जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ।
अधिकतम मूल्य १८ को पानीलाई २५ रुपैयाँ लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो।
स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले बताए।
यसैबीच जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसल अनुगमन गरेको छ।
टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्द मार्गका एक दर्जन थोक विक्री गर्ने खाद्य पसल अनुगमन गरेको देउजाले जानकारी दिए। रासस