फाइल फोटो
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले निरंकुश भएर सरकार सञ्चालन गरेको आरोप लगाए।
बुधबार काभ्रेको धुलिखेलमा सुरु भएको नेपाली कांग्रेस नगर सभापतिहरुको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसको समर्थनमा सरकार गठन भएपनि प्रधानमन्त्री दाहालले एकलौटी ढंगबाट सरकार चलाएको दावी गरे। उनले आफ्नो पार्टीको आड भरोसामा सरकार गठन भएपनि कांग्रेसको चाहनाअनुसार आम जनताले राज्यबाट पाउनुपर्ने सुविधा पर्याप्त रुपमा पाउन नसकेको गुनासो गरे।
नेता पौडेलले प्रधानमन्त्री एक्लौटी ढंगबाट अघि बढेकाले स्थानीयस्तरमा हुनुपर्ने विकास निर्माण प्रभावित भएको बताए। नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनको तयारीस्वरुप नगर सभापतिहरुको भेला गराएको हो। देशभरबाट भेला भएका दुई सय १७ नगर सभापतिहरुको भेला दुई दिनसम्म चल्ने छ।
भेलामा पार्टीको जिल्लास्तरीय कमिटीमा पनि आफूहरुले भूमिका पाउनुपर्ने नगर सभापतिको मागका बारेमा छलफल हुने बताइएको छ। भेलालाई भोलि पार्टी सभापति शेर बहादुर देउवाले सम्बोधन गरी समापन गरिने भेला आयोजक समितिका संयोजक बनेपा नगर सभापति राम ज्योतीले जानकारी दिए।