झापामा स्थानीय तहको संख्या निर्धारणमा १५ क्लस्टरको खाका बनाउने निर्णय भएको छ।
दलहरुको मत विपरित ध्रुवमै रहेका बेला झापाका राजनीतिक दलहरुको बहुमतले क्लस्टर संख्या निर्णयका लागि सिफारिस हुने भएको हो। नेकपा एमाले सहितका केही दलहरुले यो संख्यामा चित्त बुझाएका छैनन्।
उनीहरूले यसअघि सहमति भएका संख्या र भुगोलकै आधारमा सोमबार पनि क्लस्टर संख्या प्रस्ताव गरेका थिए । तर दलहरुको संख्यात्मक हिसावमा वहुमतले झापालाई एक उपमहानगरपालिकासहित ६ नगरपालिका र ८ गाउँपालिका हुने निर्णय भएको हो।
सोमबार बिहानैदेखि जिल्ला विकास समितिको कार्यालय चन्द्रगढीमा भएको छलफलले मेची उपमहानगरपालिकासहितको १५ वटा क्लस्टर निर्धारण गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल र मधेसी मोर्चा सम्बद्ध राजतीनितक दलहरुले एक उपमहानगरपालिकासहित ६ नगरपालिका र ८ गाउँपालिकाको प्रस्ताव गरेका हुन्।
झापाका राजनीतिक दलमध्ये १२ वटा राजनीतिक दलले यो संख्यामा सहमत जनाएको हो। एमालेसहित नयाँ शक्ति नेपाल, नेकपा माले, लगायतका केही साना दल ले भने हाल निर्णय भएको संख्या अवैज्ञानिक भन्दै असहमति जनाएका छन्।
दलहरुले यसअघि झापाका ८ नगरपलिकाको संख्यालाई घटाएर ६ वटा निर्धारण गरेका छन्। शनिअर्जुन गाउँपालिका र मेची उपमहानगरपालिका भएपछि नगरपालिकाको संख्या घटेको हो। यस्तै दलहरुले नामाङ्गकनसहित गाउपालिकाको संख्या ८ बनाएका छन। यसअघि झापामा ३३ वटा गाउँविकास समिति थिए। दलहरुले बुद्धशान्ति, अर्जुनधारा, केचनाकवल, हल्दीवारी, वार्दसी , झापा, खजुरगाछि र कमल गाउँपालिका बनाएका छन्।
नेपाली काँग्रेस, माओवादी केन्द्रसहितका दलहरुको प्रस्तावमा नेकपा एमाले, माले, नयाँ शक्ति लगायतका दलहरु असन्तुष्ट बनेपछि उनीहरुले यसअघि आयोगमा सर्वसम्मत पेस गरिएका ११ वटा क्लस्टरको प्रस्तावलाई नै अघि बढाउनुपर्ने माग गरेका थिए। तर छलफलमा बहुमतले १५ वटा क्लस्टर बनाउने विषयमा सहमत भएपछि निर्णयका प्रकृया अघि बढेको छलफलमा सहभागी एक नेताले सेतोपाटीलाई बताए।
झापामा यसअघि मेची उपमहानरपालिकासहित ११ वटा ईकाई आयोगमा पेस गरिएको थियो। राज्य पुनसंरचना आयोगले नयाँ मापदण्ड निर्धारण गरेपछि दलहरु पुन छलफलमा जुटेका थिए ।
सोमबार जिल्लाको पुनसंरचना गर्न बसेको झापाका राजनितिक दलहरुको बहुमतले १५ क्लस्टर सिफारिस भएको नेपाली काँग्रेसका नेता देउमान थेवेले बताए ।
यस अघिको मेचि नगरपालिकामा बाहुनडाँगी, धाईजन, दुवागढी, ज्यामिरगढी समावेस गरेर मेची उपमाहानगरपालिका बनाउने निर्णय भएको छ। यस्तै शान्तिनगर र बुधबारे गाविस जोडेर बुद्धशान्ति गाउपालिका सिफारिस गरिएको थेवेले बताए।
यस्तै यसअघिको शनिअर्जून नगरपालिका र खुदुनावारी गाविस जोडेर अर्जुनधारा गाउँपालिका प्रस्ताव गरिएको छ। बिर्तामोड नगरपालिकामा गरामनि मिसाएर विर्तानगरपालिका राज्य पुनसंरचना आयोगमा सिफारिस गरिएको छ।
यता भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभेर साविककै नगरपालिका कायम गरिएको छ। पूर्वी दक्षीणका पाठामारी बनियाँनी, बालुवाडी, पथरिया, केचना र घेरावारी गाविस जोडेर केचना कवल गाँउपालिका बनाउने निर्णय भएको छ।
यस्तै हल्दीबारी, जलथल, गोलधाप गाविसलाई हल्दिवारी गाँउपालिका बनाईको छ। मध्य दक्षिण राजगढ, डाँगीबारी, चकचकी गाभेर बाह्रदसी गाउपालिका बनाईएको छ। यता यसअघिको कन्काई नगरपालिकामा डाँगीबारी गाविसको बिरिङ पश्चिम ४ नम्बर वडा, शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४, सोही नगरको वडा नम्बर ९ को कन्काई नदि पूर्व टेक्रा, साविकको शनिअर्जुन नगरपालिकाको वडा नम्बर ३ को टाङ्गटिङ्ग नदी पश्चिमको जुकेखाडी सहितको क्षेत्र कन्काईनगरमा गाभिएको छ।
कुमरखोद, टाघनडुव्बा र शरणामति गाविस जोडेर झापा गाँउपालिका निर्धारण गरिएको छ। यता साविकको शिवसताक्षी नगरपालिकामा धरमपुर र पाँचगाछि गाविस जोडेर शिवसताक्षी नगरपालिका कायम गरिएको छ। माहाभारा कोरोवारी गौरीगञ्ज, खजुरगाछि जोडेर खजुरगाछि गाँउपालिका निर्धारण गरिएको छ। यसअघिको गौरादह नगरपालिकालाई बैगुनधुरा गाभेर गौरादह नगरपालिका कायम गरिएको छ ।
यस्तौ तोपगाछि र लखनपुर गाविस जोडेर कमल गाँउपालिका निर्धारण गरिएिको छ। यस अघिको दमक नगरपालिकाको भौगोलिक संरचनालाई यथावत राखेर दलहरूले दमक नगरपालिका नै निर्धारण गरेका छन्। यसअघि दमक नगरलाई लखनपुर र धरमपुर गाभेर दमक उपमहानगरपालिका बनाउने विषयमा दलहरू बिच विवाद थियो ।