व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ ।
सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो । प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा भारतका लागि प्रस्तावित राजदूत उपाध्यायलाई गरेको प्रश्नः
धर्मनाथप्रसाद साह एमाले
तपाईँ मन्त्री र दलको नेता भएको व्यक्ति जो पदीय मर्यादामा विशिष्ट श्रेणीमा काम गरेको अहिले राजदूत जस्तो सहसचिव तहको पदमा काम गर्न तयार किन र कुन कारणले हुनुभयो?
तपाईँ राजदूतबाट फिर्ता भएपछि अमेरिका गएर बसेको कुरा गर्नुभयो यो कतै तपाईँ राजनीतिबाट मात्र नभइ मुलुकप्रति नै मोह भंग भएर गएको हो कि?
गणेशमान गुरूङ
तपाईँ विगतमा गरेको भूमिकाका कारण दुई देशको सम्बन्ध सुधार भएन भने फेरि त्यही प्रस्ताव गर्दा तपाईँ आफैंले अप्ठ्यारो लागेको छैन? तपाईँले विगतको भूमिकाबाट अब के आशा गर्ने?
अष्टलक्ष्मी शाक्य
तपाईँ राजनीतिक व्यक्तित्व भारतको राजदूत भएर जान नहुने तर पनि जानु भयो। गइसकेपछि नेपालको संविधान जारी भएपछि नाकाबन्दी भयो। तर तपाईँले देशको हितमा भूमिका खेल्न सक्नु भएन भन्ने गुनासोबारे के भन्नु हुन्छ? भारतको सट्टा अर्को देश रोजेको भए हुदैनथ्यो?
भानुभक्त ढकाल
तपाईँ भारत गएको १२ दिनमा भूकम्प गयो तर, तपाई फिर्ता हुँदा त्यो भन्दा ठूलो राजनीतिक भुकम्प गयो। यसबारे के अनुभूति छ? तपाईँ पहिले कांग्रेस एमाले सरकारको पालामा नियुक्त हुनुभयो, एमाले माओवादी सरकारको पालामा फिर्ता बोलाइयो र अहिले फेरि कांग्रेस माओवादी सरकारका पालामा पुन नियुक्तिको सिफारिस भएको छ। यो हेर्दा नेपालमा ९ महिनामा सरकार फेरवदल हुने प्रवृति भएको छ र तपाईँको नियुक्ति फुटबल जस्तो प्रतिशोधपूर्ण गेममा प्रयोग भएजस्तो लाग्दैन? तपाईँको सुनुवाई यही पारामा गएमा कति पटक गरिरहनुपर्ला?
आनन्दप्रसाद ढुंगाना
राजनीतिक व्यक्ति राजदूत भएको उपाध्याय मात्र होइन। मन्त्री मात्र होइन राजदूत भएर जाँदा पनि झण्डा सहितको गाडीमा नेपालको प्रतिनिधित्व गर्छ।
पूर्व प्रधानमन्त्री र मन्त्रीहरु पनि भएका हुँदा उहाँको मात्रै विषयमा राखिएका प्रश्नबाट ह्यीमीलेट हुनुपर्दैन। उहाँ राजदूत हुँदा नै प्रम ओली भारत जाँदा उहाँको भूमिका राम्रो भएको कुरा उहाँले नै भनेको हो। तर, अहिले दुई देशबीचको सम्बन्ध असहज बनेको छ। यो अवस्थामा बलियो र बुझेको व्यक्ति छिमेकी मुलुकमा पठाउन सके हाम्रो सम्बन्धमा राम्रो हुन्छ भनि सरकारले निर्णय गरेको हो।
कुनै पनि व्यक्ति पूर्ण हुँदैन र हामीले सबै कुरा पूर्णता मात्रै खोज्न हुँदैन।
उहाँलाई पठाउनुको अर्थ पहिलो कार्याकालमा भूकम्प र नाकाबन्दीका कार्यकालमा शुरु गरेका कामलाई निरन्तरता दिन पनि हो।
चित्रलेखा यादव
म मन्त्री हुँदा भारतमा एउटा बिहेको कार्यक्रममा जादा उहाँले थाहा पाएपछि मलाई एउटा कार्यक्रममा जसरी पनि आउन आग्रह गर्नुभयो। जहाँ नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण व्यक्तिहरुले नाकाबन्दी अन्त्यका लागि मान्यता राख्ने व्यक्ति उपस्थित कार्यक्रममा उहाँले र मैले धारणा राखेका थियौं। भारतसँगको सम्बन्ध सुधारमा हिजो पनि क्रियाशिल हुनुभएको थियो। अहिले पनि उहाँले भन्नुभएको छ कि म राजदूतमा सिफारिस भएपछि पार्टीको सदस्यबाट राजीनामा दिएको छु।
हिजो पनि हामीले राजनीतिमा संलग्न व्यक्तिलाई विभिन्न पदका लागि सुनुवाइमा सर्वसम्मत पारित गरेका छौं। उहाँको अनुभवले पनि बाँकी रहेका काम अघि बढाउन उहाँलाई सहज हुने छ।
अब तपाई राजदूत भएर जाँदाको खण्डमा यस समितिमा उठेका प्रश्नको जवाफमा दुई देशबीचको सम्बन्धमा कसरी परिवर्तन ल्याउनुहुन्छ र ठोस कार्यक्रम के छ?
चीनकाजी श्रेष्ठ
राजदूतका लागि कर्मचारीभन्दा पनि राजनीतिक र कुटनीतिक रुपमा स्थापित मानिसहरु पठाउन चलन थियो र अहिले पनि यस परम्पराले नेपाललाई हित पुर्याउँछ। भारतसँगको सम्बन्ध विगार्ने कुरा एउटा राजदूतको भूमिकाले मात्रै निर्धारण गर्दैन। संविधान निर्माणदेखि अरु कतिपय कुरा पनि त्यसको कारण हुनसक्छ। परराष्ट्रमन्त्री कतिपटक भारत भ्रमणमा गए र उनले के गरे? प्रधानमन्त्री पनि गए। उहाँ राजदूत फिर्ता किन भयो भन्ने कुरा सरकारले स्पष्ट उल्लेख कारण दिएको छैन। सरकारले आफ्नो मानिस पठाउन फिर्ता गरेको पनि हुन सक्छ।
अनिताकुमारी परियार माओवादी
हामीले दुई देशबीचको सम्बन्ध सुधारमा उहाँले गर्ने भूमिकाको ठोस उत्तर खोजेका छौं। हामीले यो समितिमा एकले विरोध र अर्कोले समर्थन किन गरिरहेका छौ? उहाँको फिर्ता किन भयो भन्ने कुरा स्पष्ट पनि छ। उहाँका लागि सिफारिस हुँदा गर्ने तर्क यो समितिमा नगरौं कि?