सर्वोच्च अदालतले नियुक्तिको योग्यतासम्बन्धी मुद्दा पुनरावलोकन गर्ने निर्णय गरेपछि विदामा बसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की बुधबार स्वदेश फर्किएका छन्।
उनी बुधबार साँझ ७ बजेर ५९ मिनेटमा इत्तिहाद एयरको उडान नम्बर ए३२० बाट काठमाडौं आइपुगेका हुन्। सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेका १५७ जनाको लिखित हस्ताक्षरसहित कार्कीविरूद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनी युएईको आबुधाबीबाट काठमाडौं आइपुगेका हुन्।
अख्तियार प्रमुख कार्की एक महिनाअघि क्यानडाको राजधानी ओटावामा हुने चार दिने कार्यक्रममा भाग लिन गएका थिए। त्यहाँबाट भारत हुँदै युएई पुगेको स्रोतले बतायो। अदालतले उनीमाथि म्याद तामेली गरिसकेको छ।
यसअघि अख्तियार प्रवक्ता गणेशराज कार्कीले उनी दुई-तीन दिनमै कार्यालयमा उपस्थित हुने सेतोपाटीलाई बताएका थिए। उनका अनुसार घटस्थापनाअघिसम्मको उनको विदा त्यहीबेला मन्त्रिपरिषदले नै स्वीकृत गरेको थियो। त्यसपछि विदेशबाटै १० दिन विदा थप गराएका थिए। दसैंअघि उनको विदा थप १० दिन स्वीकृत भएको जानकारी अख्तियारले राष्ट्रपति कार्यालयमा पठाएको थियो। उनले भैपरी आउने विदा तीन दिन र बिरामी विदा सात दिन गरी १० दिन थप गरेका थिए।
कानुनअनुसार महाअभियोग प्रस्ताव दर्तापछि सम्बन्धित व्यक्तिलाई निलम्बनमा राखी अनुसन्धान सुरू हुन्छ र दोषी प्रमाणित भए कारबाही प्रक्रिया अगाडि बढ्छ।