विभिन्न सन्चारमाध्यममा अन्तर्वार्ता पढ्दा/सुन्दा म उनको वाककला, आँट, सपना र आत्मविश्वासबाट प्रभावित थिएँ। धुर्मुस र सुन्तलीले १७ वर्षे विपनाको जीवनमा आधारित रहेर बनाएको ‘सर्ट फिल्म’ ज्योति हेरिसकेपछि मेरो मन उनीसँग भेट्न झन् हतारिएको थियो।
आफ्नै जीवनमा बनेको फिल्म भर्खरै हेरेर चिया खाने लाइनमा उभिरहेकी विपनासँग धुर्मुससुन्तली फाउन्डेसनका एक मित्रले मेरो परिचय गराइदिए। परिचय आदान–प्रदानपछि मैले भनेँ, ‘तपाईंसँग बसेर लामो गफ गर्न मन छ।’
खिरिलो ज्यान, उज्यालो चेहराकी विपनाले तेजिलो स्वरमा भनिन्, ‘भन्नुहोस् न, कहाँ भेट्ने?’
मैले सेतोपाटी कार्यालयको ठेगाना बताउँदै सोधेँ, ‘ठाउँ देख्न अप्ठ्यारो पर्छ?’
‘लोकेसन भन्नुस्, जहाँ आउन पनि सक्छु।’
मैले नक्सा बताइदिएपछि उनमा यति आत्मविश्वास देखियो, काठमाडौं मात्र किन? ठाउँको स्पष्ट नक्सा पाए, विश्वका जुनसुकै गल्लीमा पुग्न पनि उनलाई कुनै अप्ठ्यारो पर्दैन।
यो कुरा प्रमाणित पनि गरिसकेकी छन्, एक्लै ताइवान पुगेर।
भोलिपल्ट मैले भनेकै समयमा हातमा खरानी रङको कोट झुन्ड्याउँदै आइपुगिन्।
कुराकानीको प्रसंग फिल्मबाटै सुरू भयो। मैले उनको अभिनय भन्दा पनि फिल्मको कथाबारे चासो राखेँ। फिल्म भएकाले काल्पनिक कथा मिसाइएको मेरो अनुमान थियो। सबै कथा उनका वास्तविक हुन नसक्ने शंका। तर, उनको कथा सुन्दै गएपछि लाग्यो, फिल्मलाई रोचक बनाउन मिसाइएका केही मसाला, काल्पनिक पात्र र घटनाबाहेक सबै उनका यथार्थ कथा रहेछन्।
उनको जीवन आफैंमा फिल्मी रहेछ।
***
वि.सं २०६८ सालमा नेपाल सरकारले बालमैत्री स्थानीय शासनसम्बन्धि नीति ल्यायो। जसमा मुख्य दुई शीर्षक छन्, संस्थागत विकाससम्बन्धि सूचक र सेवा प्रवाहसम्बन्धि सूचक।
पहिलो शीर्षकअन्तगर्त १२ सूचक र दोस्रो शीर्षकअन्तर्गत २७ गरी कुल ३९ सूचक पुरा गरे कुनै पनि ठाउँलाई बालमैत्री क्षेत्र घोषणा गर्न पाइन्छ। बालबालिका मात्र होइन महिलाका मौलिक अधिकारसमेत जोडिने यी ३९ वटै सूचक पुरा गरेर गत वर्ष जेठमा नवलपरासीको सुनवल नगरपालिका देशकै पहिलो बालमैत्री नगरपालिका घोषित भयो।
हो, यही उपलब्धिको जग बसालेकी थिइन् विपनाले, आजभन्दा ६ वर्षअघि, जतिबेला उनको उमेर जम्मा ११ वर्षको थियो।
***
गाउँको भन्दा सहरको जीवनशैली फरक हुन्छ। देख्ने सपना फरक छन्। सहरलाई आरोप लाग्छ, सहरसँग मान्छेको संवेदना बुझ्ने चेष्टा कम छ। सहर भागदौडमा बढी व्यस्त छ। त्यसैले सहर जति चम्किलो देखिन्छ, त्यसभित्रको ‘स्टोरी’ त्यति नै 'डार्क' हुनसक्छ। भागदौडमा व्यस्त सहरले आफैं भित्रको अँध्यारो देख्दैन। अथवा, देखे पनि अस्पष्ट देख्छ। जसरी बेतोडले कुदिरहेको बसबाट बाहिरको दृश्य धमिलो देखिन्छ।
विपनाले यो कुरा ११ वर्षको कलिलो उमेरमै अनुभव गर्न पाइन्। यदि उनले गाउँको जीवन नभोगेको भए यति कुरा बुझ्ने थिइनन्, सायद।
त्यतिबेला उनी जन्मिएको ठाउँ नगरपालिका बनिसकेको थिएन। उनी ६ कक्षा पास भएपछि उनको परिवार सुनवल गाविसको महेन्द्र राजमार्गसँगै जोडिएको बजारक्षेत्रमा बसाईं सर्यो। उनका लागि त्यो वातावरण बिल्कुलै भिन्न थियो। सहरको रौनकले होइन, कुरूपताले!
