पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रमा कल्भर्ट भत्किएको एक महिना बितिसक्दासमेत सम्बन्धित निकायले बनाउने चासो नदिँदा सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन्।
गत असोज ५ गते अविरल वर्षाका कारण बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्कियो। सडक विभागले तत्कालै जेसिबी लगाएर पुरपार पार्दै यातायातलाई कामचलाउ बनाए पनि भत्केकै अवस्थामा रहेको साँघुरो एकातर्फी ट्र्याकबाट सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य भएका हुन्।
मुलुककै एकमात्र राजमार्ग भएका कारण यहाँ यातायातको उच्च चाप छ। यस्तो जान्दाजान्दै पनि सरकारले भत्किएको कल्भर्टको ठाउँमा नयाँ पुल बनाउने ठोस योजना बितेको एक महिनामा बनाउन सकेको छैन। यस्तो महत्वपूर्ण राजमार्गमा भत्केको कल्भर्ट सरकारले एक हप्तामै बनाइसक्नुपर्ने मेची बस व्यवसायी सङ्घका सचिव राजेन्द्रले रिजालको भनाइ छ।
“राज्यका लागि जनताको हितभन्दा ठूलो अरु केही हुन सक्दैन”, रिजाल सरकारलाई प्रश्न गर्छन् – “एउटा कल्भर्ट बनाउने कुरा कुन ठूलो काम हो र?”
सरकारले बजेटको व्यवस्था मिलाउने हो भने सो स्थानमा नयाँ कल्भर्ट तीन महिनाभित्रै बनाउन सकिने झापाका अगुवा निर्माण व्यवसायी शेरबहादुर थापा बताउँछन्।
दमकस्थित डिभिजन सडक कार्यालयले सो स्थानमा बक्स कल्भर्ट निर्माणका लागि १० दिनअघि टेन्डर आह्वान गरेको छ। तर बजेट बिना नै टेन्डर खोलेका कारण योजना कार्यान्वयन हुनेमा शङ्का छ।
भर्खरै सरुवा हुनुभएका डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले एक करोड २४ लाखमा बक्स कल्भर्ट बनाउन टेन्डर आह्वान गरिएको जानकारी दिए। उनले आगामी जेठसम्ममा नयाँ कल्भर्टबाट गाडी गुडाइने दाबी पनि गरे। रासस