नेपालमा हिन्दी भाषा बुझ्ने जनसंख्या दिन प्रतिदिन बढ्दो छ। हिन्दी गीत, संगीत, टेलिभिजन कार्यक्रम र चलचित्रले हिन्दी भाषाको ज्ञान नेपालीलाई दिइरहेको छन्। यो भाषालाई भारतसँग जोडेर नहेरौं। एकछिन यसलाई एउटा भाषाको रुपमा मात्र हेरौं र यस भाषाका सर्जकले यसको सम्बृद्धिमा गरेको योगदान सम्झौं। चलचित्र र गीत संगीतले थपेको भाषीक सम्बृद्धिलाई हेरौं। त्यही गीत संगीतमा पाहुना भइ आएका तर पछि गएर स्थापित भएका उर्दु शब्दलाई सम्झौं। बलिउड संसारको सबैभन्दा ठूलो मनोरञ्जन उद्योगमध्ये एक हो।
संसारको धेरै ठाउँमा हिन्दी चलचित्र हेरिन्छ। विदेशमा बस्ने नेपालीले पनि हेर्छन्। यतिसम्म कि नेपाली मूलका विदेशी केटाकेटी पनि आफ्नो बाबु आमासँग बसेर हिन्दी चलचित्र हेर्दाहेर्दै सामान्य हिन्दी बोल्न र बुझ्न सक्ने भइसकेका हुन्छन्। तसर्थ अघि उल्लेख गरिएझैँ हिन्दी जान्ने र बुझ्ने नेपालीको संख्या हरेक दिन बढ्दो छ। सुदूर र मध्य पश्चिमका जिल्लामा अझै पनि रोजगारीको प्रमुख गन्तब्य भारत नै हो। भारतमा जति नै दुःख मजदुरी गर्नु परे पनि धेरै गरिब पहाडी बस्तीमा लत्ताकपडा र खानाको प्रमुख श्रोत भनेको उतै गई आर्जन गरेको आम्दानी हो। आफूसँग फर्कँदा धेर थोर भाषाको ज्ञान लिएर उनीहरु पनि आउने गर्छन्।
भारत संसारको उदीयमान देश हो। यसमा दुई मत नहोला। हिन्दी भाषाको ज्ञानले हामीलाई फाइदा नै गर्ला तर हानी भने अवश्य पुर्याउँदैन। हिन्दी भाषाप्रतिको पूर्वाग्रहलाई यस अर्थमा हामीले छोड्नु पर्छ। यसलाई भारतसँग र उसको नेपाल नीतिसँग नजोडी एउटा भाषाको रुपमा मात्र हेर्नु पर्छ। र यस भाषाले गरेको प्रगतिबाट शिक्षा लिनु उचित हुन्छ। यति भन्दाभन्दै राजनीतिक वृतमा हिन्दीले राष्ट्रिय भाषाको मान्यता पाउनु पर्छ भन्ने राजनीतिज्ञलाई मेरो विनम्र अनुरोध के छ भने हिन्दी भाषाको पीर हामीले गरिरहनु पर्दैन।
राष्ट्रिय भाषाको मान्यता यस भाषाले पाउँदा औपचारिक मान्यता त पाउँला र अनौपचारिक रुपमा यो हाम्रो दैनिक जीवनमा राम्रै प्रवेश पाएको भाषा भइसकेको छ। भोलिको दिनमा यसले अझ छिटो गतिमा चलचित्र र गीत संगीतमार्फत् आफूलाई चिनाउँदै जानेछ र नजान्नेलाई पनि सिकाउँदै जानेछ। यो छेकेर छेक्न सकिने कुरा भएन। यसमा नेपाली जनता दुःखीभन्दा खुशी नै हुनेछन् किनकि जति धेरै भाषाको ज्ञान भयो त्यति नै राम्रो हो। विभिन्न अध्ययनले पनि एकभन्दा बढी भाषा बोल्ने र जान्ने व्यक्तिको दिमाग तेज हुने गरेको पुष्टि भइसकेको छ। चिन्ता त बरु तपार्इँहरुले आफू स्वयम्ले बोल्ने भाषाको लिनुभएको भए सबैको मन छुन्थ्यो। उक्त भाषाको श्रीवृद्धिमा मैले के योगदान गरेको छु भन्ने ख्याल गर्नुभएको भए तपाईँ सद्भावको पात्र बन्नुहुन्थ्यो।