उनको घरछेवैमा एक गुप्ता थरकी बालिका थिइन्। उमेरले विपनाभन्दा बढी भए पनि स्कुल जान नपाएकी। बोल्न, हिँड्न राम्रोसँग नजान्ने भएकाले उनका बाबुआमाले त्यति ख्याल गर्थेनन्। उनी दिनभरी गाउँ डुल्थिन्। शनिबार घरनजिकैको चर्चमा महिलाहरुका लागि श्रृंगारका सामान बाँडिन्थ्यो। खाना खुवाइन्थ्यो। उनी त्यतै जान्थिन्।
सिभिल इन्जिनियर बाबुकी छोरी विपनालाई खानलाउनको दुःख थिएन। त्यसैले चिटिक्क लुगा लगाएर ब्याग बोकेर स्कुल जान्थिन्। गुप्ता थरकी ती बालिका हरेक दिन विपनालाई आँगनबाट हात हल्लाउँदै अस्पष्ट स्वरमा भन्थिन्, ‘बाइ विपना।’
विपनाको मनमा प्रश्न उब्जियो, उनी किन स्कुल जाँदिनन्?
बुझ्दा थाहा भयो, ‘लठेब्रो’ भनेर स्कुल नपठाएका रहेछन्।
यस्तै अरू थुप्रै दृश्य थिए, उनको मनमा प्रश्न उब्जाउने।
विपना स्कुल जाँदा होस् या परिवारसँग कतै घुम्न गएका बेला, होटलमा खाजा खान जान्थिन्। त्यहाँका थुप्रै होटलहरुमा उनकै उमेरका बालकहरु भाँडा माझ्ने, खाना पुर्याउने काम गर्थे। होटलका मालिक भने टेबलमा आनन्दले बसिरहेका हुन्थे।
उनी सोच्थिन्, ‘ठूलो मान्छेचाहिँ बस्ने, सानोचाहिँ काम गर्ने?’
अनि उनको ध्यान खानातिर भन्दा त्यो कामदार बालकतिर हुन्थ्यो। जसको लुगा फोहोर हुन्थ्यो। अझ ठाउँठाउँमा च्यातिएका। छेवैमा रहेका बाबुले सोध्थे, ‘पुग्यो छोरी? कि अझै खान्छ्यौ?’
उनी ट्वाल्ल परेर हेरिरहेकी हुन्थिन्। आफ्ना बाबुआमा सम्झिँदै गर्दा उनको दिगागमा प्रश्न जन्मिइसकेको हुन्थ्यो, ‘कहाँ होलान् उसका ममी बाबा?’
