संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ ।
यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यस वर्ष एमसिसीले स्कोरकार्डका लागि चयन गरेका ८२ देशमध्ये ३३ देश मात्र उत्तीर्ण हुन सफल भए भने ४९ देश अनुत्तीर्ण रहे । यस वर्ष नेपालले सरकारको प्रभावकारितासम्बन्धी सूचकमा अरु देशको तुलनामा राम्रो नतिजा ल्याउन नसके पनि नियमनकारी गुणस्तर सूचकमा भने सुधार गरेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसिसीको सञ्चालक समितिले नेपालको स्कोरकार्ड नतिजा र अन्य सान्दर्भिक सूचनाका आधारमा नेपाललाई फेरि चयन गर्नुपर्ने हुन्छ । एमसिसीले प्रस्तावित लगानी कार्यक्रम आफ्नो सञ्चालक समितिमा स्वीकृतिका लागि सन् २०१७ मा पेस गर्नेछ ।
एमसिसीको सहयोग प्राप्त गर्न कुनै पनि राष्ट्रले पहिले एमसिसीको स्कोरकार्ड उत्तीर्ण गर्नु पर्दछ । यो स्कोरकार्ड खुला रुपमा तेस्रो पक्षले देशको आर्थिक स्वतन्त्रता, नागरिकमा लगानी र न्यायपूर्ण राज्य सञ्चालनको नीतिमा गरेका २० विभिन्न सूचकका आधारमा निर्धारण गरिन्छ ।
एमसिसी आर्थिक विकासमार्फत विश्वव्यापी विपन्नताको न्यूनीकरणका लागि कार्यरत एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका कडा मापदण्ड पूरा गर्न छानिएका केही विकासोन्मुख देशलाई समय–सीमित अनुदान र सहायता प्रदान गर्दछ । रासस