सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जाने कार्यक्रम रद्द गरेकी छन्।
मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनले साताव्यापी आफ्नो भ्रमण रद्द गरेको उनका प्रेस सल्लाहकार वासुदेव शर्माले जानकारी दिए।
सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेको प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँदै थिए।
उनीहरु भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । व्यवस्थापिका–संसद्मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की विरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
दर्ता भएको सो महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँच गरी स्थगित भएको थियो । रासस