स्कुल बसमा खचाखच विद्यार्थी देख्दा होस् या बडेमानको बोरा बोकेर फोहोर टिप्दै हिँडेकाबालबालिका। कहिलेकाहिँ सडकपेटीमा सुतिरहेको पनि देख्थिन् भने काठमाडौं जाने बसमा बालक एक्लैलाई काठमाडौं पठाउन लागेको दृश्य पनि देखिन्थ्यो बेलाबेला। ती बालकहरु काठमाडौं भाँडा माझ्न पठाइएका हुन्थे।
तर, सहरलाई यी सबै कुराको मतलबै थिएन।
परिवारबाट आफूले पाइरहेको तर आफैंसरहका त्यस्ता बालबालिकाले सामान्यभन्दा सामान्य अधिकार नपाएको देखेपछि बाबुलाई प्रत्येक दिन आफूले देखेको दृश्य वर्णन गर्दै एक–एक घटना सुनाउन थालिन्।
बाबु भन्थे, ‘के गछ्र्यौ त छोरी, पहिलेदेखि यस्तै चलिआयो छ। हामी एक्लैले केही गर्न सक्दैनौं।’
‘अनि मैले बाबालाई भनेँ, एक्लैले नसके धेरै मिले त सकिन्थ्यो होला नि,’ उनले विगत सम्झिँदै भनिन्, ‘उत्रै उमेरको भए पनि हामी र उनीहरूमा किन यति भिन्नता? ल ठीकै छ, पहिलेदेखि चलि आयो। त्यसो भए यत्तिकै छोड्दिने। गर्नेचाहिँ कसले त?’
यसपछि उनले केही साथीहरु बटुलिन्।
सात/आठ जनाको समूह लिएर बालमजदुर भएका होटल पुगेर उनले सोधिन्, ‘साहुजी, यो केटोलाई किन काम लगाएको, स्कुल पठाउनुपर्दैन?’
साहुजीहरु उल्टै हकार्दै भन्थे, ‘तँ लगेर पाल्न त।’
गुप्ता थरकी ती बालिकाको घरमा पनि पुगेर उनको टोलीले किन स्कुल नपठाएको भनेर सोध्यो।
उनका बाबुआमाले लट्ठी लिएर लखेटेछन्।
उनले यी सबै कुरा बाबुलाई सुनाइन्।
नवलपरासीकै देवचुलीमा धेरै वर्षअघि नै बाल क्लब खोलिएको र त्यसले बालबालिकालाई धेरै फाइदा पुर्याएको विपनाले सुनेकी थिइन्। उनले बाबुलाई बाल क्लब खोल्ने बारे सोधिन्। बाबुले बालअधिकारको क्षेत्रमा काम गर्दै आएकी अनिता शर्मालाई भेटाइदिए। उनैले बालक्लब खोल्ने प्रक्रिया सिकाइन्।
यसपछि उनी सदस्य जुटाउन प्रत्येक घर चहार्न थालिन्। ‘तर, त्यतिबेला अभिभावकहरुको बुझाइ कस्तो थियो भने बाल क्लब भनेको रमाइलो गर्ने, पिकनिक जाने भन्नेखालको मात्र। साथीहरुलाई भन्न गयो भने साथीका ममीबाबाहरु ‘हेर भुरा बाठा भा’का। पर्दैन है, त्यस्ता क्लबतिर लाग्न, बिग्रिनलाई भन्थे,’ त्यतिबेलाको तीतो क्षण भएपनि सम्झँदा उनलाई रमाइलो लाग्छ। र, सफलता मिलेकोमा खुसी।
वल्लोपल्लो टोलका प्रत्येक घर चहारेर उनले मुस्किलले तीस जना बालबालिका जम्मा पारिन्। अनिता शर्माले अलि टाठाबाठाहरुलाई मुख्यमुख्य जिम्मेवारीको पद दिइन्। विपना अध्यक्ष बनिन्।
गाउँका बीचमा भव्य कार्यक्रम भयो। जसरी विद्यालयका साँस्कृतिक कार्यक्रम हुँदा होस् या नेता भोट माग्न आउँदा, भाषण हुन्छ। अध्यक्ष, उपाध्यक्षलगायत मुख्य हैसियत पाएका बालबालिकाहरुले पनि त्यसरी भाषण गरे। ‘पहिले बाल क्लबलाई नकारात्मक सोच्नेहरुले पनि आफ्ना छोराछोरीहरुले पद पाएर भाषण गरेको सुनेपछि राम्रो मान्न थाले,’ विपनाले परिवर्तनको कथा सुनाइन्, ‘बालबालिका बाल क्लबमा लागेर परिवर्तन भएको देखेपछि अहिले त जो पनि मेरो छोरा/छोरीलाई बाल क्लबमा हाल्देन भन्छन्।’
