पाकिस्तानमा हुने सार्कको १९ औं शिखर सम्मेलनमा बंगलादेशले पनि भाग नलिने भएको छ। भारतले भाग नलिने घोषणा गरेको एक दिन पछि बंगलादेशले पनि इस्लामावादमा हुने सार्कको १९ औं सम्मेलनमा भाग नलिने भएको हो।
बंगलादेशले आफ्नो देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेको भन्दै सार्क सम्मलेनमा भाग नलिने जनाएको हो। यसअघि भारतले पाकिस्तान आतंकवादीको केन्द्र बनेको भन्दै भाग नलिने बताएको थियो।
बंगलादेशकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकबाल शोभन चौधरीले बंगाली सेवासँग कुराकानी गर्दै बंगलादेश आगामी सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए। ‘केही घरेलु परिस्थितिका कारण पाकिस्तानमा आयोजना हुन लागेको सार्क सम्मेलनमा हाम्रो देशले भाग लिँदैन,’ उनले भनेका छन्।
त्यसैगरी भुटानले यो क्षेत्रमा आतंकवादी घटनामा वृद्धि भएकोले सार्क शिखर सम्मेलनको सफलतामा प्रश्न उठाउँदै आफू सहभागी हुन नसक्ने जनाएको छ। त्यसैगरी अफगानिस्तानले पनि अप्रत्यक्ष रुपमा आफ्नो देशमा भएको आतंकवादी घटनाहरुमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै ती घटनाका कारण राष्ट्रपति असरफ घानी देशभित्रै व्यस्त हुने भएकोले शिखर सम्मेलनमा उपस्थित हुन नसक्ने जनाएको छ।
नेपालमा आयोजित १८ औं सार्क शिखर सम्मेलनले पाकिस्तानको राजधानी इस्लामावादमा १९ औं सम्मेलन गर्ने निर्णय गरेको थियो । इस्लामावादमा आगामी नोभेम्बर ९ र १० तारिखमा सार्कको १९ औं शिखर सम्मेलन हुँदैछ। सार्क बडापत्रमा कुनै एउटा राष्ट्र अनुपस्थित वा असहमत भएमा सम्मेलन वा कुनै निर्णय हुन नसक्ने प्रावधान छ ।