परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न । ती सबै चुनौतीलाई जितेर एक्लै सडक खन्न पनि तम्सिएका छन् । उनी हुन्, दाङको तुलसीपुर नगरपालिका–१ स्थित परेखोला निवासी ७२ वर्षीय वृद्ध चन्द्रवीर वली । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
शनिबार बिहानै घरमा पुग्दा वृद्ध वली आफ्नै सुरमा काम गरिरहेका थिए । कसैले बोलाउँदा अलमलिएर बात गर्ने समय पनि उनीसँग थिएन । एकोहोरो काममै व्यस्त देखिन्थे । हामीले नजिकै गएर आवाज दियौं, यसो हेर्दै फेरि काममै लागे । सामुन्नेमै पुगेर पहिला भेटघाट भएको सम्झाएपछि भने उनले ‘ए बाबु पो आउनुभाको’ भन्दै आफ्नो काममा ब्रेक लगाए । उनको शैली हेर्दा लाग्थ्यो, कामविना उनी बस्नै सक्दैनन् । सायद उनको त्यही शैलीको परिणाम थियो, एक वर्षमा एक्लै खनेको दुई किलोमिटर बाटो ।
सातजना परिवारका सदस्यमा एक मात्र आँखा देख्ने वलीले परिवारका सदस्यकै पीडा मेट्न दुई वर्षदेखि एक्लै गाउँको बाटो खनिरहेका छन् । उनको एक्लो मिहिनेतको फल गाउँले पाएको पनि छ, उनी एक्लैले दुई किलोमिटर बाटो गाडी गुड्नयोग्य बनाइछाडेका छन् । वृद्ध वलीको यो साहसिलो कथा प्रकाशित भएपछि सहयोगी मनहरूले वलीलाई पछ्याउन थालेका छन् । उनको साहसको कथाले मन छोएका लन्डन बस्दै आएका कृष्णप्रसाद शर्माले राप्रपा नेपालका केन्द्रीय सदस्य अञ्जना शाह रावलमार्फत उपलब्ध गराएको ३० हजार रुपैयाँ उपलब्ध गराउन वलीको आँगनमा पुग्दा उनमा बेग्लै जोस देखियो । सामान्य अभिवादनपछि रकम हस्तान्तरण गरेलगत्तै उनी एकाएक हौसिए ।
अनि अठोट गरे, प्राण रहँदासम्म बाटो खनिरहने । ‘मरेको भोलिपल्टको कुरा नगरम, नत्र बाँचुन्जेल बाटो खनिरहन्छु,’ पैसा गन्दै वलीले राजधानीसँग भने, ‘गरे सकिन्छ, म नमर्दासम्म यहाँसम्म जसरी भए पनि जिप त ल्याउँछु–ल्याउँछु ।’ उनले खनेको बाटो हुँदै अहिले उनको आँगनसम्म मोटरसाइकल पुग्ने भएको छ । दृष्टिविहीन श्रीमती र सन्तानका कारण खाना पकाउने, पानी ल्याउने, जुठा भाँडा सफा गर्ने, वस्तुभाउ चराउनेदेखि घाँसपातसम्मका सबै काम उनी एक्लै गर्दै आएका छन् । त्यसबाट पनि समय बचाएर उनले बाटो खन्दै आएका हुन् ।
स्थानीय रायपानी सामुदायिक वन समूहका अध्यक्ष कलीभान रोकाले आयोजना गरेको सामान्य कार्यक्रममा वृद्ध वलीलाई सहयोग रकम हस्तान्तरण गरिएपछि उनको अनुहारमा एकाएक चमक आएको थियो । उनको अनुहारमा खुसीको हाँसो छायो । अनि जोसिलो पारामा हौसिँदै भने, ‘घरको आँगनमा एकाबिहानै हजार÷हजारका नोट पाउँदा भगवान्ले पठाइदिएको जस्तो लागेको छ, पैसा दिने मान्छे मेरा लागि भगवान् नै हुन्, तर मैले पैसा पाउनका लागि चाहिँ बाटो खनेको होइन ।’ उनी एक्लैले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकको साततलेदेखि परेखोला हुँदै राम्रीको तल्लो भेगसम्म बाटो पु¥याएका छन् ।
एक मिटर चौडाइ बाटो खनेका वलीले अहिले त्यही बाटोलाई चौडा गर्ने र वर्षाको समयमा भत्किएका र जीर्ण भएका ठाउँमा पुनः मर्मत गर्ने कार्य गरिरहेका छन् । परिवारका सदस्यको पीडा मेट्नका लागि थालिएको यो कामलाई अहिले सबैले प्रशंसा गरिरहेका छन् । यसले वृद्ध शरीरमा पनि जोस भरिदिएको अनुभूति उनले गरेका छन् ।