३० जनाबाट सुरु भएको बालक्लबमा विस्तारै सदस्यहरु थपिन थाले। उनीहरुले सहरबजारका फोहोर बढार्नेदेखि कतै अलपत्र परेका बालबालिकाहरुलाई प्रहरी कार्यलयमा खबर गर्न थाले। गुप्ता थरकी ती छिमेकी बालिकाको घरमा पनि गाविसका कर्मचारीसहित बाल क्लब पुग्यो। उनले अपांगमैत्री स्कुलमा पढ्न पाइन्।
विस्तारै उनीहरुले बालबालिकाको सामान्य अधिकार हनन भइरहेको कतै देखे भने संघसंस्थामा खबर गर्न थाले। गाविस कार्यलय या प्रहरीले बालअधिकार हनन गर्नेलाई कारबाही सुरू गर्यो।
प्रत्येक गाविसमा बालबालिकाका लागि भनेर १० प्रतिशत बजेट छुट्याइन्छ। क्लब खुलेको दोस्रो वर्षमा उनीहरुले गाउँ परिषदको भेलामा बालबालिकालाई समेत समावेश गर्नुपर्ने माग राखे। १० प्रतिशत बजेट कहाँ–कहाँ खर्च हुन्छ भनेर सोधे। अघिल्ला वर्षहरुमा यत्तिकै हिनामिना भएर जाने बजेट त्यसवर्षदेखि बालबालिकाको क्षेत्रमा खर्च गर्ने परिपाटी सुरु भयो। उनीहरुले पाएको पहिलो ठूलो सफलता थियो यो।
पहिलो वर्षको बजेटबाट उनीहरुले आफूहरुको नेतृत्व तथा अन्य क्षमता अभिवृद्धिका लागि तालिमको माग गरे। तालिम पनि पाए। खेलकुद सामग्री किने। स्कुलमा पनि बाल क्लब खोले। प्रत्येक शुक्रबार अनिवार्य रुपमा लागू हुने गरी अतिरिक्त क्रियाकलाप आयोजना गरे। यसले प्रतिष्पर्धाको भावना विकास गरेको उनको ठम्याइ छ।
अर्को वर्षदेखि क्लबले बालबालिकाको समस्यामाथि केन्द्रित भएर रेडियो कार्यक्रम उत्पादन सुरु गर्यो। विपनाले त्यो कार्यक्रम चलाउन थालिन्। त्यतिबेला उनी जम्मा १३ वर्षकी थिइन्। बालबालिकाहरुले फोनमार्फत् समस्या टिपाउँथे। उनी त्यसलाई सम्बन्धित निकायसम्म पुर्याउँथिन्।
अधिकार माग्दा होस् या प्रश्न उठाउँदा ‘माउभन्दा चल्ला बाठा’ भन्ने सरकारी संघसंस्था, समाजका मान्छेहरु विपनाले रेडियो कार्यक्रम चलाउन थालेपछि सतर्क हुन थाले।
यसैबेला एउटा घटना घट्यो।
उनी नौ कक्षा पढ्दै गर्दाको कुरा थियो। शौचालय जाँदा एउटा सानो बच्चा भित्र रोइरहेको थियो। निस्सासिएर पसिनै–पसिना भएको बालकले भन्यो, ‘होमवर्क नगरेको भएर म्यामले थुनिदिनुभा’को।’
उनले यो कुरा खुसुक्क ‘प्रिन्सिपल’लाई सुनाइन्। विद्यार्थी थुन्ने ‘म्याम’ले चाल पाइछन्। ‘यसपछि हामीले मिडियामा कुरा पुर्याउँछौं भनेर उहाँ त यस्तो डराउनुभएछ कि हामीलाई हेर्नै छाड्नुभयो।’
तर, घटना यत्तिकैमा सकिएन। ती म्यामले बाल क्लबका विद्यार्थीहरुलाई थर्काउने योजनामुताबिक प्रिन्सिपलको कोठामा बोलाइन्। केही साथीहरु विपनाका पछि लागे। विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाको तालिम तथा अनिवार्य रूपमा हरेक शुक्रबार अभिव्यक्ति तथा सिर्जनात्मक कार्यक्रमबाट विद्यार्थीहरुमा बोल्न र प्रश्न सक्ने मनोबल बढिसकेको थियो। उनीहरु ‘कडा विद्यार्थी’को रुपमा परिचित हुन थालिसकेका थिए।
म्यामले उनीहरुलाई भनिछन्, ‘टिचरलाई रेस्पेक्ट गर्न आउँदैन? यो कुरा किन नगरपालिका र मिडियामा पुर्याएको?’
