पाल्पा जिल्ला रामपुरस्थित दरैठाँटी उच्च माध्यमिक विद्यालयमा यस वर्षदेखि इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् काठमाडौँले प्राविधिक शिक्षाअन्तर्गत तीनवर्षे डिप्लोमा इन इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमतिका लागि निर्णय गरेपछि कक्षा सञ्चालन हुन लागेको हो। आउँदो कात्तिक ६ गतेदेखि कक्षा सुरु हुने विद्यालयका प्राचार्य सुन्दरप्रसाद देवकोटाले बताए।
दरैठाँटी उच्च माविमा इन्जिनियरिङ शिक्षाका लागि गतबर्ष माघमा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञबाट रु चार करोड बराबरको नगद तथा जग्गा दान सङ्कलन भएको थियो। यहाँ इन्जिनियरिङ कक्षा सञ्चालन भएपछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विद्यार्थी लाभान्वित हुनेछन्। रासस