प्राक्कथन
महाभारत के हो? यसका खास लेखक को हुन्? यस महाकाव्यको रचना कहिले भएको हो? विगत शताब्दीदेखि नै विद्वानहरूले यस्ता प्रश्नमाथि शोध गरिरहेका छन्। उनीहरूको निष्कर्षमा मतैक्य छैन। केही कुरा भने मान्य छन्।
महाभारत कुनै एउटा व्यक्ति विशेषले लेखेको रचना होइन। महाभारत, पुराण र अन्य अनेकानेक धार्मिक ग्रन्थहरूको लेखकका रूपमा व्यासको नाम लिइन्छ। व्यास कुनै एउटा व्यक्तिको नाम मात्र होइन। व्यासको शब्दार्थले यो कुरा जनाउँछ। कुनै कथा–सुत्रलाई सप्रसंग व्याख्या गरेर सुनाउने/बुझाउने मानिसलाई व्यास भनिन्छ।
व्यास शब्द अहिले पनि प्रचलित छ। पुराण लगाउँदा पिठासनमा बस्ने मानिसलाई व्यास भनिन्छ। तर, कसैले कुनै दिन महाभारतको मूलकथाको परिकल्पना अवश्य गर्यो। पछि त्यस कथामा उपकथाहरू थपिँदै गए। महाभारतमा लामो समय लगाएर लगातार अध्याय र पर्वहरू थपिएका छन्। पछि थपिएका यस्ता अंशलाई अध्येताले चिनेका र चिनाएकासमेत छन्।
भनिन्छ, दुनियाँमा भएको सबै कुरा महाभारतमा छ। यसैलाई उल्ट्याएर भनिन्छ– महाभारतमा नभएको कुरा दुनियाँमा केही छैन। बाह्य रूपमा हेर्दा महाभारत मानव जीवनमा नित्य घटित भइरहने दृश्यावलीको विश्वकोश हो।
चराचुरुङ्गी प्वाँख लागेपछि गुँड छाड्छन्। खुला आकाशमा आफैं उड्न थाल्छन्। एउटा हुर्किएको मानिस पनि उमेर पुग्नासाथ आफ्नै गुँड खोज्छ। उड्ने र गुँड खोज्ने क्रममा प्रकृतिले प्रत्येक जीव मात्रमा प्रजननको सहजात प्रवृत्ति प्रदान गरेको छ। उमेर पुगेका पुरुष स्त्रीप्रति र स्त्री पुरुषप्रति आकृष्ट हुन थाल्छन्। तर, यस्ता सहजात प्रवृत्तिका भरमा मानिसले सुख–शान्ति भएको समाज बनाउन सक्दैन। महाभारत र रामायणजस्ता महाकाव्यले यस तथ्यको उजागर गर्छन्।
परम्पराले महाभारतलाई इतिहास भनेको छ। प्रचलित भाषामा इतिहासको भिन्न अर्थ लाग्छ। आधुनिक इतिहासमा तिथिमितिको बडो महत्व हुन्छन्। महाभारतलाई त्यस दृष्टिले इतिहास भनिएको होइन। सनातन परम्परामा इतिहास भन्नाले इतिं+ह+आसका रूपमा अर्थ्याउने गरिएको छ। यस्तो इतिहासको सोझो तात्पर्य छ– यो सधैं भइरहने कुरा हो। महाभारतमा यस्तै नै सधैं भइरहने घटनाहरूको साहित्यिक दृश्यावली छ।
महाभारत मुख्यतः राजा–महाराजाको लोकगाथा हो। त्यस युगमा राजतन्त्र अपरिहार्य थियो। आजको जस्तो प्रजातन्त्र र गणतन्त्र थिएन। योग्य राजा पाएको खण्डमा प्रजा सुख–शान्तिले बस्दथे। काम–धन्दामा लाग्न सक्थे। कमाउथे, खान्थे। राज्यलाई कर दिन्थे। यसैले महाभारतले राज–धर्मका कुरा बारम्बार गर्छ। ‘दण्ड’ को महत्व बताउँछ। दण्ड र सुशासन एकअर्काका पूरक हुन्। राजाले चोर, डाँका, फटाहा र भ्रष्टाचारीलाई अपराधबमोजिम दण्ड दिनुपर्छ। फेरि राजा छान्ने कुरो सजिलो छैन। महाभारतले मूल रूपमा युधिष्ठिर र दुर्योधनमध्ये राजा हुने पात्रता र योग्यता कोसँग छ भन्ने प्रश्न विवाद–संवादमा ल्याएको छ।
