आफ्नो स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई खेलको बीचैमा निकालेको घटनाको प्रशिक्षक जिनेदिन जिदानले अझैसम्म स्पष्टीकरण दिनु परिरहेको छ।
रियल म्याड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा मंगलबार राती बोरुसिया डर्टमुन्डसँग खेल्दैछ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार लास पाल्मासविरूद्ध २–२ को बराबरी खेलेको खेलमा जिदानले आफ्ना स्टार स्ट्राइकरलाई अन्तिम २० मिनेटअगाडि नै मैदानबाट निकालेका थिए।
आफूलाई पूर्ण ९० मिनेट खेल्न नदिएकोमा रोनाल्डो प्रशिक्षक जिदानसँग त्यति खुसी देखिएका थिएनन्। उनी मैदानबाट बाहिर निस्किँदा पनि जिदानलाई वेवास्ता गर्दै म्याड्रिडको बेन्चतर्फ लागेका थिए। यसपछि ९० को दशकका स्टार स्ट्राइकर जिदान र वर्तमान स्टार रोनाल्डोबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी चल्दै आइरहेको छ।
तर, जिदानले आइतबारको ला लिगाभन्दा पनि आफ्नो लागि मंगलबारको च्याम्पियन्स लिग महत्वपूर्ण भएको प्रतिक्रिया दिँदै आइरहेका छन्। र, उनले यसैका लागि रोनाल्डोलाई विश्राम दिएको बताएका छन्। तर, आलोचकले चोटका कारण ढिलो सिजनको सुरुवात गरेको रोनाल्डोले लय भेटाउन नसकेको र यसैका कारण जिदानले उनलाई निकालेको प्रतिक्रिया दिँदै आइरहेका छन्।
रोनाल्डोले पछिल्लो ६ खेलमा २ गोल मात्र गरेका छन्। ‘सबै सामान्य छ,’ जिदानले भने–‘क्रिस्टियानो मात्र होइन, जुनसुकै खेलाडीलाई खेलको बीचैमा निकालेको खण्डमा उसलाई रिस नै उठ्छ। हामीले अघिल्लो खेलको विषयमा विचार गरिरहेका छौं र मैले खेलाडीकै हितका लागि यो निर्णय गरेको हुँ।’ जिदानले आफू मुर्ख नभएको बताउँदै भने–‘ऊ पनि समझदार छ। हामी एउटै उद्धेश्यका लागि सँगै छौं।’
रोनाल्डो रियल म्याड्रिडमा अनुबन्धित भएयता चोटबाहेक अन्य अवस्थामा ९० मिनेट नै मैदानमा उपलब्ध हुन्थे। तर, ७ वर्षको अवधिमा पाल्मासविरूद्धको खेलमा बाहिरिनु परेपछि थुप्रै अड्कलबाजी सुरु भएको हो। ‘यस्तो हुन्छ। यो सिजन अन्य खेलमा पनि हुन सक्छ,’ आफ्नो कुरा स्पष्ट राख्ने परिचय बनाइसकेका जिदानले पछिल्लो २ खेल बराबरीमा टुंग्याउनु परेको घटनातर्फ इंकित गर्दै भने–‘कसैलाई पनि २ खेलबाट ४ अंक गुमाउने इच्छा हुँदैन। तर, फुटबल भनेकै यही हो।’
म्याड्रिडले वेस्टफलेनस्टाडियनको पछिल्लो तीन भ्रमणमा तीनै खेल गुमाएको छ। त्यसैले कार्लोस एन्सिलोटी र जोसे माउरिन्होपछि म्याड्रिडको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका जिदानका लागि मंगलबारको खेल निकै चुनौतीपूर्ण बनेको छ। ‘डर्टमुन्टमा युवा खेलाडीको जमात छ। जसले टिममा परिवर्तन देखिन्छ। तर, क्लबको मानसिकतामा केही परिवर्तन भएजस्तो मलाई लाग्दैन,’ जिदानले सम्भावित चुनौतीतर्फ इंकित गर्दै भने। मंगलबारको खेलमा सेन्टर–ब्याक पेपे टिममा फर्किदैछन्।
यस्तै, किको कासिलाको ठाउँमा गोलपोस्टको जिम्मा केलोर नेभासले लिने सम्भावना बलियो छ। मार्सेलोको चोटका कारण फाबियो कोएन्ट्राओ लेफ्ट–ब्याकमा देखिने सम्भावना पनि उत्तिकै छ। जिदानले मिडफिल्डर कासेमिरोको अभाव खड्किन सक्ने बताएका छन्। कासेमिरो चोटका कारण मंगलबारको खेलमा मैदानमा देखिने सम्भावना न्युन छ।