प्रसंग केही महिना अघिको जनकपुरधामको बसाइको हो। कामको शीलशीलामा जनकपुर उपमहानगरपालिकामा रहेका विभिन्न सरकारी कार्यालयको सार्वजनिक सेवा प्रवाहबारे जान्ने र बुझ्ने मौका मिलेको थियो। जनकपुरमा बिताएको २ महिनाले वास्तविक मधेसको आकांक्षा तथा अवस्थाबारे बुझ्ने अवसर मिल्यो। मधेशको वास्तविक समस्याहरु के के हुन्। के के समस्या बाहिर आउँछन् , के के आउँदैनन् वा तिनलाई रुप फेरर कसरी प्रस्तुत गरिन्छ भन्ने बारेमा राम्रो जानकारी पनि भयो। त्यो भन्दा ठूलो ज्ञान भाषिक अवस्थाको बारेमा भयो।
हरेक दिन भेटिने सेवाग्राहीले बोल्ने मैथली अलिअलि बुझे पनि बोल्न भने आएन। सोचें २ महिना बसुञ्जेल मैथली पनि सिकिहालौँ। जुन ठाउँ पुग्यो त्यो ठाउँमा प्रचलित भाषा सिक्नु ठूलो कला पनि हो। यसले तत्कालको लागि मात्र नभई कालान्तरमा पनि मलाई फाइदा नै गर्छ। भोलि यही ठाउँमा आएर काम गर्नु परेको अवस्थामा अझ सहज हुन्छ।
मधेससँगको पहिलो साक्षात्कार केटाकेटी हुँदा नेपाल टेलिभिजनमा आउने विभिन्न भाषा भाषीको टेलिचलचित्र नै भए मेरा लागि। बुवासँग काठमाडौंभित्रैको पशुपति, गोकर्ण, बौद्ध, गुह्येश्वरी घुमेको बाहेक स्कुले अवस्थामा अरु ठाउँ घुमेर ती ठाउँको बारे जान्ने बुझ्ने अनुभव लिएको अनुभव थिएन। रमाइलो लाग्थ्यो ती टेलिचलचित्र हेर्दा। फरक भाषा, फरक परिवेश र रहनसहन झल्काइएका हुन्थे तिनमा। ती टेलिचलचित्र मैथली, भोजपुरी र अवधी लगायतका भाषामा परिवेश अनुसारको कथामा प्रसारण हुन्थे। रमाइलो मानेर हेर्थेँ सबै समुदायको फरक फरक कथा। तर अहिले नेपाल टेलिभिजनमा प्रसारण भएजस्तो लाग्दैन।
धेरै पटक तराई देखिसकेको, भागिसकेको भए पनि ती टेलिचलचित्रको स्मृति हरेकपटक मधेस जाँदा आउँथ्यो। ती टेलिचलचित्रको राम्रो पक्ष भनेको कथाका पात्र मातृभाषामा बोल्दै जाँदा तिनले के भनेका हुन् भनेर तलल सबटाइटल आउँथ्यो। मलाई जनकपुर बसाइमा यदाकदा मैथली भाषीसँग बोल्दा त्यसैगरी उल्था गरिदिने माध्यम केही भए हुन्थ्यो भनेझैँ लाग्थ्यो। बुढापाका सेवाग्राहीका धेरै कुरा सुन्नु थियो। उनीहरु एकोहोरो आफ्नो कुरा गरिरहन्थे। म उनीहरुका हरेक वाक्यको केही शब्द बाहेक बाँकी कुरा बुझ्दिन थिएँ। हिन्दी जान्थें म तर उनीहरु त्यो पनि बुझ्दैनथे।
पढेलेखेका सबैले नेपाली राम्रोसँग बोल्थे। उनीहरुसँग संवाद गर्नलाई खासै समस्या भएन। यसो आग्रह गर्दा एक दुई मैथली वाक्य सिकाइ पनि दिन्थे। तिनलाई मोबाइलको नोट प्याडमा टिपेर रट्न कोशिश गर्थें। मैथली सिक्नुको अर्को लालसा भनेको काठमाडौं फर्केर मेरा मधेसका साथीसँग मैथलीमा फरर कुरा गर्नु पनि थियो। उनीहरुलाई सुनाउनु थियो म पनि उनीहरुको भाषामा जान्ने भइसकेको कुरा। त्यसका लागि भरपुर प्रयत्न पनि गरें। प्राथमिक तहसम्म मातृभाषामा पढाइ हुने नेपाल सरकारको नीति अनुसार प्राथमिक तहसम्मको लागि मैथलीमा किताब किन्न पाइएला भन्ने लाग्यो। केटाकेटीको लागि निकालिएको किताब सरल होला र त्यसैबाट आधारभुत तहको मैथली त कसो नसिकौंला भन्ने थियो। बाँकी त म त्यहाँ बस्दाबस्दै समुदायसँग हुने अन्तर्कियाबाट सिकिहाल्छु नि भन्ने भयो।
