राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिले अध्ययन गर्ने विशेष प्रकारका विद्यालयलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताएकी छन्।
केन्द्रीय बहिरा उमाविको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले त्यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकका अतिरिक्त मेहनतबाट मात्र विद्यार्थीले सहज रुपमा शिक्षा ग्रहण गर्न सक्ने धारणा राखिन्।
सो विद्यालयले बहिरा विद्यार्थीलाई शिक्षा प्रदान गरी मुलुककै लागि प्रेरणादायी काम गरेकामा प्रशंसा गर्दै उनले भनिन् – “अशिक्षा र अन्धविश्वासमा रुमलिएको मानव चेतनाले अपाङ्गता हुनलाई दैवी दोष दिएर अपहेलना गर्ने र परिवारदेखि समाजमा अपहेलित भएर बाँच्नुपर्ने बाध्यता मानवमा आएको चेतनाको परिवर्तनले हट्दै गएको छ।”
उनले नेपालको संविधानले शिक्षा, स्वतन्त्रता, रोजगारी लगायत व्यक्तिगत अधिकारदेखि समाज र राष्ट्रका मूलप्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई विशेष अवसरको व्यवस्था गरी उनीहरुको मानवीय संवेदनालाई पहिचान गरेको बताईन्।
सीमित साङ्केतिक शब्द र भाषाको प्रयोगबाट शिक्षाको गहनतालाई बुझाउन शिक्षकलाई चुनौती र शिक्षा ग्रहण गर्न विद्यार्थीलाई जटिल भएको विचार व्यक्त गर्दै राष्ट्रपतिले बहिरा विद्यार्थीले सबै सिकाइ हेरेर सिक्नुपर्ने हुँदा शिक्षकले दृष्य सामग्रीको अत्यधिक सामग्रीको प्रयोग गर्नुपर्ने सुझाव दिईन्।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले यस्ता विशेष प्रकारका विद्यालयमा शिक्षकले अन्य सामान्य विद्यालयभन्दा बढी मेहनत गर्नुपर्ने भए पनि अन्य शिक्षकसरह सेवा सुविधा नपाउनु अन्याय भएको बताए।
उनले भूकम्पले क्षतिग्रस्त सो विद्यालयको पुनःनिर्माणका लागि शिक्षा मन्त्रालयसँग आग्रह गर्दै राजधानी बाहिर पनि यस्ता विद्यालय खोल्नुपर्ने माग गरे।
शिक्षामन्त्री धनीराम पौडेलले विशेष क्षमता भएका विद्यार्थीलाई संविधान र अन्य कानुनले पनि प्राथमिकतामा राखेको अवगत गराउँदै यस्ता विशेष प्रकारका विद्यालय राजधानी बाहिर खोल्नका लागि सरकारको ध्यान पुगेको बताए। उनले केन्द्रीय बहिरा विद्यालयको पुनःनिर्माण प्राथमिकताका साथ अघि बढाइने जानकारी पनि दिए।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रामेश्वरप्रसाद सिंह र निमित्त प्राचार्य मीना शाहले आफ्नो विद्यालयलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने धारणा राखे। समारोहमा विद्यालयका स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने संस्थापक, प्रअ, शिक्षक तथा पूर्वविद्यार्थीलाई अभिनन्दन गरिनाका साथै स्वर्ण महोत्सवका अवसरमा स्वर्णस्तम्भको अनावरण र ‘स्वर्ण स्मारिका’ लोकार्पण गरिएको थियो। रासस