दसैंलाई मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा लिने गरिन्छ। दसैंमा मिठो खाने बहानामा बिशेषगरी मासु र चिल्लो पदार्थ बढी खाने गरिन्छ। मासु र चिल्लो पदार्थसँगै अहिले मदिरा पनि खाने चलन बढेको छ। दसैंमा मासु खाँदा परिमाणमा विचार नपुर्याइ खाने हाम्रो बानी नै भइसकेको छ। भेटेसम्म खाने भन्ने हाम्रो बानीले धेरै खाँदा स्वास्थ्यलाई हानी पुर्याउँछ भन्ने ध्यान दिदैनौँ। दसैंमा शारीरिक परिश्रम भने कम गर्ने तर खाने कुरामा प्रशस्त मात्रामा चिल्लो र मसलेदार मासु अनि त्यसमा मदिरा समेत खाने धेरै नेपालीको आदतले स्वास्थ्यमा समस्या सिर्जना गर्छ।
कति खाने मासु?
दसैंमा विशेषगरी चिल्लो भएको मासु, आलु र चामलका परिकार बढी खाइन्छ। सेलरोटी र आलुका अचारसहितका परिकारले कोलस्ट्रोल बढाउँछ। चामलमा बढी कार्बोहाइड्रेट हुनाले शरीरलाई हानी पु¥याउने शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा अनिल भट्टराई बताउँछन्। सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘रातो मासु सकेसम्म खानु हुँदैन। कुखुरा, माछा र अस्ट्रिचको मासु खानु राम्रो हुन्छ। बोसो र छाला नफालीकन त मासु खानै हुँदैन।’
उनका अनुसार मासुलाई फ्रिजमा राख्नुपर्छ। त्यस्तै मासु भुटेर राख्नु हुदैन। भुटेर राखेको मासुले शरिरलाई हानी गर्छ। डा भट्टराई भन्छन् ‘भुटेको मासुले आन्द्रालाई हानी गर्छ। त्यसैले मासु भुटेर राख्नु हुदैन, यदि राख्ने हो भने त्यसलाई फ्रिजमा राखेर मात्रै खानुपर्छ।’
मुटुरोगी, उच्च रक्तचापका बिरामी स्वासप्रश्वासका बिरामी र मधुमेहका बिरामीले सकेसम्म मासु नखाएकै राम्रो हुने डा भट्टारईको सुझाव छ। ‘एक जना नेपालीले सरदरमा वर्षमा झण्डै १५ किलो मासु खान्छ तर विकसीत देशका नागरिकले वार्षिक ४२ किलोसम्म पनि मासु खान्छन्। यति हँुदापनि नेपालीलाई नै समस्या पर्छ किनकि हामी धेरै अस्वस्थकर मासु खान्छौ,’ भट्टराईले थपे।
एउटा स्वस्थ व्यक्तिले एक दिनमा सय ग्रामसम्म मासु खान हुने भएपनि दुई, चार छाक खाँदा यसको मात्रा बढाउँदा त्यसले हानी नगर्ने उनको भनाइ छ। दसैंको समयमा धेरै खानेकुरासँगै नुनको मात्रा पनि बढी हुन्छ।
‘विश्व स्वास्थ्य संगठनले एक दिनमा एक व्यक्तिले एक चम्चा भन्दा बढी नुन खान नहुने भनेपनि दसैंमा तीन चम्चा भन्दा बढी खाइएको हुन्छ जुन स्वास्थ्यका लागि निकै हानीकारक छ। डा. भट्टराईले भने, ‘भुटेको र तारेको मासु नभई थोरै तेलमा पकाएर वा उसिनेर खाने र चिउरा, भात तथा आलुको मात्रा घटाउनुपर्छ।’
मदिरा कति खाने?
डा. भट्टराईका अनुसार चिकित्सा विज्ञानले चुरोट स्वास्थ्यका लागि खानै हुँदैन भन्छ। तर रक्सीको हकमा कम खानु मात्रै भन्छ। त्यसैले चिकित्सक रक्सी थोरै खानु भनेर भन्छन्। थोरै रक्सीले शरीरलाई आराम गराउने भन्दै भट्टराई भन्छन्, ‘नियमित रक्सी खानु हदैन। रेड वाइन एक गिलास, एक बोतल बियर अनि साठी एमएलसम्म ह्वीस्की खाँदा त्यसले शरीरलाई हानी गर्र्दैन।’ कतिपय समयमा यो भन्दा केही मात्रामा बढी खाँदा पनि त्यसले असर गर्दैन।
रातभरी बसेर रक्सी खाने अनि मासु, चुरोट पनि खाँदा भने यसले शरीरलाई हानी गर्ने भट्टराईको तर्क छ। ‘मासुले कोलस्ट्रोल बढाउँछ, रक्सीले कलेजो र मुटुलाई हानी गर्छ, चुरोटले त सबैभन्दा बढी हानी गर्छ। त्यसैले यी तीन चिज एकैचोटी खानु सबैभन्दा खतरनाक हो।’
साग र फलफूल खाऊँ, अनि व्यायाम धेरै गरौं
हामीले दसैंमा साग र फलफूललाई ध्यान दिदैनौं। डा भट्टराई दसैंमा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउनुपर्ने बताउँछन्। उनले भने, ‘प्रशस्त मात्रामा साग, मुला, गाजर, काँक्रो र फलफूल खाँदा यसमा रहेको फाइबरले शरीरलाई फाइदा गर्छ। यसले मासु र चिल्लो पदार्थलाई समेत पचाउन सहयोग गर्छ।’
दसैंमा राती अबेरसम्म बसेर खाने हाम्रो बानी छ। यसले गर्दा दसैंमा हाम्रो शरीरको तौल तीन चार किलो बढिरहेको हुन्छ। त्यसैले शरीररलाई तन्दुरुस्त राख्न दसैंको बेलामा अन्य समयमा भन्दा बढी शारीरिक व्यायाम गर्नुपर्ने डा भट्टराईको सुझाव छ।