कुरुवंशमा धृतराष्ट्र–पाण्डु दुई दाजुभाइ थिए। जेठा धृतराष्ट्र जन्मान्ध थिए। माहिला पाण्डु जन्मजात रोगी थिए। कान्छा विदुर नीतिज्ञ र ज्ञानी थिए। तर, उनी दासीपुत्र थिए। विदुर पो आदर्श राजा हुन सक्छन् कि भन्ने कसैले सोच्नसम्म सकेनन्। राणाशाहीको पतनमा तथाकथित दासीपुत्रको भेदभावले ठूलो फुट उत्पन्न गरेको थियो। सात सालको क्रान्तिको सफलताका निमित्त ‘सी’ क्लासमा दरिएका राणाहरूको ठूलो सहयोग थियो। महाभारतमा पनि जातीय विभेदको प्रसंग महत्वपूर्ण छ। प्रारम्भमा नै एकलव्यसँगको अत्याचारको प्रसंग आउँछ। त्यस्तै पीडाले कर्णलाई महाभारतको दुरदान्त पात्र बनाएको छ। दासीपुत्र विदुरले पाण्डुका छोरालाई सघाए। सूतपुत्र कर्णले दुर्योधनलाई भरथेग दिए। पाण्डुका छोरा युधिष्ठिर र धृतराष्ट्रका छोरा दुर्योधन दुवैको राजकीय दावाका क्रममा मूलराज्य हस्तिनापुर दुई भागमा विभक्त भएको थियो। त्यसले झगडा मिलेन। झन् चर्कियो। कथा–व्यथा लम्बिँदै गयो।
महाभारतकारले प्रारम्भमा नै राजा को र कस्तो हुनुपर्छ भन्ने प्रश्न उठाएको छ। कुरुवंशका आदि पुरुष राजा दुष्यन्त थिए। उनले ऋषिपुत्री शकुन्तलासँग प्रेम विवाह गरे। यस दम्पत्तिका एक छोरा भए। उनको नाम भरत थियो। भरत आफ्ना समयका महाप्रतापी राजा भए। उनका ९ जना छोरासमेत थिए। तर, उनले आफ्ना अयोग्य छोरालाई राज्य दिन चाहेनन्। उनले ऋषि भारद्वाजका छोरा भुमन्यु भन्ने युवकलाई आफ्नो राज्य सुम्पेका थिए। यसरी आफ्ना उत्तराधिकारीका निमित्त भरतले एउटा उदाहरण पेस गरेका थिए।
आफ्नो रगतको छोरो छ भन्दैमा राज्य उसैले पाउनुपर्छ भन्ने छैन। मानिसले पुत्रमोहमा राज्यको भविष्य निर्धारण गर्नु हुँदैन। राज्यको भविष्य भनेको प्रजाहरूको भविष्य हो। त्यसो हुँदा प्रजालाई रिझाउन सक्ने र प्रजाको सुख–शान्तिको ग्यारेन्टी गर्ने व्यक्ति राजा हुनुपर्छ भन्ने भरतको अभिप्राय थियो। राजा शब्दको अर्थ पनि स्पष्ट छ। प्रजाको रञ्जन गर्न सक्ने अर्थात् सुखी पार्न सक्नेलाई राजा भनिन्छ भनेर महाभारतमा पटक–पटक भनिएको छ। तर, धृतराष्ट्र र पाण्डुका पालामा आउँदासम्म यो परम्परा लुप्त भएको थियो। आफूले जन्माएको जेठो छोरोका रूपमा धृतराष्ट्रले दुर्योधनलाई गद्दी दिन जिद्दी गरे। युधिष्ठिरका सहयोगी समर्थकले भने यो स्वीकार गरेनन्। अन्ततः यी दुई दाबेदारबीच कुरुक्षेत्रमा १८ दिनसम्म ठूलो लडाइँ भयो। बहादुर र गुणी सबै मारिए। औंलामा गन्न सकिन्ने ज्योध्या मात्र बाँचे। पाण्डवहरूको शेषपछि अभिमन्यु राजा हुनुपर्ने थियो। अभिमन्यु पनि मारिए। भीष्म, कर्ण, द्रोणजस्ता वीरहरू हताहत भए। विजयी राजा युधिष्ठिर स्वयम् विरक्त भए। यत्रो विभीषिका भोगेर उनलाई पनि राज्य गर्न मन लागेन।
