भारतका पूर्व बिस्फोटक प्रारम्भिक ब्याट्सम्यान वीरेन्द्र सेहवाग बिहीबार ३८ वर्षमा प्रवेश गरेका छन्। सन् २०११ मा भारतले विश्वकप जित्दा टोलीको प्रमुख सदस्य रहेका सेहवागको नाममा थुप्रै अन्तर्राष्ट्रिय कीर्तिमान छ। उनी अहिले ट्वीटरमा निकै सक्रिय छन्। आफ्नो चोटिलो अन्दाजले कमेन्ट्री गर्ने यी पूर्वस्टार ब्याट्सम्यानले आफ्नो खेल जीवनमा बनाएको केही अनौठो कीर्तिमान यस प्रकार रहेको छ।
१. वीरेन्द्र सेहवाग टेस्ट क्रिकेटमा दुईवटा तेहरो सतक (३०९ र ३१९) बनाउने एक्लो भारतीय ब्याट्सम्यान हुन्।
२. उनले एकदिवसीयमा दोहोरो सतक (२१९) पनि बनाएका छन्।
३. उनी विश्वको एकमात्र यस्तो प्रारम्भिक ब्याट्सम्यान हुन्, जसले टेस्ट र एकदिवसीयमा ७ हजार ५ सयभन्दा बढी रन बनाएका छन्।
४. उनको नाममा टेस्टमा तीव्र्र गतिमा तेहरो सतक बनाउने कीर्तिमान छ। उनले २७८ बलमा तेहरो सतक बनाएका छन्।
५. उनको नाममा क्रिस गेलपछि टेस्टमा सबैभन्दा तीव्र्र गतिमा दोहोरो सतक बनाउने कीर्तिमान छ।
६. उनी भारतको पहिलो टि–२० कप्तान हुन्। उनले सन् २००७ मा दक्षिण अफ्रिकाविरूद्ध पहिलो कप्तानी गरेका थिए।
७. एकदिवसीय क्रिकेटको एउटै खेलमा सबैभन्दा बढी चौका हान्ने उनी दोस्रो कीर्तिमानी खेलाडी हुन्। उनले सन् २०११ इन्दौर एकदिवसीयमा वेष्ट इन्डिजविरूद्ध २४ चौका हानेका थिए। पछि रोहित शर्माले ३३ चौका हानेर उनको कीर्तिमान तोडेका थिए।
८. टेस्ट क्रिकेटको लामो इनिङमा तीव्र स्ट्राइक रेटले रन बनाउने कीर्तिमान पनि सेहवागको नाममा छ। उनले सन् २००८ मा दक्षिण अफ्रिकाविरूद्ध चेन्नई टेस्टमा ३ सय १९ रनको इनिङ खेलेका थिए, जसमा उनको स्ट्राइक रेट १सय ४ दशमलव ९३ थियो।
९. उनी सबैभन्दा कम इनिङमा सात हजार रन पुरा गर्ने विषयमा दोस्रो नम्बरमा पर्छन्। उनी अगाडि इङ्ल्यान्डका वाली हेमन्ड छन्।
१०. उनले टेस्ट क्रिकेटमा लगातार ११ पल्ट आफ्नो सतकलाई १५० वा योभन्दा बढि रनमा परिवर्तन गरेका छन्।
११. टेस्ट क्रिकेटमा उनी अस्ट्रेलियाका महान ब्याट्सम्यान ब्रेडम्यानपछि सबैभन्दा धेरै २५० वा योभन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यान हुन्।
१२. टेस्ट क्रिकेटमा कुनै पनि भारतीय ब्याट्सम्यानले एकदिनमा सबैभन्दा बढी रन बनाएको कीर्तिमान पनि उनकै नाममा छ।
१३.टेस्ट क्रिकेटमा कुनै पनि भारतीयद्वारा एउटै इनिङमा सर्वाधिक चौका हान्ने कीर्तिमान पनि उनकै नाममा छ।
१४. टेस्ट क्रिकेटमा सर्वाधिक छक्का लगाउने भारतीय ब्याट्सम्यान पनि उनी नै हुन्। उनले ९१ छक्का लगाएका छन्। उनी विश्वको दोस्रो नम्बरमा पर्छन्। उनी अगाडि अस्ट्रेलियाका एडम गिलकृष्ट (१००) छन्।
१५. सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागको प्रारम्भिक हिट जोडीले टेस्ट र एकदिवसीयमा एक हजारभन्दा बढी चौका हानेका छन्।
१६. टेस्ट क्रिकेटमा जसले २ हजार वा त्योभन्दा धेरै रन बनाएका छन्, ती ब्याट्सम्यानभन्दा सेहवागको स्ट्राइक रेट उत्कृष्ट छ।
१७.उनी एकदिवसीयमा सबैभन्दा तीव्र्र गतिमा दोहोरो सतक बनाउने भारतीय ब्याट्सम्यान हुन्।
१८.उनी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १५०, २००, २५०, ३०० रन बनाउने भारतीय ब्याट्सम्यान हुन्।
१९. उनी टेस्टमा छिटो ३ हजार, ४ हजार र ७ हजार रन बनाउने भारतीय ब्याट्सम्यान हुन्।
२०.उनले खेलेको १ सय ४ टेस्टमा भारतले ४२ मा जीत र २४ मा पराजय भोगेको थियो।
२१. उनले एकदिवसीयमा कूल १५ सतक बनाए, जसमा भारतले १४ मा जीत हात पारेको थियो। १५ सतक हिर्काउँदा उनी १० पल्ट ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।