विपना पनि के कम? निर्धक्क भनिछन्, ‘हामीले मिडियामा यो कुरा पुर्याएको भए हजुर यतिबेला यहाँ हुनुहुन्थ्यो। हजुर कुन रेस्पेक्टको कुरा गर्नुहुन्छ? प्रिन्सिपल सरको अगाडि हामीसँग यसरी कुरा गर्नुहुन्छ?’
विद्यार्थीहरुको आँट देखेर प्रिन्सिपल मुसुक्क हाँसेछन्। म्याम लज्जित भइछन्।
यतिबेलासम्म बालमैत्री स्थानीय शासनको नीति आइसकेको थियो। उनीहरुले त्यसको तालिम पनि पाइसकेका थिए। यसपछि प्रिन्सिपलहरुसँग प्रस्ताव राखे, ‘हाम्रो स्कुललाई पनि बालमैत्री बनाउनुपर्छ सर अब।’
प्रिन्सिपलले सहमति जनाए। बालमैत्रीसम्बन्धि ज्ञान शिक्षकहरुमा भन्दा विद्यार्थीमा बढी थियो, आखिरमा विद्यार्थीहरुले नै शिक्षकहरुलाई तालिम दिए। स्कुल बालमैत्री भयो। अब कुनै पनि बालबालिकाले जस्तै गल्ती गरे पनि शारीरिक तथा मानसिक यातना भोग्नुनपर्ने भयो।
यसरी परिवर्तनहरु देखिँदै गए। सरकारी तवरबाट हुने हरेक समारोह तथा बैठकहरुमा अनिवार्य रुपमा बालबालिकाको उपस्थिति हुनुपर्ने, उनीहरुको कुरा सुनिनुपर्ने नियम बन्यो। सरकारी तथा निजी संघसंगठनहरुले बालबालिको अधिकार हनन् हुने क्रियाकलापलाई न्यून गर्न आफैं पहल चाले। बाल क्लब आफैंले पनि अनुगमन गथ्र्यो। बालविवाह न्युनिकरणका लागि उनीहरुले पुरोहितलाई अनुरोध गरेर बिहे रद्द गर्ने, जन्ती फर्काउने सम्म काम गरे।
यसरी बालश्रम र बालविवाह विस्तारै कम हुँदै गयो। प्रहरीमा समेत बालबालिकाले गुनासो गर्न मिल्ने छुट्टै सेल बन्यो। टोलटोलमा बालक्लबहरु खुल्दै गए। गाविसस्तरीय बाल सन्जालको नेतृत्व पनि विपनाले गरिन्। स्वास्थ्य, शिक्षा, गाँस, वासलगायत अन्य समस्याहरु न्युनिकरणका लागि बालक्लबहरुले दबाब दिन थाले।
‘हामीले यसरी दबाब दिन थालेपछि सहरको मुहार नै फेरियो। राजनीतिक दलका प्रतिनिधिहरु भन्नुहुन्थ्यो, ‘तिमीहरुले गर्दा हाम्रो मुद्दा फेरियो। भागबन्डाको राजनीति पहिलेजस्तो छैन। हामी समयमै कसरी काम गर्ने भनेर सोच्न थाल्यौं,’
बालबालिकाहरुले ठूलालाई पढाएको पाठको प्रसंग सुनाइरहँदा विपना कम्ति पुलकित थिइनन्।
नगरपालिका घोषित भएपछि बाल क्लब र अन्य संघसंस्था मिलेर नगरपालिकालाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न जोडबलले लागे। विपनाले विपनामै देखेको सपना साकार भयो। नगरपालिकालाई बालमैत्री बनाउन पहल गरेको भन्दै उनी सम्मानित भइन्।