इहलोकको भोग सिधिएपछि स्वेच्छाले मरण गर्नुपर्छ भन्ने त्यतिबेलाको परम्परा थियो। ३६ वर्ष राज गरेर पाण्डव स्वर्गारोहणमा प्रवृत्त भए। महाभारतको मूलकथा यति नै हो। तर, महाकविले यस मूलकथाभित्र अनेकौं कथा समावेश गरेका छन्। १८ दिने युद्धको अन्तमा दुर्योधन मारिन्छन्। महाभारत त्यहाँ टुंगिदैन, आधा महाभारत बाँकी नै रहन्छ। महाभारतलाई रोचक कथाका रूपमा पेस गर्न चाहने लेखक अगाडि बढ्न चाहन्नन्। यसो गर्नु महाभारतको कुपाठ हुनेछ।
महाभारतको प्रारम्भमा केही विचित्र उपाख्यान राखिएको छ। आदि पर्वका प्रारम्भिक पृष्ठमा नै नाग–गाथाका माध्यमबाट ‘अहिंसा परमो धर्म’ को उद्घोष छ। लगत्तैपछि जनमजेयको नाग–यज्ञ सुरु हुन्छ। सतही रूपमा हेर्दा नाग–गाथा र नाग–यज्ञ कथाको महाभारतको कुरुक्षेत्रसँग सम्बन्ध देखिँदैन। तर, यो सम्बन्ध नबुझ्दासम्म महाभारतको नैतिक र धार्मिक पक्ष साक्षात्कार हुँदैन।
ऐतिहासिक दृष्टिले हेर्दा त्यस समय आर्य र नाग भनिने दुई जातिबीच ठूलो संघर्ष थियो भन्ने संकेत पाइन्छ। पाण्डवहरू आर्यका नेता थिए। नागराज तक्षक नागवंशका नेता थिए। अर्जुनले अग्नीदेवलाई खुसी पार्ने क्रममा कृष्णको सहायताले खाण्डव वन दहन गरेका थिए। खाण्डव वन नागहरूको मूल थलो थियो। खाण्डव दहनबाट उम्किएका नागवंशका उत्तराधिकारीहरूले पाण्डवसँगको शत्रुता राखी रहे। अर्जुनको नातिका पालामा बदला लिए। अर्जुनका नाति परिक्षितलाई उनीहरू मार्न सफल भए। परिक्षितका छोरा जनमजयले यस शत्रुताको बदला लिन नागको सर्वनाशका निमित्त यज्ञ आयोजना गरेका थिए। ऋषिपुत्र आस्तिकका हस्तक्षेपले विनाश स्थगित भएको थियो। व्यास र वैशम्पायन लगायतले सम्झाएपछि जनमजेय होशमा आए। बदलाको अन्त बदलामा हुन्छ। बदलाले समस्या समाधान गर्दैन। महाराज जनमजेयलाई यो कुरो बुझाउन व्यास र वैशम्पायनले महाभारतको कथा आध्योपान्त सुनाउनु पर्यो।
जनमजेयका पिता महाराजा परिक्षितले केही भिन्न परिवेशमा भागवत् महापुराण सुनेका थिए। त्यहाँ पनि नागसँगको झगडाको कथा छ। तर, भागवतको सरोकार अर्को छ, विशुद्ध आध्यात्मिक छ। मृत्युको डरका उपर विजय प्राप्त गर्न परिक्षितले भागवत् महापुराण सुने। जनमजेयलाई अहिले मृत्युको डर थिएन। तर, उनले आफूमा अन्तर्निहित घृणा, क्रोध र प्रतिहिंसाका उपर जय प्राप्त गर्नु आवश्यक थियो। महाभारत सुनेर जनमजेयले आफ्ना उपर जय प्राप्त गरे। यसैले महाभारतको प्रारम्भिक नाम जय थियो।
