काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ।
कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहदरबारका ४०, वसन्तपुर क्षेत्रका २० र अन्य विभिन्न स्थानका गरी एक सय ८० वटा कुकुरको बन्ध्याकरणको काम गरिसकेको काठमाडौँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए।
विभिन्न स्थानमा छाडारूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनुका साथै अनावश्यक रूपमा कुकुरको सङ्ख्या बढेको र विभिन्न किसिमको रोगको सङ्क्रमण समेत बढेकाले नियन्त्रणका लागि अभियान सुरु गरिएको प्रमुख श्रेष्ठले बताए।
कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिकाका सक्रियता भइरहेको छ। तीनवर्षे अभियानका लागि झन्डै तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।
नियन्त्रणका क्रममा रेबिज रोग लागेको÷नलागेको र अन्य रोग लागेको भए तथ्याङ्क लिइने र तीनको उपचारको काम पनि गर्ने कामपाले जनाएको छ। “सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, प्रमुख श्रेष्ठले भने।
महानगरका ३५ वडामा सञ्चालन गरिएको यस अभियानको पहिलो चरणमा तथ्याङ्क लिने काम सम्पन्न भइसकेको छ। तथ्याङ्कअनुसार हाल काठमाडौँमा घरपालुवा र सामुदायिक गरी करिब चारलाख कुकुर रहेको अनुमान गरिएको छ। रासस