प्रहरीले अध्यागमनमै टोली खटाउने भएको हो। केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पूर्वी युरोपेली नागरिकको समूह पटक–पटक पक्राउ पर्न थालेकाले अध्यागमनमै कडाइ गर्ने तयारी थालिएको जानकारी दिए।
ठमेल, दरबारमार्ग क्षेत्रका एटिएम बुथहरूबाट नेपाली तथा विदेशी नागरिकको खाताबाट पैसा निकाल्ने विदेशी नागरिकको अर्को समूह बुधबार फेरि पक्राउ परेको छ। ब्युरोले दुई जना टर्किस नागरिकलाई कान्तिपथस्थित यलो प्यागोडाबाट समातेको हो।
पक्राउ पर्नेमा ५२ वर्षीय मुहारिम उजुन र ३२ वर्र्षीय सेलाहत्तिन याबर छन्। ब्युरोको टोलीले दुबैलाई बुधबार २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १ हजार ७ सय युरो, १ हजार ६ सय ६० अमेरिकी डलर, ११३ था एटिएमसहित समातेको हो।
ब्युरोले पक्राउ परेका नागरिकबारे बिहीबार पत्रकार सम्मेलन गरी एटिएमबाट गैरकानुनी तरिकाले रकम निकाल्ने कार्यमा उनीहरूको संलग्नताबारे संक्षिप्त जानकारी दिएको छ। साथै, उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।
ब्युरोका निर्देशक सिलवालका अनुसार एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकका पैसा चोरीमा पूर्वी युरोपेली नागरिकको संगठित समूह नै फेला परेको छ। ‘हालसम्मको हाम्रो कारबाहीमा पूर्वी युरोपेली मुलुकका नागरिकमात्रै फेला परेका छन्,’ सिलवालले भने, ‘यो कार्यमा नेपालमा संगठित समूह नै छ भन्ने पत्ता लाग्न थालेपछि हामी खोजीमा जुटिरहेका छौं।’
यसअघि ब्युरोले चार रोमानियन, तीन टर्किस र दुई बुल्गेरियन नागरिकलाई समातिसकेको छ। प्रारम्भिक अनुसन्धानमा दुई पटक समातिएका व्यक्तिसँग यी अहिले पक्राउ परेकाहरूको ‘कनेक्सन’ जोडिएको देखिएको सिलवालले बताए।
ब्युरोका अनुसार पक्राउ परेका दुबै टर्किस नागरिकले कान्तिपथस्थित नबिल बैंकको एटिएम बुथबाट रकम निकालेका थिए। यसअघि पक्राउ परेका टर्किस, रोमानियन र बुल्गेरियन नागरिक एटिएम बुथमा कार्ड रिडिङ डिभाइस र हिडेन क्यामरा जडान गरी रकम निकाल्ने कार्यमा सक्रिय रहेको पाइएको थियो।
‘डिभाइस जोडेर दिनभरि राख्ने अनि साँझ पुगेर निकालेर पिन नम्बर नोट गरी एटिएमबाट पैसा चोरी गर्ने गरेको खुलेको छ,’ सिलवालले भने।
पक्राउ परेका दुबै टर्किस नागरिक मे २६ देखि नोभेम्बर ७ सम्म गरी तीन पटक नेपाल आई नोभेम्बर १२ का दिन फिर्ता हुने योजनामा रहेको ब्युरोले जनाएको छ। युरोपबाट नै एटिएम कार्ड साथमा लिएर आउने र नेपाली बुथहरूबाट रकम झिकेर युरो र डलरमा सटही गरी आफ्नो देश फर्कने योजनामा उनीहरू रहेको ब्युरोको भनाइ छ।
‘जम्मा गरेको पैसा नोभेम्बर ७ देखि १२ सम्म चार दिनबीचको अवधिमा सटही गरी फर्किने सोच बनाएको देखिन्छ,’ सिलवालले भने।
ब्युरोका अनुसार पीडित व्यक्ति नेपाली तथा विदेशी दुबै हुनसक्छन्। तिनीहरूको पहिचान गर्ने कार्यमा ब्युरो सक्रिय छ। नेपाली बैंकका खातावालको रकम नेपाल र भारतका एटिएम बुथहरूबाट मात्र निकाल्न सकिन्छ। त्यहीकारण यो समूह नेपालमै आएर सक्रिय भएको हुनसक्ने प्रहरीको अनुमान छ। बरामद भएका एटिएम कार्डको विवरणका आधारमा ग्राहक, सम्बन्धित बैंक र अनधिकृत तवरले निकालिएको रकमबारे पहिचान गरिने ब्युरोले जनाएको छ।
यो र यस्तै समूह नेपालमा निकै सक्रिय रहेको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले एसएसएम अलर्ट राखेका बैंकका ग्राहकको उजुरीका आधारमा अनुसन्धान थालेको हो। ‘एसएमएस अलर्ट नराखेका धेरै बैंक छन्, तिनका ग्राहकबाट कति रकम निकालिएको तथा सम्बन्धित खातावाललाई थाहै नभएको पनि हुनसक्छ,’ सिलवालले भने, ‘आत्तिनुपर्ने भन्दा पनि सचेत हुनुपर्ने अवस्था छ।’
आफ्नो खाताको रकम सुरक्षित गर्न ग्राहक र बैंकले एटिएम सुरक्षालाई ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन्। एटिएमबाट पैसा चोरी तीब्र भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले बुधबार एटिएम बेसिसलाई परिवर्तन गर्न निर्देशन दिइसकेको छ।
तस्बिर: नारायण महर्जन/सेतोपाटी
यो पनि हेर्नुहोस्
एटिएमबाट यसरी चोरी हुन्छ पैसा