महाभारतले आफूलाई धर्मग्रन्थ भनेको छ। शुष्क धर्मोपदेश रुचिकर हुँदैन। उपदेशको शृंखलालाई रुचिकर बनाउँदै लैजान कविले कुनै कसर छाडेका छैनन्। झन्डै सबैजसो उपदेशलाई कथाका माध्यमबाट सहज बनाइएको छ। त्यसो हुँदा महाभारत मुख्यतः एउटा कथा प्रतित हुन्छ। तर, महाभारतकारले बारम्बार झक्झकाउँछन्– ‘यो कथा मात्र होइन है।’ यस्तो गर्ने क्रममा कविले एकसे एक आकर्षक चरित्र रचना गरेका छन्। शेक्सपियरका पात्रहरूले उनका साहित्यिक कृतिलाई अमर बनाएका छन्। देश–कालका सन्दर्भमा भन्ने हो महाभारतले शेक्सपियरलाई फिक्का पारेको छ।
त्यो यस्तै युग थियो। महाभारतका पात्रहरूका निमित्त पुनर्जन्म एउटा सत्य थियो। कल्पना थिएन। महाभारतका पात्रहरू अवतार वा पुनर्जन्मका वाहकका रूपमा क्रियाशील छन्। पुनर्जन्ममा विश्वास नराख्ने व्यक्तिले महाभारतको आनन्द उठाउन गाह्रो छ। यस्तो दृष्टिले ग्रीसका दुखान्तिका वा शेक्सपियरको नाटकमा पनि आनन्द पाउने छैन। बोक्सीहरूले म्याकवेथको दुखान्तिकाको सृजना गर्छन्। बाबुको भूतले ह्यामलेटलाई आत्मविनाशको बाटोमा लैजान्छ। पुनर्जन्म वा अन्य दैवीय हस्तक्षेपको कथाले महाभारतको काव्यार्थलाई घनीभूत बनाएको छ। आफूलाई इतिहास भन्ने यस कृतिले पौराणिक शैलीका माध्यमबाट सत्यको दिग्दर्शन गराएको छ।
महाभारतले आफूलाई पुराण भन्न चाहेको छैन। लोकगाथाले भरिएको महाभारतले पुराणभन्दा ज्यादा सघन रूपमा मानवीय स्वभाव चित्रण गरेको छ। परमेश्वर भनिएका कृष्ण पनि मुख्यतः मानिसका रूपमा महाभारतमा प्रकट हुन्छन्। तर, कृष्ण अलौकिक त छँदै छन्। कृष्ण एक मात्र अलौकिक छैनन्। महाभारतका अधिकांश प्रमुख पात्रहरूको जन्म र मृत्युको कथा अलौकिक छ। द्रोणाचार्यदेखि द्रौपदीसम्मको जन्मको कथा मानवीय छैन। ग्रीस र रोमका पूरा कथा पनि यस्तै छन्। ग्रीक सभ्यताको इतिहासको प्रारम्भ ट्रयकी हेलेनबाट हुन्छ। हेलेन देव–पुत्री थिइन्। तर, ती देवताले हेलेनकी मातालाई राजहंसका रूपमा गर्भवती बनाएका थिए। द्रौपदी अग्नि–कुण्डबाट जन्मिएकी थिइन्।
यताका दशकहरूमा आएर युरोपमा पुराकथा र लोकगाथाको अध्ययनको एउटा समृद्ध परम्परा प्रारम्भ भएको छ। प्रसिद्ध मनोवेता कार्ल जुंग र उनका शिष्यहरूले युरोपीय पुराकथाको समकालीन व्याख्या थालेका छन्। त्यस्तै अनेकन नृतत्व शास्त्रीले यस्ता विषयको महत्वको दिग्दर्शन गरेका छन्। युरोपहरूले असभ्य, असम्भव र निरर्थक भनिएका गाथाहरूमा जानकारहरूले नयाँ अर्थ भेटेका छन्। यस्तो खोजी र अर्थान्तरले मानव सभ्यताको अवधारणालाई अन्ततः नयाँ किसिमले परिभाषा गर्ने छ भनेर विश्वस्त हुन सकिन्छ।
