५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। उर्जा मन्त्री जनादर्न शर्माले काठमाडौंबाट टेलिफोनमा बिजुली उत्पादन सुरु गर्ने बताएपछि लमजुङमा स्थानीय प्रशासन र आयोजनाका अधिकारीले स्वीच अन गरेर विद्युत उत्पादन सुरु गरेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी सगरमाथा पावर प्राइभेट लिमिटेडको संयुक्त लगानीमा बनेको सो आयोजनाले निर्धारित समयभन्दा छ महिना ढिला गरेर बिजुली उत्पादन गरेको हो।
लमजुङको भुलभुले र बाहुनडाँडामा रहेको ड्याम, त्यहाँदेखि करिब पाँच किलोमिटर लामो टनेल भुलभुले २ मा रहेको पावर हाउस रहेको छ।
आयोजनामा सुरुमा एक युनिट (२५ मेगावाट)ले बिजुली उतपादन हुनेछ भने दुई तीन महिनापछि अर्को पुरै क्षमतामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ।
करिब १६ अर्ब लगानीमा बनेको सो आयोजनामा सिनो हाइड्रोको नब्बे प्रतिशत र सगरमाथा पावर कम्पनीको १० प्रतिशत सेयर छ। बुट मोडलमा बनेको यो आयोजना ३० वर्षमा नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिनेछ। प्रति युनिट ५.५९७ सेन्टमा यो आयोजनाको पिपिए भएको छ।
यसअघि इलामको माइक्यास्केट (७ मेगावाट) र सानीमा माइ (२० मेगावाट) आयोजनाले भूकम्पपछि काम सकेर बिजुली उत्पादन गर्न थालिसकेका छन्।
माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट थपिएसँगै यो वर्ष हिउँदमा लोडसेडिङमा केही राहत मिल्ने नेपाल विद्युत प्राधिकरण जनाएको छ।