परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र उत्तरको छिमेकी मित्रराष्ट्र चीनबीच कुनै कुरामा मतभेद असमझदारी नभएको दाबी गरेका छन्।
नेपाल सरकारले अपनाएको पछिल्लो गतिविधिबारे चीनले आपत्ति जनाएको विषयमा परराष्ट्रमन्त्री महतले सेतोपाटीसँग भने, ‘नेपालले अपनाउँदै आएको एक चीन नीतिप्रतिको प्रतिबद्धताबारे मित्रराष्ट्र चीनले पनि बुझेको छ र हामी पनि यो नीतिमा सधैं प्रतिबद्ध छौं।’
नेपालको परराष्ट्र नीतिबारे चीन सशंकित हुँदै नेपालसँग जवाफ मागेको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै वर्तमान सरकारले सबै छिमेकी राष्ट्रहरुसँग सम्बन्ध सुधार गर्दै अघि बढेको कारण सरकारलाई जबरजस्ती विवादमा ल्याउन भ्रम फैलाइएको दाबी महतले गरे।
समाचारमा उल्लेखित परराष्ट्र मन्त्रालयको उच्च स्रोत वा उच्च अधिकारी आफू भएको उल्लेख गर्दै महतले भने, ‘मसँग यस विषयमा कुनै करा भएको पनि छैन र मलाई सोधिएको पनि छैन।’
परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसँग मंगलबार नै कुराकानी गरेका थिए। उक्त कुराकानीका अवसरमा दूतावासका प्रतिनिधिले नेपालको विषयमा आफूहरुको कुनै गुनासो नभएको जानकारी परराष्ट्र स्रोतले बतायो।
आइतबार राजधानीको बबरमहलस्थित आर्ट काउन्सीलमा एक ताइवानी गैरसरकारी संस्थाले ताइवानी झण्डासहित गरेको कार्यक्रमको विषयमा आफूलाई चिनियाँ दूतावासबाट जानकारी आएलगत्तै गृहमन्त्रीसँग कुरा गरी कार्यक्रमबाट ताइवानी झण्डा हटाउने काम भएको महतले बताए।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत निर्वासनमा रहेको तिब्बती धर्मगुरु दलाइ लामा वा उनका कुनै प्रतिनिधिसँग भेट नगरेको र उनीहरु उपस्थित कार्यक्रममा सहभागी नभएको पनि मन्त्री एवम् कांग्रेस नेता महतले बताए।