अमेरिकाको बर्लिङटनमा एक व्यक्तिले गोली हानी पाँच जनाको हत्या गरी फरार भएका छन्।
वासिङटनको बर्लिङटनस्थित एक सपिङ मलमा राइफलसहित आएका व्यक्तिले चार महिलाको हत्या गरेका छन् भने घाइते एक पुरुषको पनि मृत्यु भएको छ। प्रहरीले आशंका गरेको बन्दुकधारी हत्याराको तस्बिर जारी गरेको छ।
दर्जनौँ प्रहरीले हत्याराको व्यापक खोजी गरिरहेका छन्। हत्याको उद्देश्य थाहा नभएका कारण प्रहरीले घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ। घटनापछि प्रहरीले आक्रमणबारे केही थाहा नभएकाले क्यासकेड मल र आसपासका क्षेत्रका पसल खाली गर्न अनुरोध गरेको छ।
शंका गरिएका हत्यारा खरानी रङको लुगा लगाएका हिस्पानिक पुरुष भनिएको छ जो हत्यापछि राइफलसहित मलबाट निस्केका थिए।
घटना हुँदा मलको ड्रेसिङ रुममा भएकी टारी क्यावेलले भनिन्, ‘मैले चारवटा बेलुन फुटेजस्तो सुनेँ। त्यसपछि सात आठपटक पड्केको सुनेँ। मलाई केही नराम्रो भएझैँ लाग्यो र चुपचाप ड्रेसिङ रुममै बसिरहेँ। अनि बाहिर पनि पूरै शान्त भयो। त्यसपछि तत्कालै एक महिलाले सहयोगको याचना गरेको सुनेँ। एक पुरुष आए र मलाई र अर्की महिलालाई लिएर हामी सबै पसलबाट बाहिर निस्क्यौँ।’
त्यहाँका सबैलाई बसमार्फत् नजिकको चर्चमा लगिएको छ भने मलको वरिपरि नआउन भनिएको छ। सर्वसाधारणका कार पनि अर्को दिन लिन आउन भन्दै केही शंकास्पद लागेमा ९११ मा सम्पर्क गर्न सुझाव दिइएको छ।
प्रहरीका अनुसार घटना निकै गम्भीर र जानकारीबिहीन भएकाले सजग रहनपर्नेछ।