व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग छलफल गर्न आज डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ मात्र गराए पुग्ने सुझाव दिए।
नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाका बारेमा आयोगले बैठकमा जानकारी गराएको जानकारी दिए। उनले आयोगसमक्ष यसअघिका निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ र निर्वाचनमा भाग लिन चाहनेलाई मात्र दर्ताको प्रावधान राख्न सुझाव दिएको बताए।
नेकपा मालेका महासचिव सिपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत ३१ दलका शीर्षनेताको सहभागिता थियो। बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलले दिएका सुझावका आधारमा आयोगले काम गर्ने बताएको महासचिव मैनालीले जानकारी दिए।
आयोगले सञ्चारमाध्यमलाई आज बैठकको श्रव्य, दृश्य तथा तस्बिर लिनबाट वञ्चित गर्दै बैठक ‘अति गोप्य’ भएको जनाएको थियो। तर आयोगले बोलाएको सो बैठकमा भाग लिएका राजनीतिक दलका नेताहरुले बैठकका विषयवस्तुबारे सञ्चारकर्मीसँग खुलेर गरे।
समाचार सङ्कलन गर्न त्यहाँ पुगेका सञ्चारकर्मीलाई आयोगका कर्मचारीले ‘माथिको आदेश छ, सभाकक्षमा श्रव्य, दृश्य तथा तस्बिर लिन सञ्चारकर्मीलाई प्रवेश नगराउनू’ भनेका थिए। रासस