विराट कोहलीको उत्कृष्ट अविजित ८५ रनको ब्याटिङका कारण भारतले आफ्नो नौ सय एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। भारतसँग ५ वटा एकदिवसीयको शृंखलाअन्तर्गत आइतबार राती सम्पन्न खेलमा न्युजिल्यान्ड १–० ले पछि पर्न पुग्यो। यसअघि तीनवटा टेस्टको शृंखलामा पनि न्युजिल्यान्डले वाइटवास बेहोरेको थियो।
धर्मशालामा आफ्नो नौ सयौं एकदिवसीय खेल खेल्न उत्रिएको भारतका लागि कप्तान महेन्द्रसिंह धोनीले टस जितेर फिल्डिङको निर्णय गरेका थिए। टस विशेष रुपले निमार्ण गरिएको थियो। कप्तान धोनीको बलिङ गर्ने निर्णयलाई पहिलो पल्ट भारतीय टिममा समावेश हार्दिक पान्डेयले सही साबित गरे। ‘म्यान अफ दि म्याच’ घोषित पान्डेयले ३१ रन खर्चेर तीन विकेट लिएपछि न्युजिल्यान्डको पहिलो इनिङ ४३ दशमलव ५ ओभरमा १ सय ९० रन बनाउदै समेटिएको थियो।
प्रत्युत्तरमा विराटको एकदिवसीय क्रिकेटमा २६ औं अर्धसतकको सहयोगले भारतले ३३ दशमलव १ ओभरमा ४ विकेट गुमाउदै १ सय ९४ रन बनायो। विराटले विजयी छक्का पनि प्रहार गरेका थिए। उनले ८१ बल खेल्ने क्रममा ९ चौका पनि हिर्काएका थिए। यसअघि रोहित शर्माले १४, अजिन्क रहाणेले ३३, मनिष पाण्डेले १७, कप्तान धोनीले २१ र केदार जादभले अविजित १० रन बनाएका थिए।
न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान टिम लाथमले अविजित ७९ र पुछारमा टिम साउथीले ५५ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न सकेनन्। यी दुवैले नवौं विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। भारतका लागि लेग स्पिनर अमित मिश्राले पनि ३ विकेट लिएका थिए।