स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार आयुक्त आफ्नो लोकमान सिंह कार्कीले पदीय मर्यादाभन्दा बाहिर गएर अनियममिता गरेको बताएका छन्। व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाभियोगबारे छलफलमा बोल्दै मन्त्री थापाले भने, ‘हामीले यस्ता गतिविधी गर्ने ठाउँ नै दिन हुन्नथ्यो। यसबारे संसदमा गम्भीर छलफल गर्नुपर्छ।’
उनले भने, ‘केही महिना अघि गोविन्द केसीले चिकित्साक्षेत्रको विकृति हटाउन अनसनमा थिए। अनसनका क्रममा त्यसका अतिरिक्त अख्तियार प्रमुखको कार्यक्षेत्र बाहिरको कार्यमा महाभियोग लगाउन माग गरेका थिए। तर उनले लगाएका प्रमाण र तथ्यका आधारमा यो प्रस्ताव छलफल सदनमा होस् भनि सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता हुँदा यहाँ प्रवेश पाएन।’
अचानक अहिले जुन प्रस्ताव आयो त्यसमा के थियो भन्ने आफूलाई जान्ने इच्छा नभएको बताउँदै मन्त्री थापाले भने, ‘केहीवर्ष अघि दलका नेताले गम्भीर गल्ती गरेका थिए। कार्कीलाई अख्तियार प्रमुख नियुक्त नगरौं भन्दा पनि नियुक्त गरियो। हामीले नेपालको राजनीतिमा कोसँग हारेको हो कोसँग नसकेको भन्ने कुरा नभनेसम्म यो स्थिति रहन्छ। हाम्रो यो स्वाभिमानको प्रश्न भएको कारण म यो प्रस्तावको पक्षमा छु।’
उनले नियुक्ती गलत भएपनि काम सही भएको भए सोच्न सकिन्थ्यो होला भन्दै अहिले अहिलेको महाभियोग प्रस्ताव पारित भएर जाने बताए। उनले थपे, ‘तर हामीले भोलि बनाउन खोजेको आयोग कस्तो हो? हामीमाथि भ्रष्टाचार मुक्त आयोगले मात्रै गर्न सक्छ कि हामी आफैंले पनि सच्याउन सक्छाैं? यतिका लामो समय संसद र हामी सांसद किन मौन बस्यौ? हामीले यो प्रस्ताव पारित गर्दा नेपालका राजनीतिक दल र संविधानले बनाउन खोजेको भ्रष्टाचार मुक्त समाजको चित्र यस्तो हो भन्न सक्नु पर्छ।’
यो प्रस्तावले संविधान संशोधनको विषय ओझेलमा नपर्ने उनले बताए।उनले भने, ‘यो प्रकरणले संविधान संसोधनको विषय ओझेलमा पर्छ भनेर नआत्तिए हुन्छ। यो प्रकरणले सायद हामीलाई एकपटक फेरि एकैठाउँमा आउन मद्धत गर्नेछ। सहकार्यको बाटो हुन सक्नेछ।’
उनले यसबारे सबै राजनीतिक दलले एकैठाउँमा बसेर निर्णय गर्न आवश्यक रहेको आग्रह गरे। यो राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले भने। ‘हामीलाई एकै ठाउँमा उभिने मौका दिएको छ। अख्तियार हाम्रो आवश्यकताको आधारमा बनाइएको हो, नयाँ सविधानमा पनि राखिएको छ। तर यो कस्तो बनाउने भन्ने निर्णय गर्ने ठाउँमा हामी छौं।’ अख्तियार प्रमखलाई महाअभियोग लाउन मिल्छ मिल्दैन, प्रमाण छ छैन भनेर खुला छलफल गर्न पनि उनले आग्रह गर्दै उनले भने, ‘हामी छलफल गर्न तयार छौ। सबैले एकैठाउँमा बसेर छलफल गरेर पारित गरौँ।’