मोरङको उर्लाबारी क्षेत्रमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच पुगेको छ। उर्लाबारी–६ स्थित मङ्गलबारे अस्पतालका अनुसार थप एक जना पथरी शनिश्चरे–८ का विक्रम सुनारलाई डेङ्गु सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको हो।
यसअघि उर्लाबारी–१ की रामकुमारी राई, कमला श्रेष्ठ, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहको रगत परीक्षणमा डेङ्गु सङ्क्रमण भेटिएको थियो।
ज्वरो आएपछि मङ्गलबारे अस्पतालमा र गोदावरी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य मोरङको टोलीले रगत परीक्षण गरेको थियो। रगत परीक्षणबाट डेङ्गु प्रमाणित भएको जनस्वास्थ्यका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिए।
चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ। यो लामुखुट्टेले जमेको सफा पानीमा लार्भा हुर्काउँछ। यसैबीच उर्लाबारी क्षेत्रमा डेङ्गुका बिरामी फेला परेपछि उर्लाबारी नगरपालिका, मङ्गलबारे अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालयले लार्भा नष्ट अभियान सुरु गरेको भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी दिए।
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानअन्तर्गत उर्लाबारीको ३ र ४ नं वडामा विषादी छर्किन सुरु गरिएको छ। रासस