चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले आफ्नो नाम फेरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राखेको छ।
शनिबार दिउँसो बसेको सिनेट बैठकले यस्तो निर्णय गरेको हो।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट उक्त नाम राख्ने प्रस्ताव स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए। वीर न्याम्स अन्तर्गतको अस्पताल हो।
डाक्टर गोविन्द केसीका माग कार्यान्वयन भइरहेको भन्दै उनले घोषणा गरेको अनसन स्थगित गर्न माग गरी असोज ३ गते स्वास्थ्य र शिक्षामन्त्रीले केसीलाई पठाएको पत्रमा यो कुरा उल्लेख थियो।
उक्त चिठीमा छलफल भइरहेको यो विषय शनिबार टुंगो लागेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले सेतोपाटीलाई जानकारी दिए।
तर, मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने गरी सरकारले डाक्टर केसीसँग गरेको सम्झौता भने अझै कार्यान्वयन भइसकेको छैन। त्यसको प्रक्रिया सुरु भइसकेको त्यही चिठीमा उल्लेख थियो।
यस निर्णयले मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वातावरण सिर्जना गर्ने सरकारले विश्वास लिएको छ।
पूर्वप्रधानमन्त्री तथा एमालेका नेता मनमोहन अधिकारीको नामबाट एमालेकै सांसद राजेन्द्रपाण्डे लगायतले मनमोहन अस्पताल खोलेका थिए। त्यसलाई मेडिकल कलेज बनाउनकालागि सम्बन्धन लिन उनीहरुले गरेको प्रयासलाई डाक्टर केसीकै आन्दोलनले रोकेको थियो।
अस्पतालसँग मेडिकल कलेज खोल्ने मापदण्ड नपुग्ने भन्दै उनले विरोध गरेपछि त्रिविले मनमोहनलाई सम्बन्धन दिइहालेको थिएन। तर यसअघिको सरकारले मोनमोहन प्रतिष्ठान बनाउन भन्दै विधेयक समेत संसदमा पुर्याएको थियो।
यही विषयलगायत अन्य माग राख्दै गोविन्द केसी आठौँपटक अनसन बसे। उनलाई अनसन तोडाउन सरकारले मनमोहन प्रतिष्ठानको विधेयक फिर्ता लिने र अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वाचा गरेको थियो।
विधेयक फिर्ता लिने र मनमोहनको सम्पत्ति किन्ने प्रक्रिया सुरु भइसकेको स्वास्थ्यमन्त्री थापाले डाक्टर केसीलाई भनिसकेका छन्। डा. केसीले अाफ्ना माग पूरा गर्न सोमबारसम्मको अल्टिमेटम दिएका छन्।
चिकित्सा शिक्षा नीति विधेयक संसदबाट लागू गराउनुपर्ने, त्रिवि शिक्षण कलेजमा वरिष्ठताका अाधारमा डिन नियुक्ति गर्नुपर्नेलगायत माग केसीको छ।