प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेनाबीच आज भएको भेटवार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नेबारे छलफल भएको छ।
गोवाको लीला होटलमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलङ्का केही टाढा रहे पनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए। सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सार्क राष्ट्रबीच साझा धारणा रहनुपर्ने बताए।
प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलङ्काले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न र नेपालबाट श्रीलङ्का हुँदै खाडी मुलुकमा नेपाली महिला लगिने काम रोक्नका लागि राष्ट्रपतिसँग अनुरोध गरे।
भेटमा श्रीलङ्काली राष्ट्रपति श्रीसेनाले नेपालसँग श्रीलङ्काको सम्बन्ध मैत्रीपूर्ण छ भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने बताउँदै नेपालले राखेको चासोप्रति श्रीलङ्का सकारात्मक रहेको स्पष्ट गरे। रासस