जावलाखेल चोकबाट चिडियाघर जाने सडक, त्यसपछि चिडियाघरको पार्किङ स्थल हुदैँ चराचुरुङगी राखिएको स्थान, बाघ, इमु र अष्ट्रिज राखिएको बाहिर पट्टिको सडक कालोपत्रे नभएको झण्डै ३ वर्ष भयो। यी सडकहरु कालोपत्रे नहुदाँ त्यहाँबाट उड्ने धुलोले चिडियाघरमा रहेको जनावरहरुलाई असर गर्ने गरेको चिडियाघरका पशु चिकित्सक डाक्टर नबिन केसीले बताएका छन्।
सडकबाट उड्ने धुलोले चिडियाघरको चराचुरुङगी राखिएको स्थानलाई सबैभन्दा बढी असर पारिरहेको छ। त्यस भित्र रहेको रुखहरु पनि धुलोले ढाकिएको देख्न सकिन्छ। 'धुलोले गर्दा चराहरुलाई केही असहज भएको हामीले महसुस गरेका छौं,' डाक्टर केसीले भने, 'आहारा र पानी पनि धुलोले गर्दा उनीहरुले स्वच्छ खान पाएका छैनन्।'
धुलोकै कारण उनीहरुलाई आहारा र पानी दिने भाडाहरु दिनको ४ पटकसम्म पखाल्ने गरेको उनले बताए। चिडियाघरमा अहिले ९५ प्रजातिका हजारौ चराहरु छन्। धुलोले चराहरुको पनि फोक्सोमा असर पुर्याउने डाक्टर केसीले बताए।
चिडियाघरकी प्रमुख सरिता ज्ञवालीले धुलाम्यका कारण उपत्यकाबासीले नै सास्ती व्यहोरिरहेको बताउँदै मानवकै समस्या यथावत रहेको बताइन। 'मानिसहरुलाई नै धुलोले पारेको समस्या सल्टिएको छैन, 'उनले भनिन 'जनावरको प्राथमिकतामा नपरेको हुन सक्छ।' चिडियाघरमा रहेका चराहरुलाई धुलोले असर गरेपनि त्यसमा आफूहरुले हेरविचार गरिरहेको बताइन। चिडियाघरमा नै रहेको एनिमल हस्पिटलले यस विषयमा चासो राख्दै चराहरुलाई असर पर्न नदिन विभिन्न काम गरिरहेको बताइन।