पार्टी भित्रको आन्तरिक गुटको विवादको कारण एमाले रुपन्देहीको आसन्न अधिवेशनमा मनोनित गर्नु पर्ने प्रतिनिधि सदस्यको टुंगो लाग्न सकेको छैन। एमालेको आठौं जिल्ला अधिवेशन शनिबारदेखि भैरहवामा सुरु हुँदैछ।
अधिवेशनको लागि जिल्लाका सबै नगरपालिका तथा गाविसबाट ८ सय ८१ जना प्रतिनिधि निर्वाचित भए पनि निर्वाचित संख्याको पाँच प्रतिशत प्रतिनिधि जिल्ला कमिटीको बैठकबाट मनोनित गर्नु पर्ने हुन्छ। तर अधिवेशन तयारीसँगै प्रतिनिधि मनोनितको लागि बुधबार बसेको बैठकमा दुबै गुटबीच संख्या भागबण्डामा कुरा नमिलेपछि प्रतिनिधि मनोनित नगरी बैठक स्थगीत भएको बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।
सबै क्षेत्रबाट निर्वाचित ८ सय ८१ जनाको पाँच प्रतिशतको दरले ४५ जना प्रतिनिधि मनोनित गर्नु पर्ने भए पनि दुबै गुटकाले आफ्ना पक्षका प्रतिनिधि पार्न खोजेपछि मनोनित गर्ने कार्य रोकिएको उनले बताए।
प्रतिनिधि चयनमा छुट भएका र क्षेत्रीय इन्चार्जले गरेको सिफारिसमा परेका सदस्यलाई उनीहरूले पार्टीमा गरेको योगदानको आधारमा जिल्ला कमिटीको पूर्ण बैठकले मनोनित गर्ने गर्दछ।
तर अध्यक्ष भोजप्रसाद श्रेष्ठले बैठकको सुरुमै धेरै आफ्ना पक्षका सदस्य मागेपछि विवाद उत्पन्न भएको ती सदस्यले बताए। ‘दुवै पक्षलाई समेटेर अधिवेशनमा जानु पर्नेमा अध्यक्ष स्वयंले नै गुटको नाममा संख्याको भागवण्डा गर्न खोज्दा अधिवेशनमा नेतृत्व छान्न पाउने अवसरबाट ४५ जना प्रतिनिधि वञ्चित भएका छन्’, उनले भने। श्रेष्ठ एमालेभित्र माधव नेपाल पक्ष मानिन्छन्।
एमाले जिल्ला अध्यक्ष श्रेष्ठले भागवण्डाका कारण मनोनित नगरिएको भन्ने कुरा निराधार रहेको भन्दै मनोनयनका लागि प्रक्रियामा रहेको जानकारी दिए। ‘प्रतिनिधि मनोनित गर्न पनि सकिन्छ नगर्न पनि सकिन्छ विधानमा मनोनित गर्नुपर्ने व्यवस्था छैन गर्नै परे पनि अधिवेशनको लागि हलभित्र प्रवेश गरेपछि समेत मनोनित गर्न सकिन्छ’, उनले भने।
आठौं अधिवेशनबाट नेतृत्व लिनका लागि वर्तमान उपाध्यक्ष शिव सुवेदी र सचिवालय सदस्य पुरुषोत्तम घिमिरेको प्रचार नै शुरु गरिएको छ। यद्यपि नेताहरुले विगतका अधिवेशनमा जस्तै सहमितबाटै नेतृत्व चयन गर्ने बताउँदै आएका छन्।
संस्थापन पक्षका मानिने सुवेदी प्यानलमा उपाध्यक्षमा तुल्सी चौधरी छन् भने माधव नेपाल पक्ष मानिने घिमिरे प्यानलको उपाध्यक्षमा राजु गुरुङको नाम चर्चामा छ। त्यस्तै सचिव पदका आकांक्षीहरु धेरै देखिएका छन् । संस्थापन पक्षबाट सचिवमा तेजेन्द्र केसी, राजेन्द्र पन्थी र सुरेन्द्र बर्माको नाम चर्चामा आएको छ भने अर्काे पक्षबाट बासुदेव घिमिरे र सिद्धिचरण भट्टराईको नाम चर्चामा छ।
शनिबारदेखि सोमबारसम्म चल्ने अधिवेशनले आगामी कार्यकालको लागि ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।