गत बुधबार साँझ ठमेलको मनास्लु होटल अगाडि एक महिलाको सुनको सिक्री लुटियो। सडकमा हिँडिरहेकी उनलाई मोटरसाइकलमा आएका २ जनाले सिक्री तानेर भागे। त्यसपछि उनले सोह्रखुट्टे प्रहरीमा गएर उजुरी गरिन।
घटना भएको एक हप्तापछि सोह्रखुट्टे प्रहरीले सिसिटिभी र पीडितले दिएको जानकारी अनुसार एक दम्पत्तिलाई पक्राउ गर्यो। काठमाडौंका सबिर मगर र उनको श्रीमती सेलेष्टि क्षेत्री बा ६० प ३५३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परे। उनीहरुको साथबाट प्रहरीले डेढ तोला सुन पनि बरामद गरेको छ।
अनुसन्धानका क्रममा तीनै मगर दम्पत्तिले ती महिलाको सुनको सिक्री लुटेको खुल्न आएको सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
'श्रीमान मोटरसाइकल चलाउने, श्रीमती पछाडि बसेर सुनका गहना लुट्ने गर्दा रहेछन्,' डिएसपी राठौंरले भने। मगर दम्पत्ति लागू औषध दुर्व्यसनी भएको खुल्न आएको डिएसपी राठौंरले बताए।
एकान्तस्थानमा, र बढी भीड भएको स्थानमा उनीहरुले महिलालाई 'टार्गेट' गर्ने गरेको प्रहरीले जनाएको छ।
लुटेको सुन उनीहरुले बेच्दैनथे। केशव नेपालीलाई उनीहरुले सुन पसलमा बेच्न पठाउने र कमिसन दिने गरेको राठौंरले बताए। नेपाली सहित बज्र ज्यास भोटाहिटीका संचालक धर्मरत्न बज्राचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ।