काठमाडौंको तारकेश्वर नगरपालिकाका स्थानीयले काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापालाई प्रश्नै प्रश्न सोधेर हैरान बनाए। नेपालटारमा भएको कार्यक्रममा स्थानीयले पछिल्लो समय काठमाडौं प्रहरीले गरेको कामकाजका बारेमा जिज्ञाशा राखे।
स्थानीय ऋषि पौडेलले प्रहरी पार्टी र नेताको भएको भन्दै आक्रोश पोखे। उनले नेताका फोनका भरमा प्रहरीले अपराधि छोड्ने गरेको भन्दै प्रहरीको तिव्र आलोचना गरे।
'प्रहरीले अपराधि समाउँछ, नेताका फोन जाने वित्तिकै प्रहरीले छाड्दिन्छ,' पौडेलले भने 'प्रहरी पैसामा विक्दै गएको हामीले देखेका छौं।'
प्रहरी पछिल्लो समय जनताको नभई राजनीतिक दलको हतियार बन्न पुगेको उनले बताए। तारकेश्वर ५ का निर्मल लामा, पुष्पा मैनाली, रोशनकुमार कार्की, नारदमणि गौतम लगायतकाले प्रहरीले गर्दै आएका काम कारबाही र जनतामा परिरहेका समस्यामा बारेमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए।
जवाफमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले प्रहरी दलको र तिनका नेताको नभएको दाबी गरे । 'हामी जनताका हौं,' उनले भने 'दल भन्दा पनि सरकारले जे गर भन्छ हामी त्यही गर्छौ।'
एक दुई प्रहरीले संगठनको बदनाम गर्दैमा पुरै संगठन 'खत्तम' भयो भन्न नहुने उनले बताए। संगठनमा ७५ हजार प्रहरी छौं, सबै एकै प्रकारका छैनन्, उनले भने 'बदमासी गर्नेलाई छाडेका पनि छैनौं
पहिलेको भन्दा अहिले प्रहरी संगठन निकै सुध्रिएको उनले दाबी गरे।
'प्रहरी पारदर्शी छ' उनले भने, 'पहिला पहिला दसैंमा काठमाडौं प्रमुखलाई खसी बोका दिन आउनेहरुको लामो लाइन हुन्थ्यो, अहिले हामीले एक वटा पनि लिने गरेका छैनौं, यसलाई हामीले बन्द नै गरेका छौं।'
कार्यक्रममा एसएसपी थापालाई जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै स्थानीयले अभिनन्दन समेत गरे।