चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग भारतको गोवामा हुने 'ब्रिक्स' शिखर सम्मेलनमा भाग लिन जाने क्रममा आज बंगलादेशको राजधानी ढाका पुगेका छन्। पूर्वी एसियाली मुलुक क्याम्बोडियाको भ्रमणपछि राष्ट्रपति सी ढाका पुगेका हुन्।
सीको भ्रमणका बेला विभिन्न परियोजनामा चीनले लागानी गर्नका लागि २४ अर्व डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटरले जनाएको छ।
चीनले लागनी गर्ने गरी सम्झौता हुन लागेका परियोजनाहरुमा राजधानी ढाकालाई बंगलादेशका दक्षिण पश्चिमी शहरहरुसँग जोड्ने १७० किलोमिटर लामो रेलमार्ग पनि छ।चाइना रेल्वे ग्रुपले निर्माण गर्ने सो रेल्वेको लगानी ३.१ अर्व अमेरीकि डलर रहने रोयटर्सले जनाएको छ। त्यस्तै ट्रान्समिसन लाइन निर्माणका लागि पनि अर्को १.१ अर्व डलरको सम्झौता हुँदैछ।
अघिल्लो वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उनले राष्ट्रपति बिद्या देवी भण्डारीको निम्ता राष्ट्रपति सीलाई हस्तान्तरण गरेका थिए। सीको नेपाल भ्रमण पुरै टुंगो भैसकेको थिएन, तर उनी नेपाल आउने सम्भावना प्रवल रहेको मानिएको थियो।
राष्ट्रपति सीले ब्रिक्सको सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल र बंगलादेशको भ्रमण गर्ने सम्भावना रहेको त्यो बेलानै बताइएको थियो।
एमाले-माओवादीकेन्द्र नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएर कांग्रेस-माओवादीकेन्द्रको सरकार बन्ने बित्तिकै सीको नेपाल भ्रमण अन्योलमा पर्न सक्ने आशंका व्यक्त गरिएको थियो। सो आशंकालाई चिर्न प्रधानमन्त्री प्रचण्डले आफ्ना अर्थमन्त्री कृष्ण बहादुर महरालाई विशेष दूतका रुपमा चीन पठाएका थिए। प्रधानमन्त्रीले गृहमन्त्री बिमलेन्द्र निधिलाई पनि विशेष दूतका रुमपा सोहि समयमा भारत भ्रमणमा पठाएका थिए।
निधिको भ्रमण पछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ। उनी तिहार लगतै नेपाल भ्रमणमा आउँदै छन्। सीको नेपाल भ्रमण हुने वा नहुनेबारे महराको भ्रमणका बेला पनि चिनियाँ पक्षले खुलेर केहि बोलेको थिएन।
तर राष्ट्रपति सी नाउने संकेत भने त्यही बेला प्राप्त भएको एक राजनीतिज्ञले बताए। ति राजनीतिज्ञले भने, 'ब्रिक्सको सम्मेलन ताका राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई केहि बेर भेटे हुन्न? भन्ने सुझावयुक्त प्रश्न चिनियाँ पक्षबाट त्यही बेलामा आएको थियो।'
अन्तत: राष्ट्रपति सी नेपाल आएनन तर अर्को दक्षिण एसियाली मुलुक बंगलादेशको भने भ्रमण गरेका छन र दुई देश बीच महत्वपूर्ण आर्थिक सम्झौताहरुमा हस्ताक्षर भएको छ।
भोलि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी बीच 'ब्रिक्स' सम्मेलनका बेला समय निकालेर भेटबार्ता हुँदैछ। दुई नेताबीचको भेटवार्तापछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तय हुन्छ वा हुन्न प्रतिक्षाको विषय रहेको छ।
गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका दौरान नेपाल र चीन बीच भएका सम्झौताहरु कार्यान्वयनको चरणमा अझै प्रवेश गरेका छैनन्।
नेपाल-तिब्बत रेल्वे लाइन, नेपाल-तिब्बत ट्रान्समिसन लाइन र किमाथांका-हिले दुई लेनको सडक, तथा ४०० मेगावाटको अरुण-किमाथांका जलबिद्युत आयोजना जस्ता मुख्य परियोजनामा प्रधानमन्त्री ओलीको भ्रमणको बेलामा प्रारम्भिक समझदारी भएका थिए। सो समझदारी पछि यी आयोजनाका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव पठाउने सहमति भएको थियो।
तर अहिले सम्म माथि उल्लेखित कुनै पनि परियोजनाहरुको औपचारिक प्रस्ताव नेपालले पठाएको छैन। यी परियोजना अघि बढाउने बिषयमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी बीच के कुरा हुन्छ त्यो अर्को चासोको विषय हो।
'ब्रिक्स' शिखर सम्मेलनको आयोजक राष्ट्र भारतको निमन्त्रणामा 'ब्रिक्स'मा सदस्य नरहेका करिव एक दर्जन छिमेकी राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख भारतको गोवा पुग्दै छन्। 'ब्रिक्स' मा भारत, चिन, रसिया, ब्राजिल र दक्षिण अफ्रिका गरी बिश्वका पाँच उदयीमान आर्थिक शक्तिहरु सदस्य छन्।
भारतको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलिनै गोवा पुग्दैछन्।