दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ ।
यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास केन्द्रले सबैको ध्यानाकर्षण गराएको छ ।
केन्द्रका कार्यकारी निर्देशक शान्ताराम मुल्मीले पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने भएकाले त्यसले बच्चाको हड्डीको विकासमा असर पार्ने बताए।
उनले आज एक विज्ञप्ति जारी गर्दै पटाका र भूइँचम्पामा क्यान्सरको कारकतत्व हुने भएकाले यस्ता वस्तु बनाउन प्रयोग हुने रसायन तत्वबाट निस्कने सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक ब्रोङकाइटिस रोग लागी अकालमै मृत्यु हुने सम्भावना भएकाले मनोरञ्जनका नाममा यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरेका छन्।
केन्द्रले सरकारसँग यस्ता हानिकारक वस्तुको आयात, व्यापार र प्रयोग नगर्न, नगराउन सशक्त अनुगमन गर्न पनि आग्रह गरेको छ। रासस