अत ः पाँच कक्षासम्म पढाइ हुने मैथली भाषाको पाठ्यक्रम खोज्न थालें। यो खोज नागको टाउकोको मणि खोजेको जस्तो यति जटिल होला भन्ने लागेको थिएन। हरेक पुस्तक पसलमा खोजें। सोधखोज गर्दा फलानो पुस्तक पसलमा पाइन्छ होला भनेको स्टेशन रोडदेखि विद्यापति चोकसम्म र देखिएका भेटिएका पुस्तक पसल सबैतिर चहारें। मसँगै गएका साथीहरुले नि खुब मद्धत गरे। उनीहरुले भेटेकासँग सोधेर जानकारी पनि ल्याइदिन्थे। तर ती जानकारीमा “फलानो ठाउँमा पाइन्छ होला” मात्र भनिन्थ्यो, किटेर कसैले जानकारी दिन सक्दैन थिए। पुस्तक पसल देख्नेबित्तिकै स्कुले केटाकेटीका लागि निकालिएको मैथलीमा किताब छ भनि सोध्थें तर कतै पाइँदैनथ्यो। जनकपुरमा धेरै नै अंगे्रजी माध्यमका स्कुल खुलेको देखियो।
रेमिट्यान्स र शिक्षाप्रतिको लगावले गर्दा अभिभावकहरु जसरी भए पनि आफ्ना बालबालिकालाई शिक्षाको राम्रो अवसर दिनप्रति लालयित देखिन्थे। यतिसम्म कि टाढाटाढाबाट जनकपुर आएर कोठा भाडामा लिइ बालबच्चा बोर्डिङ पढाउन बसेका आमाहरु थुप्रै भेटिए। मधेशमा सुषुप्त रुपमा यस्ता रचनात्मक क्रान्ति (शिक्षालाई लिएर) भएको देख्दा मन हर्षले गदगद भयो। तर ती स्कुलहरुले पनि बालबालिकालाई मैथली नपढाउने रहेछन्। एउटा कक्षा स्थानीय भाषाको राख्दा के बिग्रिन्थ्यो र। बरु मैथली नबोल्ने समुदायबाट आएका अरु बालबालिकाले पनि लेख्न बोल्न सिक्थे। मैथली राम्रैसँग बोल्ने मैथलीभाषी समुदायका बालबालिकालाई नि भाषाको लेख्य कथ्य दुबै पक्षको ज्ञान हुन्थ्यो, राम्रै हुन्थ्यो।
एकदिन भेटिएको एक पुस्तक पसलेले एउटा मैले खोजेको जस्तो पुस्तक काठमाडौंमा मात्र पाइने, जनकपुरमा नपाइने कुरा गरे। म अत्यन्त निराश भएँ। मलाई मैथली सिकाउने पुस्तक मिथिलाको मुटुमा नपाउनु कस्तो बिडम्बना होला जस्तो लाग्यो। त्यसपछिको मेरो खोज मैथली भाषामा लेखिएको अन्य पुस्तकको रह्यो। कुनै सरल मैथली भाषामा लेखिएको पुस्तक पाइएला र पढुँला अनि केही न केही त सिकौँला भन्ने लागेको थियो तर त्यो पनि पाइएन। एकदिन मेरा एक जनकपुरकै साथीले भारतबाट प्रकाशित मैथली भाषाको उपन्यास दिए जुन मैले केही पनि बुझिनँ। सामान्य बोलचाल सिकाउनको लागि किताबमार्फत् भाषिक सहायता खोजिरहेको अवस्थामा त्यो किताब बाँदरको पुुच्छर लौरो न हतियार भयो। सीता माताको जन्मभूमिमा र जनक राजाको राजधानी, मिथिला सभ्यताको मुटुमा मैथलीमा लेखिएको किताब पाउन मुस्किल मात्र होइन असम्भव जस्तो नै भयो।