करिब १२० बालक्लबहरुको नगरपालिका बालसन्जालदेखि जिल्ला बालसन्जालसम्मको नेतृत्व सम्हालिन्। केन्द्र तहमा उनी कोषाध्यक्षको भूमिकामा छिन्। र, देशलाई नै बालमैत्री र अपांगमैत्री बनाउने अभियानमा छिन्। बिभिन्न जिल्लाका नगरपालिका यतिबेला बालमैत्री घोषणा हुने तरखरमा छन् भने केही भइसकेका पनि छन्।
तब विपनालाई लाग्छ, ‘ब्युँझिँदा देखेको सपना अवश्य पुरा हुनेरहेछ।’
***
विपनाको सपना पुरा भएर अन्य उपलब्धिहरुको चरण सुरु भइसकेको छ। जिल्ला तथा राष्ट्रियस्तरका सभा–सम्मेलनमा ठूला हैसियतका नेता, पदाधिकारीहरुको बीचमा उनी अतिथिको रुपमा निम्त्याइन थालिएकी छन्। उनको स्पष्ट, दमदार र ओजिलो भाषणको चौतर्फी प्रशंसा हुन थालेको छ। उनको नाम ठूलो समूहले चिनिसकेको छ।
एकदिन बिबिसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रलाई फोन गरिछन्। र, आफ्नो परिचय दिँदै भनिछन्, ‘मलाई हजुरसँग भेट्न मन छ।’
मिश्रले उनको नाम धेरै पहिलेदेखि नै सुन्दै आएका रहेछन्। भनेछन्, ‘तपाईँले मलाई भन्दा पनि मलाईचाहिँ तपाईँसँग भेट्न मन छ।’ यसपछि बिबिसी नेपाली सेवाको कार्यलयमा भेट्न बोलाएछन्। सामान्य भेटघाटका लागि मात्र बोलाएका मिश्रले उनका कुरा सुनेपछि भने, ‘तपाईंको अन्तरवार्ता लिउँ है।’
यसपछि रमा पराजुलीसँगको उनको अन्तरवार्ता प्रसारण भयो। प्राय: नेताहरुको अन्तरवार्ता लिइने कार्यक्रममा १७ वर्षीया किशोरीको अन्तर्वार्ता निकै लोकप्रिय भएको थियो। धेरै नेपालीले उनको सपना र हिम्मतको प्रशंसा गरे।
त्यसो त, उनको नाम देशमा मात्र होइन विदेशमा समेत लोकप्रिय भइसकेको छ। यसको उदाहरण हो, एसिया महादेशका चालिस देशका किशोरीहरुलाई हराउँदै ‘एसियन गल्र्स ह्युमन राइट्स अवार्ड’ जित्नू। नेपालमै दिइएको ‘ग्लोकल अन्तर्राष्ट्रिय टिन हिरो अवार्ड’ पनि जितिसकेकी छन्। यी दुवै प्रतियोगितात्मक अवार्ड थिए।
विदेशका चर्चित व्यक्ति निर्णायक रहने एसियन गल्र्स अवार्डका लागि स्काइपमार्फत् अन्तर्वार्ता गरेर आयोजकले नेपालसहित भारत र बंगलादेशका अन्य दुई किशोरीलाई ताइवान निम्त्याएको थियो। उनले अन्तिम स्पर्धामा अन्य दुईलाई पछि पार्दै यो अवार्ड हात पारेकी हुन्।
उनले यो अवार्ड थापिरहँदा नेपालमा केपी ओली प्रधानमन्त्रीको सपथ लिँदै थिए। उनलाई यो अचम्मको संयोग लाग्यो। केही दिनमै ओलीले देशलाई तुइनमुक्त बनाउने घोषणा गरेपछि उनको मनमा सरकारप्रति झनै आशा पलायो।
‘ताइवानको विकास आँखामा झल्झल्ती आइरहेका थिए,’ उनले भनिन्, ‘मलाई विदेश गएपछि के लाग्यो भने, हामी आफूले केही गर्न पनि सकेका रहेनछौं। मैले मेरो देशमा छाउपडी छ, बालविवाह छ भन्दा त्यो देशका मान्छे अचम्म मान्थे। उनीहरुको देशको बालबालिकाले राम्रोसँग फुटबल खेल्न पाएन जस्ता समस्या थिए।'
