नेपालमा अध्यागमनसम्बन्धी जिम्मेवारी निजामती कर्मचारीलाई दिइएको छ । तर, हराएका र चोरिएका पासपोर्टको विवरणमा भने अध्यामगन कर्मचारीको पहुँच नै छैन । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को डाटामा अध्यागमनको पहुँच नहुँदा अरूको पासपोर्ट प्रयोग गर्नेसमेत विमानस्थलबाट उम्किएपछि मात्र थाहा हुने गरेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
इन्टरपोलले हराएका तथा चोरिएका पासपोर्टको विवरण राख्छ । नेपाल प्रहरी पनि इन्टरपोलको सदस्य भएकाले उक्त डाटामा प्रहरीको पहुँच छ । तर, आफूहरूको त्यसमा पहुँच नहुँदा समस्या भएको भन्दै अध्यागमन विभागका अधिकारीहरूले गृह मन्त्रालयमा गुनासो गरेका छन् ।
नेपालमा भने प्रहरी प्रधान कार्यालयको एक टोलीले त्यससम्बन्धी विवरण भिडाउने गरेको छ । तर, प्रहरीको उक्त टिम सधैँ विमानस्थलमा नहुने तथा डाटा सर्च गर्दा लामो समय लाग्ने भएकाले त्यसवेलासम्म यात्रुहरू विमानस्थलबाट बाहिरिसक्ने अध्यागमनका अधिकारीहरूको भनाइ छ । ‘इन्टरपोलको डाटामा पहुँच नहुँदा काम गर्न केही अप्ठेरो छ,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने भन्छन्, ‘यस विषयमा छलफल भइरहेको छ ।’
नेपाल प्रहरी मात्र नभई अध्यागमन पनि इन्टरपोलको सदस्य हुनुपर्ने अध्यागमन कर्मचारीहरू बताउँछन् । ‘नेपाल प्रहरी अन्तर्राष्ट्रिय प्रहरी र हामीचाहिँ आन्तरिक पर्यटक जस्तो भएका छौँ,’ विभागका एक अधिकारी भन्छन्, ‘इन्टरपोलसँग हाम्रो अहिलेसम्म कुनै सम्बन्ध बनेको छैन ।’ स्रोतका अनुसार विभागका अधिकारीहरूले गृह मन्त्रालय र प्रहरीसँग यस विषयमा पटक–पटक कुरा गरे पनि अध्यागमले उक्त डाटामा पहुँच पाएको छैन । नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल भने प्रहरीले इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको बताउँछन् । इन्टरपोलको एएलटिडी डाटाबेसमा करिब ६ अर्ब विवरण छन् । सोही डाटाका आधारमा हालसम्म एक लाख १५ हजार व्यक्ति विभिन्न देशमा पक्राउ परिसकेका छन् ।
इन्टरपोलले एसएलडिसी (स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट) डाटाबेस बनाएर त्यसमा माइन्ड (मोबाइल इन्टरपोल डाटाबेस सिस्टम) डिभाइसमार्फत विश्वभरि पहुँच दिँदै आएको छ । फर्जी पासपोर्ट तथा भिसाको प्रयोग नियन्त्रण गरी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी इन्टरपोलले यस्तो डाटाबेस बनाएको हो । जसमा नेपाललगायत विश्वका सबै देशका हराएका तथा चोरीका पासपोर्टको विवरण राखिएको छ । विश्वका सबै देशको एयरपोर्टमा उक्त डाटामा यात्रुहरूको विवरण भिडाउने गरिन्छ । जसबाट सजिलै अरूको पासपोर्ट प्रयोग गर्नेहरू पत्ता लाग्छन् ।
१ लाख ३० हजार नेपाली पासपोर्ट इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा
एक लाख ३० हजार नेपालीको पासपोर्ट इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राखिएको छ । ती पासपोर्ट प्रयोग गरेमा जुनसुकै देशमा उनीहरू पक्राउ पर्छन् । राहदानी विभागको विवरणका आधारमा नेपाल प्रहरीले एक लाख ३० हजार पासपोर्ट ‘ब्ल्याक लिस्ट’मा राखेको हो । नेपालमा हराएकाभन्दा वैदेशिक रोजगारीका लागि मेनपावरमा बुझाइएका पासपोर्टहरू खरिद–बिक्री हुने गरेको छ । नेपाली पासपोर्ट भारतीय र बंगलादेशीले समेत प्रयोग गरेको नेपाल प्रहरीको अनुसन्धानबाट खुलिसकेको छ । पछिल्लो समय अनिवार्य रूपमा मेसिन रेडेबल पासपोर्ट बनाउन थालेपछि पासपोर्टको खरिदबिक्री कम भएको प्रहरीले जनाएको छ ।