अमेरिका बस्दा मार्केटिङको लागि आउने फोनले पनि अंग्रेजी सिक्न मद्धत गरेको सम्झें। उनीहरु पनि आफ्नो कुरा फोनमा राम्रोसँग सुनेको र त्यसबारे प्रश्न गरेको देखेर खुब खुसी हुन्थे। उनीहरुलाई कोही राम्रोसँग बोल्ने मान्छे पाउँदा खुसी नलाग्ने कुरै भएन किनकि त्यस्ता फोन कलबाट आजित भएकाहरु बेस्सरी झपारेर धेरैजसो अवस्थामा मुखै छोडेर फोन राख्थे। मैले भने त्यसमा अंग्रेजी सिक्ने ठूलो अवसर देखेको थिएँ। र मेरो लागि अंग्रेजी भाषीसँग अंग्रेजी अभ्यास गर्ने राम्रो माध्यम पनि बन्यो।
मलाई त्यसले फाइदै पनि गर्यो। जनकपूरमा त्यो सम्भावना त थिएन तर उक्त कुराले मलाई झल्यास्स स्थानीय एफएम रेडियोको सम्झना गरायो। रेडियो सुन्न थालें। एउटा प्रत्यक्ष कार्यक्रममा त फोन नै लगाए र प्रस्तोतालाई भने म मैथली सिक्न खोज्दै छु कुनै दोभाषे (मैथली र नेपाली) किताब पाइन्छ कि भनेर सोधें। उनलाई पनि त्यसबारे ज्ञान थिएन सायद, मलाई नियमित रेडियो सुन्न र उनीसँग कुरा गर्न सल्लाह दिए। सल्लाह त ठीक हो तर त्यसलको लागि पनि आधारभूत भाषिक ज्ञान त चाहिन्थ्यो नभए कसरी मानिसको कुराकानी बुझ्न सक्नु। अब भएन काठमाडौं गएको बेला नेपाली–मैथली, मैथली–हिन्दी वा मैथली–अंग्रेजी शब्दकोश किन्ने सोच बनाएँ। तर २÷४ वटा नामुद पुस्तक पसल र प्रकाशन छिचोल्दा पनि नभेटेपछि मैले अरुतिर खोजिनँ र फेरि जनकपुर फर्किएँ।
जनकपुर बसाइमा अचम्म लागको कुराचाँहि के भने पहाडबाट झरेर जनकपुर बस्दै आएको समुदाय मैथली पनि गजब्बै राम्रो बोल्थे भने यसो झट्ट हेर्दा उनीहरु पहाडबाट आएका हुन् भन्ने मेसो पाउन कतैबाट पनि सम्भव थिएन। हावापानी अनुसारको लवाइखवाई र स्थानीय समुदायसँगको उठबसले त्यति धेरै फरक पार्छ भन्ने कुराको हेक्का मलाई योभन्दा पहिले कहिल्यै भएको थिएन। त्यसैगरी जनकपुर लामो समय बस्दै आएका सरकारी कर्मचारी पनि राम्रोसँग मैथली बोल्थे। जनतासँग बोल्दाबोल्दै सिकेको अनुभव उनीहरुको थियो। मलाई पनि “किन आत्तिनु हुन्छ, यहाँ बस्दै जानु, दुई महिनामै सिकिन्छ किन चाहियो किताब भन्थे।” म मक्खचाँहि पर्थें तर पत्याउँदिन थिएँ र वास्तवमा त्यसो भएन पनि। मलाई लाग्थ्यो कम्तिमा सबै सरकारी कर्मचारीलाई जिल्ला गएको शुरुदेखि नै भाषा अनिवार्य सिक्नु पर्ने भएदेखि कामकाजी भाषा नेपाली नै भए पनि स्थानीय भाषाको ज्ञानले सेवा लिन आउने जनतासँग सामीप्यता कायम गर्न मद्धत गथ्र्यो र यसले दुई चार जनालाई भए पनि रोजगारीको अवसर प्रदान गथ्र्यो। यसतर्फ सम्बन्धित पक्षको ध्यान ढिलो चाँडो जानु पर्दछ।
यसैगरी जनकपुर उपमहानगरपालिकाका एक मैथली भाषी कर्मचारीसँगको भलाकुसारीले त म छाँगाबाट खसेजस्तो भएँ। उनले भने– शुद्ध मैथली भाषा सुन्न त सीतामणि (जनकपुरसँग जोडिएको भारतको जिल्ला) जानुपर्छ। सीतामणिका मान्छेले बोलेको एकदम मीठो मैथली हुन्छ। हामी शुद्ध बोल्न जान्दैनौं। हामी पनि उनीहरुले बोलेको सबै बुझ्दैनौं। हाम्रो भाषामा सबै (नेपाली, हिन्दी, ठेठी शब्द) मिसिएको छ।