१२ कक्षा पढ्दै गरेकी विपनालाई ताइवानको कार्यक्रममा भाग लिएर त्यहाँका समस्या सुनेपछि उनलाई लाग्यो, किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञान धेरै माथिल्लो स्तरको हुँदो रहेछ। ‘म बालमैत्रीसम्बन्धि कार्यक्रम हुँदा स्कुलमा बिरामी परेँ भनेर ढाँटेर हिँड्थेँ’, उनले अनुभव सुनाइन्, ‘यदि मैले पढाईमा मात्र ध्यान दिएको भए अहिले देखेको संसार देख्ने थिइनँ। मलाई लाग्छ, पढाईमा मात्र होइन जीवनमा पनि डिस्टिङ्सन ल्याउनुपर्छ।’
उनको बुझाइमा जीवनको त्यो डिस्टिङ्सन भनेको पौरख हो। जुन पौरख गर्ने क्षमता अहिलेका युवामा अत्यन्तै कम भएको देख्छिन् उनी। उनलाई लाग्छ, अहिले नेपालीहरु आफ्नो पौरखमा होइन, पुर्खा या प्रकृतिले दिएको सम्पत्तिमाथि घमन्ड गरेर रमाइरहेका छन्।
‘हामी सगरमाथाको देश, बुद्धको देश, जलस्रोतको धनी देश भनेर गर्व गर्छौं। तर, हामीले गरेकोचाहिँ के त? विश्वका थुप्रै शक्तिशाली देशसँग त हामीसँग भएकाजस्ता नै छैनन् तर किन यति विकसित भए? भनेपछि कमजोरी त हामीमै रहेछ नि। यस्ता कमजोरीलाई हटाउन बालबालिकालाई सानैदेखि तयार पार्नुपर्छ। तर बालबालिकालाई भविष्य भनिने तर वर्तमानमा कसरी बाँचिरहेका छन् नबुझ्ने समाजमा प्रधानमन्त्रीले आफ्नो कार्यकालको सुरुवाति नै बालबालिकाको समस्यालाई जोडेर काम थाल्नुभएकाले उहाँ बालबालिकाप्रति संवेदनशिल हुनुहुन्छ भन्ने लाग्यो।’
यसपछि उनले प्रधानमन्त्रीलाई आफ्नो कुरा राख्ने वातावरण मिलाइदिन मन्त्रालयका सचिवलाई अनुरोध गरिन्। सचिवले प्रधानमन्त्रीका स्वकीय सचिवको नम्बर दिए। उनले फोनमा भनिन्, ‘म प्रधानमन्त्रीसँग भेट्न चाहन्छु।’ भेट पक्का भयो।
प्रधानमन्त्रीसँग भेट्नुको उद्देश्य यही थियो, नेतृत्वदेखि सिर्जनात्मक क्रियाकलापमा बालक्लबले ठूलो भूमिका खेल्ने भएकाले अहिलेदेखि नै देशलाई बालमैत्री बनाउन सुरु गरेर भोलिका समस्याका लागि बालबालिकालाई पहिलेदेखि नै तयार पार्नुपर्ने सुझाव दिनु।
प्रधानमन्त्रीसँग उनले भनिन्, ‘तुइनमुक्त बनाउने घोषणाले मलाई खुसी लाग्यो। अब देशलाई नै बालमैत्री बनाउनुस्। तपाईँकै कार्यकालमा सबै सम्भव नहोला। भोलि देश हाँक्ने भनेका हामी बालबालिका हौं। तपाईँ आज सुरु गर्नुस्, भोलि म प्रधानमन्त्री भएर यो अभियानलाई पुरा गर्नेछु।’
प्रधानमन्त्रीले उनको आत्मविश्वासको तारिफ गर्दै सहयोग गर्ने आश्वासन पनि दिएछन्। सरकार नौ महिनामै ढल्यो। ओलीबाट विपनाको सपनाले मुर्त रुप पाउने संकेत देखिएन।
