अमेरिकी राष्ट्रपतिको लागि केही समयअगाडि निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ। निर्वाचनको परिणामलाई लिएर विश्वभरिका प्रायः सबै व्यक्तिमाझ उत्तिकै चासो छ। यसै सिलसिलामा पृथ्वीदेखि करिब ४ सय किलोमिटर टाढा अन्तरिक्षमा पनि अमेरिकी वैज्ञानिकहरूले मतदान गरेका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट यसपालि वैज्ञानिक सेन किमब्रोले मतदान गरेका छन्। राष्ट्रपतीय निर्वाचनमा यसपालि सबैभन्दा अगाडि मतदान गर्ने व्यक्ति पनि उनी नै हुन्। यसभन्दा अघि १९९७ मा पहिलो पल्ट अन्तरिक्ष स्टेशनबाट मतदान गरिएको थियो। त्यतिबेला डेभिड उल्फले रुसी मीर स्पेस स्टेशनबाट मतदान गरेका थिए।
सन् २००४ मा लियोर सियाओले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मतदान गरेका थिए। सेन यही वर्ष अक्टुबर १९ मा एक महिनाका लागि ‘स्पेस मिसन’ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन्। उनीसँगै यो मिसनमा रुसका दुई अन्तरिक्ष यात्री पनि छन्। अमेरिकाको ह्युस्टनमा सबैभन्दा बढी अन्तरिक्षयात्रीहरू बसोबास गर्ने गर्छन्।
यही नासाको मिसन कन्ट्रोल सेन्टर ‘जोनसन स्पेस सेन्टर’ छ। पृथ्वीदेखि ४ सय किमि टाढा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले पृथ्वीको चक्कर लगाइरहेको हुन्छ। त्यहाँबाट इमेल र इलेक्ट्रोनिक ब्यालेटमार्फत मतदान गर्ने सुविधा छ। यसका लागि ग्लेबस्टोन कन्ट्री क्लर्क अफिसलाई नासाले जोनसन स्पेस सेन्टरबाट मतदानको जानकारीसहित एउटा इमेल पठाउने गर्छ।
उसले त्यो इमेल पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई पठाउछ। सेनले यसैमार्फत् आफ्नो मतदान मंगलबार बिहान गरेका हुन्।