म भाषाप्रति लगाव राख्ने भए पनि भाषा विधिबारे ज्ञान राख्ने मान्छे त होइन। तर मेरो सीमित ज्ञानले के भन्छ भने भाषा शुद्ध नहुनु भनेको लेख्य भाषाको ज्ञान नहुनु हो। हरेक भाषाको कथ्य र लेख्य पक्ष हुन्छ। बोल्ने र लेख्नेबीच निकै फरक हुन्छ। बोल्ने भाषा छिटो छिटो परिवर्तन हुन्छ। लिखित भाषाको ज्ञान नहुँदा मातृभाषीले भाषा बोलिरहेका त हुन्छन् तर त्यो अर्धजीवित अवस्थामा हुन्छ।
यस प्रसंगले मलाई के महशुस भयो भने भाषाको श्रीवृद्धि गर्ने प्रमुख दायित्व मातृभाषी र उनीहरुको समुदाय स्वयम्को हो। भाषालाई टेवा र पश्रय दिने काम भने राज्यको हो। अझ ठूलो जनसंख्या भएको भाषिक समुदायले भाषा बचाउमा लाग्नु पर्छ र त्यसो गर्न झन् सहज र सम्भव पनि छ। नेपाल भाषा बोल्ने नेवार समुदायले यो सम्भव छ भनि पुष्टि गरी उदाहरण बनेका छन्। हाम्रो राज्यले कुनै पनि भाषा बोल्न, पढ्न र लेख्न बन्देज गरेको छ्रैन। भाषाको सम्बद्र्धन हुने काम गर्न प्रोत्साहन नै गरेको छ। कुनै भाषा बोल्ने समुदाय भएकै आधारमा विभेद गरेको पनि छैन। कुनै भाषाप्रति लक्षित असहिष्णुता समाज र राज्य दुबैले देखाएको छैन। त्यसैले त यति सानो देशमा पनि यति ठूलो भाषिक सहिष्णुता छ। कुनै भाषा अघि कुनै पछि भएका होलान् तर कुनै पनि भाषाप्रति पूर्वाग्रह भने पाइँदैन। हरेक कुराको नकारात्मक पाटो मात्र देख्ने फेशन चलेको सन्दर्भमा यी कुरा सही नलाग्लान् तर सत्य के हो भने समाज र राज्यले आफ्नो भाषामा बाँच्न, रमाउने भाषिक स्वतन्त्रता सबैलाई दिएको छ। बरु राज्य वा सरकारले गोरखापत्र र रेडियो लगायत सरकारी आम सञ्चारमार्फत् भाषाको जगेर्नामा योगदान दिएको छ।
जनकपुरको बसाइपछि रेडियो नेपालको मैथली भाषामा आउने समाचार र कार्यक्रम र गोरखापत्रमा आउने मैथली समाचार ठूलै कुरा हुन् भन्ने लाग्यो। तर रेडियो नेपाल र गोरखापत्रले बचाएर कुनै भाषा धनी बन्दैन। यसको लागि त प्रमुख प्रयास भनेको उक्त भाषा बोल्ने समुदायकै हुन्छ। राज्यले त त्यसलाई हुर्कने, मौलाउने मौका दिने हो। भाषाको जगेर्ना श्रीवृद्धि गर्ने वातावरण तयार गरिदिने हो। त्यसैले नेताज्यू हिन्दीजस्तो शक्तिशाली रुपमा फैलिएको भाषाभन्दा आफ्नै देशभित्रको भाषा बचाउनतिर ध्यान दिने पो हो कि ? र यसतर्फ तपाईँको आफ्नो व्यक्तिगत योगदान, तपाईँले नेतृत्व लिनुभएको समुदायको सामूहिक योगदान, तपाईँले लिनुभएको नीति के कस्ता छन् जाँचेर परिमार्जन नगरे ढिलो पो हुने हो कि? पहिले आफ्नै घरभित्र धेरै जनसंख्याले बोल्ने भाषाको सम्पन्नता र जगेर्नातिर ध्यान दिने पो हो कि? आफ्नै भाषाहरुलाई मर्न कसरी नदिनेतिर पीर लिने पो हो कि? आफ्नो मातृभाषालाई माया गर्दै अरुले बोल्ने भाषाप्रति सहिसुष्ण भएको भावी पुस्ता तयार गर्ने कसरी भन्नेतिर पो लाग्ने हो कि?