हाम्रो पुस्ताको बाल्यकालमा महाभारत–रामायण कथा मनोरञ्जनको आश्रय थियो। अब त्यो रहेन। प्रसिद्ध समालोचक ईश्वर बरालकी माता भुवनेश्वरी बरालका मुखबाट मैले ऋषि जरत्कारु, ऋषि–पुत्र आस्तिक, घटोत्कच, बरबरिक र वव्रुवाहानका कथा सुने। आफैं पढ्ने भएपछि चक्रपाणी चालिसेको संक्षिप्त भारतसँग परिचय भयो। त्यति बेला गीता प्रेसको छ–खण्डको महाभारत भेटिएको थिएन। कदाचित् छापिएको पनि थिएन। मैले बाल्यकालमा सुनेका सबै कथा गीता प्रेसको बृहत महाभारतमा भेटिँदैन। यो बृहत महाभारत पढेर पनि साध्य रैनछ। एक त महाभारतको सर्वमान्य संस्करण छैन। दोस्रो महाभारतलाई मुद्रित र प्रकाशित कृतिले भन्दा लोकगाथाले महाभारत बनाएको छ। मुद्रित महाभारतमा नभएका तर लोकमा प्रचलित रहेका थुप्रा कथा छन्। त्यस्ता कथाले कृष्ण, कर्ण, भीम र द्रौपदीको व्यक्तित्वलाई अजर–अमर बनाएका छन्। प्रकाशित अक्षरको मोहमा हामीले ज्ञानको वाचिक परम्परालाई उपेक्षा गरेका छौं। यो हाम्रो सभ्यताको दुर्भाग्य हो।
...
छ महिनाअघिको कुरा हो। सेतापाटीका प्रधान–सम्पादक अमित ढकालको फोन आयो। उहाँले एकपटक भेट्ने इच्छा प्रकट गर्नुभयो। केही समयअघि नेपाल–भारत सम्बन्धलाई लिएर उहाँको लामो लेख सेतापाटीमा पढेको थिएँ। त्यस सिलसिलामा केही लेखौं–थपौं जस्तो लागेको थियो। तर, मेरो संकल्प कहिल्यै विकल्पहीन रहेन। सौभाग्यवश हाम्रो भेटमा मेरो त्यस विषयको लेखको कुरा चलेन। बरु अमितले भन्नुभयो– ‘महाभारतका बारेमा केही लेखिदिनु पर्यो।’
केही समयअघि मैले पोखराको साहित्यिक–चाडमा महाभारतबारे बोल्ने जमर्को गरेको थिएँ। निरज भारीको अनुरोधमा त्यो धृष्टता भएको थियो। अमित ढकालले युट्युबमा त्यो हेर्नु–सुन्नु भएको रहेछ। त्यसैले त्यस दिन जावलाखेलको दिवा भोजमा भन्नुभयो– ‘महाभारतका बारेमा लेखिदिनु पर्यो।’
तर, के लेख्ने? कसरी लेख्ने? कुन रूपमा लेख्ने? कति लेख्ने? यी सारा सवाल छन्। तिनको उत्तर दिने प्रयास नै नगरी केही लेख्न–लेखाउन थाल्दैछु। पहिले केही पात्रहरूको चिनारी ठिक होला। त्यसपछि केही विषयहरू। व्यक्ति र विषयवासनाका कथा रोचक हुन्छन् होला।
महाभारतकारका अनुसार विश्वामित्रले युवती माधवीलाई देखेपछि श्यामकर्ण घोडा बिर्सिएका थिए। शिष्य गालवलाई भनेका थिए — यत्रो घोडा किन चाहिएको थियो। बरु माधवीलाई नै उहिल्यै ल्याइदिनु पर्दैनथ्यो — ‘किमियं पूर्वमेवेह न दत्ता मम गालव !’ यस प्रवृत्तिले सामान्य पुरुषलाई अझै जितिरहेको छ। महाभारतको भीष्म भने असामान्य छन्। त्यसैले भीष्मबाट यो कथा शृखंला सुरु छ।
भीष्मको कथा भोलि मंगलबार प्रकाशन हुनेछ-सम्पादक