तर, विपनालाई कुनै गुनासो छैन।
उनलाई विश्वास छ, विपनामा देखेको सपना पुरा हुन्छ हुन्छ।
‘म नेताले यसो गरेन, उसो गरेन भनेर गाली गर्दै गर्दिनँ,’ उनी भन्छिन्, ‘म कुनै राजनीतिक पार्टीसँग आबद्ध पनि छैन। हाम्रो दिमाग यति धेरै नकारात्मक कुराले भरिएको छ, हामी हाम्रो घरअगाडिको फोहोर सफा गर्दैनौं अनि नेतालाई गाली गर्छौं। घरअगाडिको फोहोर सफा गर्न त सरकार चाहिँदैन होला नि। नेताहरुमा समस्या छैन भन्न खोजेको होइन, तर हामीसँग जति चुनौति छ त्यसलाई अवसर मान्न सकिँदैन र?’
ताइवान गएपछि उनले बुझिछन्, ‘देश बनाउने जिम्मा युवाहरुमा छ। यदि अहिलेका युवाहरुले आफू पनि काम गर्दै हुर्किरहेका बालबालिकालाई सिकाउने हो भने देश बनाउन गाह्रो पनि छैन।’
यद्यपी, विपना आफैं भने नकारात्मक कुरा नै आफ्नो ऊर्जाको स्रोत भएको बताउँछिन्। समाजका हिजोका नकारात्मक कुरा नै उनका लागि सबैभन्दा ठूलो चुनौति थियो। बालबालिकालाई भविष्यका कर्णधार भन्ने तर वर्तमानमा उनीहरु कसरी बाँचिरहेका छन्, कस्तो शिक्षादिक्षा पाइरहेका छन् भन्ने ख्याल नगर्ने समाजबाट नै आफू उत्पादन भएको बताउँदै विपना भन्छिन्, ‘पोजेटिभ इनर्जीका लागि मेरा थुप्रै रोल मोडल छन्। तर समाजको नेगेटिभिटी मेरा लागि मोटिभेसन हो। जेलाई समस्या देख्छु, मेरा लागि त्यो नै अवसर भन्ने लाग्छ।’
विपनालाई लाग्छ, नेपालका धेरै युवा आफैंप्रतिको अविश्वासले भरिएका छन्। विश्वविद्यालयबाट माथिल्लो तहको प्रमाणपत्र भए पनि बेरोजगार रहने अधिकांशको प्रमुख कारण उनीहरुमा लक्ष्य र सपना नहुनु नै हो भन्ने लाग्छ उनलाई।
त्यसो त धेरैमा सपना भए पनि भविष्यमा आफ्नो सपना पुरा भएको चित्र कमैले मात्र देख्छन्।
देश बालमैत्री भएको र आफू प्रधानमन्त्री बनेको चित्र उनले अहिले नै स्पष्ट देख्छिन् रे। ‘मेरा लागि प्रधानमन्त्री हुनुभन्दा पनि बालमैत्री देश बनाउनु ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘मलाई भोलि मेरो देशको प्रतिनिधित्व गरेर अरु देश जाँदा सगरमाथा या बुद्धको देशको भनेर होइन, बालमैत्री देशको भनेर चिनाउनुछ। किनकी त्यो हाम्रो पौरख हो। यो कुरा पक्का हो, देश बालमैत्री हुन्छ।’
उनलाई थाहा छ, सपना बोकेर जीवनको यात्रा गर्दा एकचोटी लडेपनि उठ्न सक्छु भनेर हिँड्यो भने जति नै पटक लडेपनि उठ्न सकिन्छ। उठ्न सकियो भने हिँड्न गाह्रो छैन।
तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी