आजभोलि सामाजिक संजालको समुहमा एउटा एप्लिकेसन निकै लोकप्रिय हुँदै गइरहेको छः बिगो लाइभ। एप्पलको एप स्टोर र गुगलको प्लेस्टोर दुवैमा यो उपलब्ध छ। यो एक सामाजिक सञ्जाल हो जसमा फेसबुक, गुगल र ट्वीटर एकाउन्टबाट 'ज्वाइन' हुन सकिन्छ।
यो एप फेसबुक, ट्वीटरभन्दा भिन्न छ यसकारण की यसको मुख्य विशेषता भनेको यसमा भिडियो लाइभ गर्न सकिन्छ। फेसबुकमा पनि भिडियो लाइभ गर्न सकिन्छ तर फेसबुकमा गरेको लाइभ आफ्नो साथीहरुले मात्रै हेर्न सक्छन् भने यो एप्लिकेशनमा यसमा जोडिएका सबै प्रयोगकर्ताले हेर्न सक्छन्।
हाल अमेरीकाको बाक्लो शहर न्यूयोर्क बस्ने एक नेपाली युवती पनि एका बिहानै हट लाइभको पन्ध्रौं नम्बरबाट आफ्नो भिडियो लाइभ गर्न व्यस्त थिईन्। उनी केही बोलिरहेकी थिईन्, एकैछिनमा एक भारतीय मूलका व्यक्तिले कल गर्न 'रिक्वेस्ट' गरे। उनले कल गरिन्, उनीहरुबीच भएको कुराकानी विश्वभरीबाट यसका करिब ७ सय प्रयोगकर्ताले प्रत्यक्ष हेरिरहेका थिए।
'११.७ के' (११ हजार ७ सय) फ्यान बनाइसकेकी उनी सम्भवतः अहिलेसम्मको धेरै फ्यान बनाउने नेपाली हुनुपर्छ। यस्तै अमेरिकामै बस्दै आएका समिर श्रेष्ठ आफू यसमा नयाँ भएको तर नियमित चलाउँदै अएको बताउँछन्।
उनका अनुसार सामाजिक सञ्जालले विश्वलाई नजिक बनाएको छ। गलत तरिकाले प्रयोग गर्नेले दुरुपयोग गरे पनि यसका फाइदालाई चिन्न सकेर सही प्रयोग गर्न जानेमा खालि समयमा अल्छी भएर नकारात्मक कुरा सोच्नुभन्दा आफूलाई व्यस्त बनाइ राख्न यस्ता एप उपयोगी नै हुने श्रेष्ठको भनाइ छ। उनलाई यसमा सबैभन्दा बढी मनपरेको फिचर चाँहि लाइभ गरिरहेको समयमा 'भ्यूअर' कल रिक्वेस्ट गरेमा गर्न मिल्ने र दुबै तिरको भिडियो एकै साथ लाइभमा आउने हो। यसका साथै लाइभ गरिरहेको व्यक्तिको भिडियोमा 'भ्यूअर'ले सबैले देख्ने गरी लेख्न सक्नु हो। जथाभावी अनावश्यक रुपमा म्यासेज लेख्नेलाई नियत्रण गर्न 'म्युट फिचर' पनि यसमा छ।
विश्वव्यापीरुपमै 'भिओआइपि' सँग संबन्धित सेवा उपलब्ध गराउँदै आएको बिगो टेक्नोलोजी पिटी लिमिटेड सिङ्गापुरले यो एप्लिकेसन मार्च २०१६ मा लन्च गरेको थियो। लन्च हुँदाकै समयमा यो थाइल्याण्डमा 'पपुलर एप र्यांक' को एक नम्बरमा नै परेको कम्पनीको भनाइ छ। यसमा आफ्नो 'इन्ट्रेस्ट' हरु जस्तैः कुकिङ, फेसन, सिङ्गीङ लाइभ गर्न सकिन्छ। यस एपबाट लाइभ गरीरहेकै समयमा 'भ्यूअर'लाई भिडियो कल गर्न सकिन्छ र उक्त कल गरिएको भिडियो सबैले देख्न सक्छन्।
फेसबुक पेज ट्वीटरमा जस्तै यसमा फ्यानहरु बनाउन र अरुलाई फलोअप गर्न सकिन्छ। दुबै जनाले एक अर्कोलाई फ्लोअप गरेमा एकआपसमा प्राइभेट च्याट गर्न सकिन्छ। यसको अर्को रोचक पक्ष भनेको यसमा लाइभ गरेर 'इनकम' पनि गर्न सकिन्छ। उक्त 'इनकम'बाट लाइभ गर्ने साथीहरुलाई गिफ्ट पठाउन सकिन्छ।
यसमा गेममा जस्तै जति धेरै लाइभ गर्यो वा अरुको लाइभ हेर्यो त्यति नै आफ्नो 'लेभल' बढाउन सकिन्छ। यही सुविधाको कारणले गर्दा प्रयोगकर्ता यही एपमा लाइभ गरिरहन रुचाउँछन्।